बुधबार, भाद्र ३ गते २०८३

"साझा धारणा विकास गरी बचतऋण अभियानलाई व्यवस्थित गर्न समिटले मार्ग प्रशस्त गर्छ"


फाल्गुण ३, २०८० बिहीबार
"साझा धारणा विकास गरी बचतऋण अभियानलाई व्यवस्थित गर्न समिटले मार्ग प्रशस्त गर्छ"

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले प्रदेशस्तरीय साकोस समिट गर्नुको उदेश्य के हो ?

बागमती प्रदेशमा रहेका ८ हजार बचत तथा ऋण सहकारी संस्थाहरुको विकास र प्रवद्र्धनका साथै संस्थाहरुमा शुद्धिकरण ल्याइ सदस्यको बचतको सुरक्षा गर्नु हाम्रो दायित्व हो । १३ जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्था र बचत संघहरुको ऐक्यवद्धता कायम गर्न, साझा धारणा विकास गर्न र अभियानलाई सही बाटो देखाउने उद्देश्यका साथ समिटको आयोजना गरिएको हो । समिटमा सहकारी क्षेत्रको वर्तमान समस्याका बारेमा पनि व्यापक छलफल हुनेछ । बागमती प्रदेशमा पनि समुदाय र सदस्यकेन्द्रित सहकारीहरु प्रशस्त छन् । ती संस्थाहरुमा समस्या आउन नदिन र अहिले देखिएको समस्याको निराकरणको लागि मार्ग प्रशस्त गरौं भन्ने सोचका साथ यो समिटको आयोजना गर्न लागेका हौं ।

समिटमा के कस्ता विषयमा कार्यपत्र प्रस्तुत हुन्छ र गोष्ठी कत्तिको उपलब्धीमूलक हुनेछ ?

समिटमा धेरै वटा कार्यपत्र प्रस्तुत गर्नेभन्दा पनि सहकारीका समसामयिक विषयमा घनिभूत छलफल गर्ने हाम्रो योजना छ । हामीले १ दिनमा ३ वटा कार्यपत्र प्रस्तुत गर्ने योजना बनाएका छौं । विषय विशेषज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुन्छ र टिप्पणीकर्तालाई पनि विषयवस्तुमा मात्रै केन्द्रित रहेर टिप्पणी गर्न भनेका छौं । २ दिनको समिटमा ३ सय जनाको सहभागिता रहन्छ ।

विषयवस्तुमा विज्ञता हासिल गरेका व्यक्तिहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । सहकारी ऐन नियम कार्यान्वयनको अवस्था के छ ? ऐन नियममा कहाँ समस्या छ ? र कसरी प्रभावकारी रुपमा कार्यान्वय गर्न सकिन्छ भनेर पनि छलफल गर्छौं । त्यसैगरी सहकारीमा सञ्जाल व्यवस्थापन, कुन संघले के काम गर्ने र अभियानको साझा धारणा के हुन सक्छ भन्ने विषयमा पनि छलफल गरेर निचोडमा पुग्छौं । समिटमा कार्यपत्र प्रस्तुत गरेपछि ४ जनालाई टिप्पणीकर्ताको रुपमा राखेका छौं । उहाँहरुले पनि विषयवस्तुमा आधारित भएर बोल्नुहुनेछ । उहाँहरुले बोलेको विषयमा सहभागी साथीहरुकाबीच छलफल गराउँछौं र एउटा निष्कर्षमा पुगेरै छाड्छौं । २ दिनमा ६ वटा कार्यक्रम प्रस्तुत हुन्छन् ।

सहकारीमा सम्पत्ति शुद्धिकरण, जोखिमको न्युनिकरण, सहकारीमा सुशासन, बचतको सुरक्षा, ऋण लगानी र ऋण असुली, दोश्रो तहको नियामक निकाय लगायतका विषयमा छलफल हुनेछ । सहकारी अभियानको भूमिका, सहकारीमा नेतृत्व विकास र नेतृत्वलाई स्थापित गर्ने विषयमा पनि छलफल गरिनेछ । त्यसका साथै सहकारीमा देखिएको समस्या समाधानमा सदस्यको भूमिकाको विषयमा पनि छलफल गरी निष्कर्षमा पुग्ने हाम्रो लक्ष्य छ । मुलुकमा ३० हजार बढी सहकारी संस्था छन् । ती संस्थाहरुको एकीकरण कसरी गर्ने, एकीकरणलाई सफल बनाउने विधि के हो ? सहकारीमा फोर्स मर्जर सम्भव छ कि छैन ? भन्ने विषयमा पनि छलफल हुनेछ । 

