अमेरिकाका चर्चिन न्यूज एंकर टकर कार्लसनले रुसका राष्ट्रपति भ्लादिमिर पुटीनसँग लामो साक्षात्कार गरे । अहिले त्यसको बिश्वभरी निकै चर्चा भएको छ र भइरहेको छ । ट्वीटर(एक्स)मा करीब १५–२० करोड मानिसहरुले त्यस साक्षात्कारलाई हेरे । त्यसले सोशियल मिडिया(सामाजिक सञ्जाल)को शक्तिलाई पनि राम्रैसँग दर्शाउँदछ । अनि यसले न्यूज प्रिण्ट र टेलिभिजन च्यानलहरुलाई पछाडि छोडिदिएको पनि देखिएको छ ।अमेरिकाका मूख्य धाराका सञ्चारमाध्यमहरुमा रुसी राष्ट्रपति पुटीनलाई खलनायक तथा युद्ध अपराधीकोरुपमा प्रस्तुत गर्ने या दर्शाउने गरिन्छ । पुटीन भने समकालीन बिश्व नेताहरुको तुलनामा निक्कै परिपक्क र सुल्झिएका नेताकोरुपमा मानिने गर्दछन् ।
टकरसँगको यस अन्तरबार्तामा पुटीनले कयौ कुराको रहस्योद्घाटन गरेका छन् । त्यसबाट थाहा हुन्छ कि उनले शीत युद्ध पछिको समयमा अमेरिका र पश्चिमा देशहरुसँग मेलमिलापको पटक पटक प्रयत्न गरे । तर बिडम्बना या दुर्भाग्यले गर्दा अमेरिकी प्रशासन शीतयुद्धको मानसिकताबाट ग्रसित रह्यो । त्यसैले उसले सोभियत संघको बिघटनपछि पनि रुसलाई तारो बनाउन छाडेन । वास्तवमा बर्तमान चलिरहेको युक्रेन युद्धको यही यथार्थ पृष्ठभूमि रहेको कुरा बिश्वका सामु जग जाहेर नै छ ।
त्यस साक्षात्कारमा के पनि खुलासा गरिएको छ भने अमेरिकी राष्ट्रपति सर्ब शक्तिमान होइनन् बरु अमेरिकीतन्त्रमा सक्रिय अदृष्य शक्तिहरुको हातका कठपुतलीहुन् । अमेरिकी राष्ट्रपति स्वयंलाई जे जस्तो बुझ्ने या सम्झने गर्दछन् ती कुरालाई ब्यबहारमा उतार्न भने असमर्थ छन् । अमेरिकाका ती अदृष्य शक्तिहरु भनेका हतियार बनाउने कम्पनीहरु र सीआईए जस्ता गुप्तचर एजेन्सीहरु हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटीनका अनुसार उनले आफ्नो कार्य कालको आरम्भमा नै पूर्ब अमेरिकी राष्ट्रपति बील क्लिण्टनसाग प्रस्ताव राखेका थिए कि रुस पश्चिमा सैन्य संगठन नाटोमा शामेल हुन सक्छ । त्यस सम्बन्धमा क्लिण्टनले भनेका थिए कि यो राम्रो बिचार हो ।तर केही घण्टा पछि नै क्लिण्टनले कुरा फेरेर के बताएको भनिएको छ भने उनको समूहको मान्यता छ कि त्यसो गर्न(रुसलाई नाटोमा सम्मिलित गराउन) सम्भव छैन ।

पुटीनले अर्को उदारहण दिदै त्यस सम्बन्धमा के पनि भनेका छन् भने उनले क्लिण्टनसँग गुनासो गरेका थिए कि अमेरिकी गुप्तचर ऐजन्सीहरु चेचेन्यामा आतंकबादी समूहहरुलाई बढावा दिइरहेका छन् । तर त्यस सम्बन्धमा क्लिण्टनले ‘यस्तो हुन सक्तैन’ भनेका थिए । पुटीनले उनको त्यस आरोपको समर्थनमा सबूत प्रमाण प्रस्तुत गर्दा उनले अमेरिकी गुप्तचर एजेन्सीको कान तान्नेछन् त भने । तर त्यस सम्बन्धमा पछिबाट अमेरकाले आफ्नो प्रबृत्तिमा बिल्कुलै कुनै परिबर्तन भएको देखाएन ।
