शनिबार, आश्विन १७ गते २०८३

२ खर्ब २० अर्बले बजेटको लक्ष्य संकुचन, आम्दानी बढ्न नसकेकाले खर्च घटाइएको अर्थमन्त्रीको स्वीकारोक्ति

माघ २९, २०८० सोमबार
२ खर्ब २० अर्बले बजेटको लक्ष्य संकुचन, आम्दानी बढ्न नसकेकाले खर्च घटाइएको अर्थमन्त्रीको स्वीकारोक्ति

सरकारले चालु आर्थिक वर्ष २०८०।८१ को बजेटको संशोधन गरेको छ । चालु बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेटको आकार २ खर्ब २० अर्ब रुपैयाँले घटाएको घोषणा गरेका हुन् । 

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि ल्याएको बजेट संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन् । यो कुल बिनियोजित रकमको ८७.३८ प्रतिशत हो । चालू आवका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  

सरकारले सुधारको प्रयास गर्दा गर्दै लक्ष्य अनुसार आम्दानी बढ्न नसकेकाले सरकाले खर्चको अनुमान घटाउनु परेको अर्थमन्त्री महतले जनाए । महतले चालुतर्फ १० खर्ब १३ अर्ब रुपैयाँ, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ६८ अर्ब खर्च हुने बताए ।

पूँजीगत खर्चतर्फ चालु आर्थिक वर्षको प्रथम ६ महिनामा रू।५० अर्ब ४४ करोड ८८ लाख खर्च भएको र बाँकी अवधिमा हुने पूँजीगत खर्चको अनुमान समेतका आधारमा बाँकी अवधिमा थप रू २ खर्ब ३ अर्ब ६८ करोड ६१ लाख पुँजीगत खर्च हुने अनुमान गरिएको छ। हालसम्म भएको खर्च र बाँकी अवधिमा हुने खर्च समेत गरी चालु आर्थिक वर्षमा पुँजीगततर्फ विनियोजन रकमको ८४.१३ प्रतिशत अर्थात रु. २ खर्ब ५४ अर्ब १३ करोेड १९ लाख खर्च हुने संशोधित अनुमान गरिएको छ ।