कोरियाका सहकारीमा पनि समस्या आयो, त्यसपछि समाधानका लागि राज्य र अभियान दुवै लागे । समस्या समाधान पनि भयो । हामीकहाँ त्यस्तो बातावरण कसरी बनाउन सकिन्छ ? सहकारीमा नयाँ स्वरुपबाट जानको लागि नेपालले के कस्तो रणनीति अपनाउनुपर्छ भन्ने विषयमा पनि छलफल गरी मार्ग प्रशस्त हुनेछ । 

साकोस समिटमा बागमती प्रदेशभरिका बचत तथा ऋण सहकारीको सहभागिता रहन्छ ?

बागमती प्रोस्कुन आयोजक हो । समिटमा बागमती प्रदेश सरकारको पनि सहयोग लिन्छौं । नेफ्स्कुनलाई सहयोगीको रुपमा राखेका छौं । समिटमा १३ वटै बचत संघहरु सहआयोजकका रुपमा रहेका छन् । समिटमा १३ जिल्लाका बचत तथा ऋणका साथै अन्य सहकारी संस्थाहरुका प्रतिनिधिहरुलाई पनि सहभागी गराउँछौं । 

सहकारी क्षेत्रमा साझा धारणा विकास गर्ने कुरा उठान गर्नुभयो, सहकारीमा अहिलेसम्म सामुहिक धारणा विकास हुनै नसकेको हो ? 

सहकारी अभियानमा अहिलेसम्म साझा धारणा विकास हुन सकेको छैन । सहकारी अभियानभित्र जिल्ला, प्रदेश र केन्द्रमा विभिन्न संघहरु तथा राष्ट्रिय सहकारी महासंघ रहेको छ । सबै सहकारीहरुको साझा धारणा के हुनसक्छ भनेर हामीले छलफल गरिराखेका छौं । हामीले सहकारीमा तालिम शिक्षाको लागि स्रोत केन्द्र स्थापना गरौं भनेर लागेका छौं । जिल्ला संघ, प्रदेश संघ, केन्द्रीय संघ र महासंघले पनि विभिन्न तालिम दिइराखेका छन् । तालिममा एकरुपता छैन । त्यसैले स्रोतकेन्द्र स्थापना गरी त्यसमार्फत् पाठ्यक्रम नै विकास गरेर लैजाउँ भन्ने हाम्रो मान्यता हो । तालिमलाई प्रभावकारी बनाउन र कम शुल्कमा तालिम दिउँ भन्ने प्रोस्कुनको धारणा हो । धेरैलाई सहभागी गराएर जोखिम न्यूनिकरणको विषय तल्लो तहसम्म पुर्‍याउने हाम्रो लक्ष्य छ । 

साकोस समिटले सहकारी क्षेत्रमा देखिएको समस्याको पहिचान र समाधानको बाटो तय गर्छ त ?

हामीले सरकार, राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कुनलाई समेत समिटमा सहभागी गराएर बर्तमान समयमा देखिएको समस्यामाथि छलफल गरी समाधानको संयुक्त प्रयास खोज्छौं । के कारणले सहकारीहरु समस्यामा परे त्यसको पहिचान गरौं । राम्रो संस्थालाई क वर्ग, ठिकै खालको संस्थालाई ख वर्ग र जोखिममा रहेका तथा सुधार गर्न सकिने संस्थालाई ग र घ वर्गमा राखेर ती संस्थाहरुलाई व्यवस्थित बनाउँदै लैजाने दायित्व सरकार र अभियान दुवैको हो । यो विषयमा समिटमा छलफल हुन्छ । बागमती प्रदेशभित्र रहेका संस्थाहरुको अवस्था कस्तो छ भनेर अध्ययन गर्ने र रिपोर्ट समेत बनाउने तयारी गरेका छौं । त्यसका लागि राज्य, केन्द्रिय संघ र महासंघको सहयोग लिन्छौं ।

समिटबाट हामी घोषणापत्र जारी गर्दैनौं । संकल्पपत्र मात्र जारी गर्छौं । आगामी दिनमा सदस्यको बचतको सुरक्षा कसरी गर्ने, संस्थाहरुलाई सुशासनमा कसरी ल्याउने र जोखिम न्यूनिकरणका उपायहरु कसरी अवलम्बन गर्ने, त्यसका लागि सरकार र अभियानले के गर्ने भन्ने विषयमा मन्थन गरेर साझा धारणा निकाल्छौं । 

समिटमा सहभागी हुने क्रम कस्तो छ ? सहकारी संस्थाका प्रनिनिधिहरुले कत्तिको  उत्सुकता देखाएका छन् ?