रुसमा अधिकारीहरुले यस सम्बन्धमा जब सीआईएसँग सम्पर्क गरे त्यसबेला उनीहरुले के उत्तर पाए भने ‘हामी कुनै पनि देशहरुमा बिपक्षी समूहहरुसँग सम्बाद गर्ने गर्दछौ र यो सही नीति हो’। पुटीनको यो कथन रुसको मात्रै होइन, भारत लगायत अन्य देशहरुका लागि पनि चिन्ताको बिषय हो भन्ने बिश्लेषकहरु औंल्याउने गर्दछन् । यस सन्दर्भमा अमेरिकाले मिसाइल(क्षेप्यास्त्र) बिरोधी प्रणाली र यूरोपमा नयाँ सुरक्षा ढाँचा(संरचना)का बारेमा रुसको प्रस्तावलाई पनि वेवास्ता गरिदिएको थियो ।
अन्ततः यस पूरै घटनाक्रमको परिणाम के भयो भने पश्चिमकाप्रति पुटीनको मोहभंग भयो । त्यसले गर्दा रुसले पश्चिमबाट आउने चूनौतिहरुको सामना गर्नका लागि कडा चाल चल्नु पर्ने भयो । त्यसैले यसभन्दा पहिला कि यूक्रेनको माध्यमबाट रुसको रणनतिक हितमाथि कुठाराघात हुन जाने आकलन गरएको थियो, त्यसलाई आधार मानेर पुटीनले बिशेष सैनिक अभियान शुरु गरिदिए र त्यो अभियान अहिलेसम्म जारी रहेको सारा संसारलाई सर्बबिदितै छ ।
यो पुरै अन्तरबार्तामा रुसी राष्ट्रपति पुटीनले ब्रिक्स देशहरुको बढ्दो शक्तिको पनि उल्लेख गरेका छन् । अनि त्यसमा आफ्नो अध्यक्षताको कालखण्डमा यसको भूमिकाको पनि चर्चा गरेका छन् । बर्तमान बिश्व परिप्रेक्षमा रुस चीनसँगको घनिष्ठ सम्बन्धलाई बिशेष र सर्बाधिक महत्व दिन्छ । यसलाई भारत लगायत कतिपय देशहरुले सन्देहको दृष्टिले पनि हेर्दछन् । तर रुसका राष्ट्रपति पुटीनले ‘चीनको बिदेश नीति आक्रामक छैन, त्यसको बिपरीत उसको नीति सम्झौताकारी छ र त्यसमा जोड दिन्छ’ भनेका छन् । यद्यपि भारत लगायतका देशहरु पुटीनको यो कुरामा आश्वस्त लाग्दैनन् । तर पुटीन भने चीन र भारत दुबैसँग रणनैतिक सहयोगीको सम्बन्ध राख्न चाहन्छन् । यस सम्बन्धमा पुटीनको नीति सन्तुलनकारी र रणनीतिक महत्वको देखिन्छ भन्ने बिश्लेषकरु औंल्याउँदछन् ।
समग्रमा रुसी राष्ट्रपति भ्लादिमिर पटीनको यो साक्षात्कारले आशा जगाउँदछ कि बर्तमानमा चलिरहेको युक्रेन संघर्षले आउदा दिनमा त्यस्तो ब्यापक रुप लिने छैन । अमेरिका लगायत पश्चिमा देशहरुले कुनै गैर जिम्मेवार प्रकारका गतिबिधिहरु देखाएनन् भने कूटनीतिकै माध्यमबाट यूक्रेन समस्यको समाधान पनि सम्भव छ । यो साक्षात्कारबाट अर्को के कुरा पनि प्रष्टसँग खुलासा भएको छ भने अमेरिकी राष्ट्रपति सर्ब शक्तिमान छैनन् जस्तो सोच्ने र प्रस्तुत गर्ने गरिन्छ । वास्तवमा यो साक्षात्कारले पुटीनको आत्मबिश्वास र क्रियशीलतालाई पनि दर्शाएको र उनी नाटोको बर्चश्वका बिरुद्ध नझुक्ने र दृढ रहने कुरामा कुनै तलमाथि हुन दिने पक्षमा नरहेको नै प्रष्ट हुन्छ भन्ने बर्तमान बिश्व राजनीतिका बस्तुबादी बिश्लेषकहरुको निष्कर्श देखिन्छ।
बद्लिदो र बहुध्रुबीयताको दिशामा बढ्दो बर्तमान बिश्वको अर्थ–राजनीतिक चरित्रलाई पटीनले राम्रैसँग बुझेको र तदनुरुप सन्तुलनकारी कदमहरु चाल्न र सक्रियरुपमा अघि बढ्न रुसी राष्ट्रपति सजग छन् भन्ने प्रष्ट हुन्छ । बिश्व शक्ति राष्ट्रहरुको प्रस्पिद्र्धामा रुस पश्चिमा शक्तिहरुले आकलन गरेजस्तो कमजोर छैन र यसले बिश्व राजनीतिमा सशक्त भूमिका निर्वाह गर्ने आधार गुमाएको छैन भन्ने कुरा नै अथ्र्याउँदछ । पुटीनको अन्तरबार्ताको अन्तर्यले यही रहस्यको खुलासा गरेको छ ।