आइतबार, आश्विन १८ गते २०८३

उपनिर्वाचनको कार्यक्रम तय, चैत्र २४ गते मनोनयन दर्ता


फाल्गुण १८, २०८० शुक्रबार
उपनिर्वाचनको कार्यक्रम तय,  चैत्र २४ गते मनोनयन दर्ता

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उल्लिखित सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति २०८० चैत्र २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सोही दिनको दिउँसो ३ बजे उपरान्त चैत्र २६ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी चैत्र २६ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

मिति २०८० चैत्र २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ। निर्वाचन कार्यक्रम अनुसार मिति २०८१ बैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उक्त बन्दसूचीबाट नाम हटेको अवस्थामा बाहेक यस उपनिर्वाचनमा उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको व्यहोरा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाएका छन् ।