देशभरको मौसम बदली भएको छ । पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली सोमबार नेपाल प्रवेश गरेकोले यसको असर तीन दिन रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
देशका विभिन्न स्थानमा आज वर्षा र हिमपात हुने महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन प्रकाशन गर्दै भनेको छ, ‘नेपालमा यस प्रणालीको प्रभाव बिहीबारसम्म नै रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’
मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको आँकलन गरेको हो । यी प्रदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा भने हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि हिमपात हुनसक्छ ।
देशका पहाडी भू–भागका केही स्थानमा रातिको समयमा पनि हल्का वर्षा हुने बताइएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने मौसमविद्को अनुमान छ ।