हामीले समिटलाई फरक ढंगले गर्न गइरहेका छौं । धेरै सहभागि जुटाउने भन्दापनि समिटलाई स्तरीय बनाउने उद्देश्य हाम्रो छ । सहभागी ल्याउने जिम्मा १३ वटै बचत संघलई दिएका छौं । सहभागीहरुले बचत संघमा रजिष्ट्रेशन गर्न सक्नुहुन्छ भने प्रोस्कुनको कार्यालयमा पनि रजिष्ट्रेशन खुल्ला गरेका छौं । फागुन ५ गतेभित्र नाम दर्ता गराएकाहरुलाई समिटमा सहभागी गराउनेछौं । सोही अनुसार सूचना जारी भएको छ । संस्थाका व्यवस्थापन प्रमुखहरुको सहभागितामा समिटमा हुनेछ । 

पछिल्लो समय जिल्ला तहदेखि प्रदेश र केन्द्र तहसम्म यस्ता गोष्ठी तथा समिट आयोजना हुने गरेको छ । यस्ता समिटहरुको आयोजना हुनु कत्तिको आवश्यक देख्नुहुन्छ ? 

हरेक वर्ष समिट गर्नु राम्रो होइन । तीनचार वर्षमा एकपटक गर्दा यसको महत्व रहन्छ । केन्द्रिय संघहरुले समिट गर्दा अन्तर्राष्ट्रिय अभ्यासको बारेमा छलफल गर्नुपर्छ । प्रदेशभित्रका संस्थाहरुको अभिभावक रहेकाले ती संस्थाहरुको विकास र प्रवर्धन गरी सुशासनमा ल्याउने दायित्व हाम्रो हो । हामीले सरकारलाई पनि सहयोग पुर्‍याउने काम गर्नुपर्छ । जिल्ला भित्रका सहकारीमा सुशासन ल्याउने, जोखिम न्यूनिकरण गर्ने, प्रवद्र्धन र विकास गर्ने काम जिल्ला संघहरुले गर्छन् । प्रदेश संघले १३ जिल्लाका ८ हजार सहकारीको माझमा काम गर्नुपर्छ । गोष्ठीका लागि गोष्ठी गर्नुभन्दा पनि सहकारी क्षेत्रलाई अगाडि बढाउन एवं सकारात्मक सन्देश दिनको लागि समिट हो । समिटबाट निकालिएको निचोड सहकारी ऐननियम र सरकारले ल्याउने पोलिसीहरुहमा समावेश गरेर लैजानुपर्छ । त्यसका लागि यस्ता समिटहरु गर्नुपर्छ।

समिटबाट जारी हुने संकल्पपत्रले बागमती प्रदेशका ८ हजार सहकारीलाई मार्ग निर्देशन गर्नसक्ला ?

हामी सहकारी मन्त्रालय, सहकारी विभाग र बागमती प्रदेश पर्यटन, संस्कृति तथा सहकारी मन्त्रालयलाई पनि संकल्पपत्र बुझाउँछौं । उहाँहरुले पनि सहकारीमा अहिलेको आवश्यकता र समस्या समाधानको विषयमा समिटमा छलफल गर्न सुझाव दिनुभएको छ । समिटमा आएका सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता उहाँहरुले जनाउनुभएको छ । १३ जिल्लाका सहकारीमा देखिएका समस्या के छन् र कसरी समस्या समाधान गर्न सकिन्छ ? जिल्ला तहदेखि केन्द्रसम्म सञ्जाल व्यवस्थापनमा कसरी मिलेर जान सकिन्छ र कामको वर्गिकरण कसरी हुन सक्छ? स्थानीय तहसम्म रहेका सहकारी संस्थामा हाम्रा कुराहरु पुर्‍याउन के गर्न सकिन्छ र सुशासन कायम गर्न हुन्छ ? ती विषयमा घनिभूत छलफल गरेर मात्र संकल्पपत्र जारी गर्छौं । 

मुलुक संघीयतामा गएपछि जिल्लामा रहेका संघहरु रहने कि नरहने भन्ने प्रश्न पेचिलो बन्दै गएको छ । यो विषयमा पनि समिटमा छलफल होला नि ? 

