अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कुल १० हजार ५५ वटा उजुरी फर्छ्यौट गरेको जनाएको छ।
अख्तियार दिवसका अवसरमा आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पुस मसान्तसम्म आयोगमा कुल २२ हजार १२७ उजुरी रहेकाका थिए। ती मध्ये अघिल्लो आर्थिक वर्षबाट सरेर आएको ९ हजार २६८ वटा, चालु आर्थिक वर्षको प्रथम त्रैमासमा परेको ८ हजार वटा र दोस्रो त्रैमासमा परेको ४ हजार ८५९ उजुरी हुन्।
कुल उजुरीमध्ये प्रथम त्रैमासमा ४ हजार ८९९ वटा र दोस्रो त्रैमास ५ हजार १५६ वटा उजुरी फर्छ्र्यौट भएको आयोगले जनाएको छ। कुल उजुरीमध्ये १२ हजार ७२ वटा अझै फर्छ्यौट हुन बाँकी रहेका छन्।
आयोगले १३७ वटा उजुरी विस्तृत अनुसन्धानमा पठाएको छ। त्यस्तै १ हजार ३४५ वटा उजुरी कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको, ९४५ वटा उजुरी सोसँग सम्बन्धित उजुरीमा गाभिएको र २ हजार ७२९ वटा उजुरी तामेलीमा पठाइएको आयोगले जनाएको छ।