शनिबार, आश्विन १७ गते २०८३

"कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्नुपर्छ"


फाल्गुण ४, २०८० शुक्रबार
"कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्नुपर्छ"

राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछिको अबको मुलुकको आवश्यकता आर्थिक समृद्धि, विकास र शान्ति भएको बताउएका छन्। कृषि क्षेत्रको विकासमार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता औँल्याएका छन् ।

बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को शुक्रबार काभ्रेमा उद्घाटन र्गदै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औंल्याए । 

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु पर्नेमा उनले जोड दिए ।  “मुलत: कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औद्योगीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौं, जुन सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट पनि हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भने । 

कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनको जोड थियो । 

काभ्रेपलान्चोक जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्त्वपूर्ण क्षेत्र हो भन्दै उहाँले कृषि उद्यमी कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभवृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।