राज्यको पुनर्संरचना अनुसार हामीले सञ्जाल व्यवस्थापन गर्नुपर्छ । ऐन र नियमावलीमा भएको व्यवस्था अनुसार हामी जानुपर्छ । सहकारीका संघहरुको कामको विभाजन हुनैपर्छ । तहगत संघहरुको भूमिकाको बारेमा व्यापक छलफल गर्नुपर्छ । ऐनभन्दा विपरित गएर हामीले बोल्न मिल्दैन । 

बागमती प्रोस्कुनको स्थापनाको उद्देश्य के हो ? बचत ऋण अभियानलाई व्यवस्थित गर्न संघले कसरी काम गरिराखेको छ ? 

बागमती प्रोस्कुन स्थापना भएको ४ वर्ष भएको छ । बागमती प्रोस्कुनले बागमती प्रदेशभित्र देखिने गरी काम गर्दै आएको छ । बागमतीका बचत तथा ऋण सहकारीको शुद्धिकरण र जोखिम न्यूनिकरण तथा सुशासन ल्याउने काममा संघ लागेको छ । बागमती प्रदेश सरकारसँग समझौता गरेर ‘कोशिस’ नामक स्तरिकरण कार्यक्रम सञ्चालन गरेका छौं । काठमाण्डौ, भक्तपुर,  ललितपुर र काभ्रेका संस्थाहरुमा जोखिम न्यूनिकरण कार्यक्रम शुरु गरेका छौं । संघले तयार गरेको इन्डिकेटरहरुको आधारमा लाईभ मनिटरिङ गर्ने कामको शुरुवात भएको छ ।

त्यसैगरी संघले ४ वटा श्रोतपुस्तिका तयार पारेको छ । विभागबाट स्वीकृति लिएर प्रयोगमा ल्याउँछौं । त्यहि श्रोत पुस्तिका केन्द्रलाई हस्तान्तरण गर्न पनि तयार छौं । त्यसैगरी संघमा आवद्ध संस्थामा समस्या नआओस् भनेर अनुगमनको काम अगाडि बढाएका छौं । संघले विशेषज्ञ कर्मचारीमार्फत् सदस्य संस्थाहरुको सघन अनुगमन गर्दै आएको छ । विश्वमा हेर्यौं भने अमेरिका लगायतका राष्ट्रमा पनि बैंकहरुमा समस्या आएको छ । नेपालका बैंकहरुमा पनि समस्या भएको कुरा आइएमएफले उठाएको छ । ती कुरालाई मध्यनजर गरेर हामीले पनि सदस्य संस्थाको आन्तरिक लेखा परिक्षणको काम थालेका छौं । शुरुमा २५ करोडमाथि कारोबार गर्ने संस्थाहरुको चार्टर्ड एकाउन्टेन्टमार्फत् वित्तीय अवस्थाको जाँचबुझ गर्छौं ।

अर्कोतर्फ जिल्लागत संघहहरुलाई सक्रिय बनाएर स्थानीय तहसम्मका सहकारी संस्थालाई सेवा दिन सञ्जाल एकिकृतको शुरुवात गरेका छौं । अहिले सबै प्रारम्भिक संस्थासम्म जिल्ला, प्रदेश र केन्द्रिय संघ पुग्न सकिराखेको अवस्था छैन । तल्लो तहसम्म पुग्न जिल्ला तहमा नै नेटवर्क बनाउनुपर्छ भनेर त्यसको शुरुवात हामीले गरेका छौं । प्रोस्कुनले तालिमलाई प्रभावकारी बनाउन पाठ्यक्रमको विकास गरेको छ । हामीले केन्द्रीय संघ र महासंघले गर्ने कामलाई नै सहयोग गर्दै आएका छौं । 

गोष्ठी र तालिम सञ्चालन गर्दा शुल्कको बारेमा पनि संस्थाहरुले गुनासो गर्ने गरेका छन्, प्रोस्कुनले शुल्क निर्धारण गर्दा कसरी गर्ने गरेको छ ?

