यस आर्थिक बर्षको पौष मसान्तसम्म थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेख वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको यस आर्थिक बर्षको पुस मसान्तसम्मको लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनले उक्त कुरा देखाएको हो । थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम ०८० असारको तुलनामा १०.३२ प्रतिशतले ह्रास भई गत पुस मसान्तमा ५४ अर्ब ८ करोड पुगेको छ । समीक्षा अवधिमा उक्त लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा रु. १ अर्ब २२ करोड अर्थात २.२५ प्रतिशत रहेको छ ।
०८० असार मसान्तमा निष्कृय कर्जाको अनुपात ०.७१ प्रतिशत रहेको थियो भने ०७९ पुस मसान्तमा यस्तो अनुपात ०.८७ प्रतिशत मात्र रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जा १८५.६५ प्रतिशतले बढेको छ भने सक्रिय कर्जा ११.७१ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा निष्क्रिय कर्जा १२१.०२ प्रतिशतले बढेको थियो भने सक्रिय कर्जा २.६९ प्रतिशतले बढेको थियो । गत पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु २६ करोड रहेको छ । यस आर्थिक बर्षको पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा वृद्वि भएको छ । खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा तथा सापट रकम गत असारको तुलनामा ३.६६ प्रतिशतले बढेर पुस मसान्तमा ३ खर्ब ८५ अर्ब ५३ करोड पुगेको देखिएको छ । त्यसैगरी गत पुस मसान्तमा निष्क्रिय कर्जा २८ अर्ब ८९ करोड अर्थात ७.४९ प्रतिशत रहेको छ । ०८० असार मसान्तमा निष्क्रिय कर्जाको अनुपात ५.५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निष्क्रिय कर्जाको वृद्धिदर ४०.७८ प्रतिशत छ जुन गत आर्थिक वर्षको सोही अवधिमा ८२.६२ प्रतिशतले बढेको थियो । त्यसैगरप्ी पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाहरुले पुनरतालिकिकरण गरेको कर्जा रकम रु ४२ अर्ब १७ करोड रहेको छ । लघुवित्त वित्तीय संस्थाहरुले ८० पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको छ ।
०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको छ । पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था र निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था बढेको छ । गत पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०८० असार मसान्तको तुलनामा ७.१६ प्रतिशतले बढेर रू. १ अर्ब ६८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था ८० असार मसान्तको तुलनामा ६७.८६ प्रतिशतले वृद्वि भई रु.७१ करोड पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको दोस्रो त्रयमासमा कुल कर्जा नोक्सानी व्यवस्था रकम १६.८७ प्रतिशतले र निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ४४.७७ प्रतिशतले बढेकोथियो । पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी . १२ अर्ब ४७ करोड पुगेको छ जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको दोस्रोत्रयमासमा कुल लगानी ५३.७२ प्रतिशतले बढेको थियो ।