शनिबार, आश्विन १७ गते २०८३

वैदेशिक व्यापारमा संकुचन, आयात निर्यात दुवै घट्यो


फाल्गुण ९, २०८० बुधबार
वैदेशिक व्यापारमा संकुचन, आयात निर्यात दुवै घट्यो

मुलुकको वैदेशिक व्यापारमा संकुचन देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०।८१ को साउनदेखि माघ महिनासम्मको अविध आयात र निर्यात दुवै घट्दा जम्मा ९ खर्ब ८४ अर्ब ७७ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको छ । जबिक यस वर्ष विदेशी मुलुकबाट हुने वस्तु आयातमा कुनै कडाइ गरिएको छैन । 

गत आर्थिक वर्षमा वस्तु आयातमा गरिएको कडाईकाका वावजुद त्यहि अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो । ७ महिनाको अवधिको तुलनामा यो वर्ष कूल वैदेशिक व्यापार २.७५ प्रतिशतले खुम्चिन पुगेको छ ।

यस अवधिमा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।  गत आर्थिक वर्षको यही अवधिको तुलनामा व्यापार घाटामा १.७७ प्रतिशतको गिरावट देखिएको छ । 

अघिल्लो आर्थिक वर्ष २०७९।८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो । यो चालू वर्षको तुलनामा १३ अर्बभन्दा धेरै हो । यस्तै, यस अवधिमा नेपालले विदेशबाट ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको आयात गरेको छ । यो गत आर्थिक वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालमा ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँको आयात भएको थियो । यो चालू वर्षको तुलनामा २१ अर्बभन्दा धेरै आयात हो ।

यसबाहेक, ७ महिनाको अवधिमा निर्यात व्यापारमा ७.०७ प्रतिशतको गिरावट आएको छ । तथ्यांकअनुसार यस अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड रुपैयाँभन्दा धेरैको निर्यात भएको थियो । जुन, चालू वर्षको तुलनामा ६ अर्ब रुपैयाँले बढी हो ।