हामी पाँच तारे होटलमा कार्यक्रम गर्दैनौं । सुधारिएको पार्टी प्यालेसमा कार्यक्रम गर्छौं । हामीले होटललाई भन्दा पनि विषयवस्तुलाई प्राथमिकता दिएका छौं । महिलाद्वारा सञ्चालित सहकारीलाई ८ हजार ५ सय, संघमा आवद्ध संस्थाहरुलाई ९ हजार र संघमा आवद्ध नभएका संस्थाहरुलाई ९ हजार ५ सय शुल्क तोकेका छौं । हामीले नाफाका लागि समिट आयोजना गरेका हैनौं । हामीले समिटलाई सरल बनाउन विभिन्न संघसंस्था र प्रदेश सरकारलाई आव्हान गरेका छौं । सबै संस्थाको पहुँच पुर्‍याउन कम शुल्कमा समिट गर्दैछौं । त्यसैगरी हामीले तालिमलाई पनि नाफामुखी बनाएका छौं । तालिमको लागत धान्नेगरी मात्र शुल्क लिन्छौं । 

सहकारी क्षेत्र समस्याबाट गुज्रिरहेको छ ? सहकारीमा समस्या आउनुको खास कारण के देख्नुहुन्छ ?

सहकारी संस्थालाई वर्गीकरण गर्नैपर्छ । समस्यामा परेका संस्था २ प्रतिशतको हाराहारीमा होलान् । बाँकी संस्थाले त समुदायमा आधारित भएर सदस्यको जीवनस्तर परिवर्तन गर्ने काम गर्दै आएका छन् । सहकारीको समस्या समाधानमा के के गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । सहकारीमा समस्या आउनै नदिन सदस्य शिक्षा, आन्तरिक नियन्त्रण, नीति र विधिमा रहेर संस्था सञ्चालनमा जोड दिनुपर्छ । सहकारीको सिद्धान्तभन्दा बाहिर गएर सञ्चालित संस्थामा समस्या आएको हो । सदस्य र समुदाय केन्द्रित तथा स्तरीकरण कार्यक्रममा सहभागी भएका संस्थाहरुको अवस्था राम्रो छ । ती संस्थामा समस्या छैन । 

बंगलादेश, जापान र कोरियामा सहकारी हेर्ने छुट्टै वित्तीय आयोग छ । त्यसले नै सहकारीको लाइभ मनिटरिङ गरिरहेको हुन्छ । खराब कर्जाको मात्रा के छ ? लगानी र असुलीको अवस्था के छ ? भनेर स्क्रिनमा नै हेर्न पाइन्छ । हामीकहाँ पनि दोश्रो तहको नियामक निकाय गठन गरेर दक्ष र प्रविधियुक्त जनशक्तिबाट संस्थाहरुको नियमन गर्नुपर्छ । सहकारीमा भएको समस्या समाधान गर्न त्यसको पहिचान गरी निराकरणको लागि राज्य र अभियान सँगसँगै अगाडि बढ्नुपर्छ । एउटा बैंक तथा वित्तीय संस्थामा संकट आउँदा त्यसको प्रभाव बैंकिङ क्षेत्रमा नै पर्छ । त्यसैगरी एकाध सहकारी संस्थामा समस्या आउँदा त्यसले सिंगो अभियानलाई नै असर पारेको छ । कहिँ सञ्चालन पद्धति नजान्दा त कहिँ सञ्चालकले सदस्यको बचत अपलचन गर्दा समस्या भएको छ । कतिपय संस्थामा त समस्या आएपनि सञ्चालक र ऋणीको सम्पत्ति जफत् गरेर लिलाम गरी सदस्यको बचत फिर्ता गरिएको अवस्था छ । समस्यालाई समाधान गर्न सकिन्छ र समस्या आउनै नदिन पनि काम गर्नुपर्छ ।

अन्त्यमा,

समिटले सहकारी क्षेत्रमा देखिएको समस्या पहिचान र त्यसको निराकरणका उपाय खोजी गर्नेछ । आगामी दिनमा यस्ता समस्या आउन नदिन राज्यले आवश्यकता पर्दा ऐन संशोधन गरेर अगाडि बढ्नुपर्छ । कर्जा सूचना केन्द्र, बचत तथा कर्जा सुरक्षण कोष, ऋण असुली न्यायाधिकरण गठन गरेर समस्या समाधानमा सहयोग पुर्‍याउनुपर्छ । स्थिरिकरण कोष मुख्य उद्देश्य अनुसार सञ्चालन हुन सकेको छैन । यो कोषमा १०औं अर्ब पैसा भयो भने मात्र समस्या पर्दा संस्थाहरुलाई रेस्क्यु गर्न सकिन्छ । शुरुमा संस्थाको ब्यालेन्स सिटको आधारमा र पछि कम पैसा लिँदै ठूलो कोष खडा गर्न सकियो भने समस्या पर्दा संस्थाहरुलाई सहयोग गर्न सकिन्छ । सोही अनुसार कोषलाई अघि बढाउनुपर्छ ।