आइतबार, आश्विन १८ गते २०८३

चिनियाँ लगानी भित्र्याउन आग्रह, सम्भावना भएका निश्चित क्षेत्रहरु पहिल्याउन सुझाव


फाल्गुण २, २०८० बुधबार
चिनियाँ लगानी भित्र्याउन आग्रह, सम्भावना भएका निश्चित क्षेत्रहरु पहिल्याउन सुझाव

 

नेपाल उद्योग परिसंघ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ । परिसंघ सचिवालयमा मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे । सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्दै उनले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानूनहरुमा सुधार गर्न लागेको जनाए । अध्यक्ष अग्रवालले पोखरा एवं गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सिधा उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न समेत आग्रह गरे । चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन उनले भने । 

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए । नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरु पहिचान गरी ती क्षेत्रको उत्पादन बृद्धिमा केन्द्रित गर्नुपर्ने उनले जनाए । चीन सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको जनाउँदै पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरुप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने सुझाव उनले दिए । उर्जा, जडिबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमुलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको उनको भनाई थियो । दुई देशबीच व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरुको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिवद्धता उनको थियो ।