अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्था र सहकारीबाट लिएको ऋण मिनाह नहुने बताएका छन् । आज इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले वित्तीय संस्थाबाट लिएको ऋण मिनाह गर्न सरकारसँग आर्थिक स्रोत नभएको प्रष्ट पारे ।
उनले भने,‘जनताले दुःख गरेर बचत गरेको रकमलाई कटाएर ऋणीलाई मिनाह गर्न सकिदैन । त्यसैले बैंक वित्तीय संस्थाबाट लिएको ऋण तिर्नै पर्छ । बैंकको ब्याजदर घटेको छ । ऋण तिर्ने समय बढेको छ । यसलाई राहत सम्झेर ऋणीले ऋणको. साँवा ब्याज तिर्नुहोला । ’ ऋण तिर्नुको विकल्प नभएको भन्दै उनले एकथरीले ऋण तिर्नै पर्दैन भने पनि त्यसको पछि नलाग्न आग्रह गरे । उनले थपे, ‘कतिपयले हामी छौ ,ऋण नर्तिनुस भन्ने गरेका छन् । केहीले १ लाख दिनुस् १ करोड तिर्न नपर्ने बनाइदिन्छु भनेको मैले सुनेको छु । यस्तो प्रवृतिको पछि लाग्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु बराबर हो ।’त्यसकारण ऋण तिर्नु पर्दैन भर्ने समुहको पछाडी नलाग्ने उनले आग्रह गरे ।
बैंकबाट पाएको सहुलियतलाई उपयोग गर्दै ऋणको व्यवस्थापन गर्न उनले सुझाए । वित्तीय संस्थाले पनि जथाभावी ऋण लगानी नगरी परियोजना र ऋण तिर्न सक्ने क्षमता हेरेर मात्र ऋण दिनु पर्ने उनको भनाई छ । कार्यक्रममा बोल्ने अधिकाश वक्ताहरुले ऋण नतिर्नेे कुराले बैंक तथा वित्तीय संस्था मात्र नभई समग्र अर्थतन्त्र नै समस्यामा पर्ने बताए ।
नेपालपत्र संवाददाता