बुधबार, भाद्र ३ गते २०८३

भीमेश्वर बहुउद्देश्यीयद्वारा दाना उत्पादन, सहकारीमार्फत् बागमती प्रदेशकै पहिलो पेलेट उद्योग


फाल्गुण २२, २०८० मंगलबार
भीमेश्वर बहुउद्देश्यीयद्वारा  दाना उत्पादन, सहकारीमार्फत् बागमती प्रदेशकै पहिलो पेलेट उद्योग

 
सबै प्रकृतिका सहकारी संस्थाले बचत तथा ऋणको मात्र कारोबार गरे भन्ने आरोप लागिरहेका बेला दोलखामा रहेको एक सहकारी संस्थाले ब्रोइलर पेलेट दाना उत्पादन सुरु गरेको छ । 

दोलखाको तामाकोशी गाउँपालिका भिरकोट–१ मा रहेको भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले बि.एस.सि पेलेट दान उत्पादन सुरु गरेको हो । सहकारी ऐन २०७४ ले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई ३० प्रतिशत बचत तथा ऋण र ७० प्रतिशत बहुउद्देश्यीय प्रकृतिको काम गर्नु पर्ने कानुनी व्यवस्था गरेको छ । सोही अनुरुप संस्थाले सुरुमा दाना उद्योग सञ्चालनमा ल्याएको जनाएको छ ।

संस्थाका अध्यक्ष सिताराम उप्रेतीले सहकारीमार्फत् कुखुराको दाना उत्पादन उद्योग सुरु गरेको बताए । २ करोड ९५ लाखमा उक्त उद्योग स्थापना गरिएको र बागमती प्रदेशमा नै सहकारीबाट सञ्चालन गरेको पहिलो दाना उद्योग भएको उनको भनाई छ । २०७५ सालबाट उद्योग स्थापनाको काम सुरु गरेको भएपनि कोभिड १९ का कारण समय उद्योग निर्माण कार्य सम्पन्न गर्न नसक्दा २०७७ साल देखि मात्र उद्योगबाट उत्पादन शुरू भएको उनले बताए । विगत ३ बर्ष उद्योग घाटामा रहेको भए पनि यस आर्थिक बर्षबाट भने उद्योग सञ्चालन खर्च जुट्न थालेको उनको भनाई छ । उद्योगबाट मासिक २०/२५ टन दाना उत्पादन हुँदै आएको छ भने ६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

उद्योग स्थापनाको लागि संघ, प्रदेश र स्थानीय तहबाट ६८ लाख अनुदान प्राप्त गरेको संस्थाले जनाएको छ । सुरुमा ५० प्रतिशत साझेदारी लागतमा उद्योग स्थापना गर्ने सम्झौता भएको भए पनि त्यो हुन नसकेको का.मु. व्यवस्थापक उदय कटुवालले जानकारी दिए । प्रति केजी २ रुपैया नाफा राखेर दाना बिक्री गर्दै आएको र एक बोरा दानामा ७५ रुपैँया मात्रै नाफा संस्थाले लिने गरेको छ । 

व्यवसायिक किसान नहुँदा दाना विक्रीमा समस्या भएको उनको भनाई छ । संस्थाले दाना दोलखा र रामेछापका कुखुरापालक किसानमाझ बिक्री गर्दै आएको छ । कतिपय ठुला उद्योगले लागत भन्दा पनि सस्तो मूल्यमा दाना बिक्री गर्दा प्रतिस्पर्धा गर्न गाह्राे भएको उनको अनुभव छ । ठुला उद्योगहरुले बोरामा ४/५ सय रुपैयासम्म सस्तो गरेर दाना बिक्री गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेर गएको उनले सुनाए । ठुला उद्योगले तराईको बजारमा महँगोमा बेच्ने र यता भएको घाटा उताबाट पूर्ति गर्ने गरेको उनले जनाए । ठुला उद्योगले ठुलो मात्रामा दाना उत्पादन गर्ने हुँदा साना उद्योगलाई प्रतिस्पर्धा गर्न समस्या भएको उनको बुझाई छ । 

सहकारीमार्फत् स्थापना भएको दाना उद्योगको प्रवद्र्धनमा राज्यले सहयोग गर्नु पर्ने उनको माग छ । कुल सदस्य मध्ये ४० प्रतिशत सदस्य काठमाडौंमा बस्ने गरेको र ग्रामीण क्षेत्रमा कृषि तथा पशुपालन व्यवसाय गर्ने सदस्यहरु न्युन हुँदै गएको उनको भनाई छ । संस्थाले उत्पादन गरेको दाना गुणस्तरिय रहको र यसको प्रयोगबाट सदस्यले राम्रो लाभ लिन सक्ने कटुवाल बताउँछन् । 

संस्थाले सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुका साथै चल्ला ल्याईदिने, दाना उपलब्ध गराउने र उत्पादित कुखुराको बजारीकरण गरिदिने योजना बनाएको उनले सुनाए । सदस्यलाई व्यवसायिक बनाउन मकै तथा गहुँ उत्पादन वृद्धि गर्ने संस्थाको योजना भए पनि सदस्यहरु कृषिमा आकर्षित नभएको उनको बुझाई छ । ‘यहाँको पैसा बाहिर नजाओस् हो भन्ने संस्थाको ध्येय हो, तर व्यवसायिक रुपमा कृषि गर्न चाहने सदस्यहरु कम छन् ’ उनले भने , एक सदस्यलाई व्यवसायी बनाउन सके दाना खपत पनि बढ्ने र स्थानीयस्तरमा नै रोजगारी सृजना हुने उनको विश्वास छ । सहकारीमार्फत् सेलर मिल स्थापना गरी चामल उत्पादन र तोरी मिल सञ्चालन गर्ने संस्थाको योजना छ । 

संस्थामा ७ हजा ३३६ सदस्य, ५८ संस्था समुह र २८४८ बाल सदस्य  आवद्ध रहेका छन् । गत माघ मसान्तसम्म संस्थाको शेयरपुँजी ३ करोड ५३ लाख ८१ हजार, जगेडा कोष २ करोड ५६ लाख, अन्य कोषहरु ६२ लाख ३० हजार र बचत संकलन ३५ करोड २५ लाख ३३ हजार रहेको छ । त्यसैगरी संस्थाले ३६ करोड ६८ लाख ६४ हजार रुपैया सदस्यमाझ ऋण लगानी गरी कुल कारोबार ४५ करोड ५ लाख पुर्‍याएको छ । 

cjn sahakari visit.jpg