शुक्रबार, कार्तिक ७ गते २०८३

अमेरिका मध्यपूर्बमा युद्ध बिस्तार र बर्बादीकै दिशामा अग्रसर


माघ २३, २०८० मंगलबार
अमेरिका मध्यपूर्बमा युद्ध बिस्तार र बर्बादीकै दिशामा अग्रसर

पछिल्लो समय अमेरिकाले इजरायलसँग मिलेर सीरिया र इराकमा बमबारी गरेको छ । त्यसबाट गाँजा क्षेत्रमा सीमित रहेको इजरायल–पेलस्टिन बीचको नरसंहारकारी युद्धले क्षेत्रीय युद्धको रुप लिने खतरा टडकारो बनेको छ । अमेरिकाका तीनजा सैनिकहरुको मृत्युको बदला लिनका लागि अमेरिकाले पूरै त्यस क्षेत्रलाई अशान्ति र अस्थाईत्वमा धकेल्न खोजेको देखिन्छ ।यतिबेला अमेरिकी प्रशासन के दाबी गरिरहेको छ भने ऊ इरानसँग युद्ध गर्न चाँहदैन  । तर उसको पछिल्लो कारबाही यस कुराको ठीक बिपरीत छ । यद्यपि आगामी केही दिनमा यो स्थिति बद्लिन पनि सक्तछ ।यदि रिभ्यूलिशनरी गार्डका कुनै शीर्ष कमाण्डर मारिए भने ईरानले प्रति हमलाको बारेमा सोच्न सक्तछ । आश्चर्य के देखिएको छ भने अमेरिका र पशिचमा देशहरु गाजामा हजारौं हजार बालाबालिका र महिलाहरुको मृत्युलाई केही पनि होइन जास्तो नजरअन्दाज गरेर हेर्दै आएका हुन् । तर आफ्ना केही सैनिक हताहत हुँदा अहिले  बडो क्षुब्ध भएको देखिन्छन् ।त्यति मात्र पनि होइन, हेग स्थिति अन्तर्राष्ट्रिय न्यायालयमा इजरायललाई खडा गरिएपछिको स्थितिमा  पश्चिमा देशहरुले संयुक्त राष्ट्र संघ र त्यसका एजेन्सीहरुका बिरुद्धको  दुष्प्रचारपूर्ण फत्तुरलाई तीब्र पारेका छन् । आफ्नो ज्यान जोखिममा पारेर गाजाका मानिसहरुलाई मानबीय सेवा–सहायता उपलब्ध गराइरहेका ती एजेन्सीका कार्याकर्ताहरुलाई अपराधी तथा आतंकबादी करार गरिरहेका छन् । संयुक्त राष्ट्रका राहत कार्य गर्ने एजेन्सीहरुको लागि दिइनु पर्ने कोषको रकम पनि उनीहरुले यतिबेला रोकिराखेका छन् । 
 गाजा क्षेत्रमा अत्यन्तै ठूलो परिमाणमा बर्बादी र रक्तपातबाट इजरायललाई के हासिल भयो ? सुरक्षा बिशेषज्ञहरु त्यसको हिसाव किताब अर्थात लेखाजोखा गरिरहेका छन् । इजरायल आफ्नो  घोषित कथित उदेश्यहरु जस्तो कि हमासको समाप्ति र त्यस क्षेत्रमा असैन्यिकरण हासिल गर्नमा असफल साबित भएकोछ । तर उसको त्यो कथित ‘उपलब्धी’का लागि पश्चिमा देशहरुमा वाहावाही चलिरहको देखिन्छ । यसै बीच हमासको इरादा भने अझ सबल हुन पुगेको ठानिदै छ । हमासका नेताहरु के सोचिरहेका छन् भने यो भन्दा त्रासदीपूर्ण र  ठूलो बर्बादी उनीहरुका लागि अरु के हुन सक्छ । यसै कारणले गर्दा नै हमास युद्ध बिरामको प्रस्तावप्रति धेरै उत्साही देखिदैन । केही समयका पछिल्ला अस्थाई युद्ध बिरामका अनुभवहरु पनि त्यति आशाकारी र  उत्साहप्रद देखापरेनन् । बरु इजरायले अझ दोब्बर शक्तिकासाथ ती युद्ध बिरामपछि जोडदार र सर्बनाशी आक्रमण गरेको कुरा बिश्वले देखेको हो । त्यसैले त्यत्रो अपूर्ब त्रासदी र सर्बनाश बेहोरेको हमास फेरि त्यसको पुनाराबृत्ति होस् भन्ने शायद चाहँदैन ।
 अमेरिका समेत पश्चिमी देशहरु गाजाको घटना क्रमको भावी परिणामको जसरी उपेक्षा र अनदेखा गरिरहेका छन् त्यो उनीहरुका लागि पनि अत्यन्तै घातक सिद्ध हुन सक्ने अनुमान पर्यबेक्षहरुले लगाइराखेका छन् । तिनले संगठित या छिटफुट किसिमका हमलाहरु बेहोर्नुपर्ने स्थिति र भिन्न खतराको सामना गर्नु पर्ने अबस्था आउन सक्ने आकलन उनीहरु गरिरहेका छन् । जो मासिनहरु पेलिस्टिनहरुको समर्थनमा पश्चिमा देशहरुका बिभिन्न नगरहरुमा दिनदिनैजसो प्रदर्शन गरिरहेका छन् ती मध्येका कतिपय संगठनहरुले आक्रामक हमलाको सहारा लिन सक्छन् भन्ने उनीहरुका अनुमान छ । बिभिन्न सर्बेक्षणहरुले के कुरा प्रकाशमा ल्याएका छन् भने अमेरिकी बिश्वबिद्यालयकै बिद्यार्थी लगायत यूवा समुदायले इजरायललाई अपराधी मान्दछ । अमेरिकी प्रशासनले हालैमा अमेरिकाको हार्डभर्ड र एमआईटी बिश्व बिद्यालय लगायतमा बिद्यार्थीहरुमाथि मात्रै होइन, प्राध्यापकहरुमाथि पनि कारबाही शुरु गरिसकेको छ । तिनको आर्थिक सहायता पनि रोकिदिन थालेको छ । अमेरिकाको इतिहासमा सम्भवतः यो पहिलो अवसर हो जतिबेला शिक्षण संस्थाहरुलाई यसरी तारो बनाइएको छ ।अभिब्यक्तिको स्वतन्त्रतलाई दबाउने प्रयत्न गरिन थालेको छ । बिडम्बना त के भने तिनै पश्चिमा देशहरु एशिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरुलाई अभिब्यक्ति स्वतन्त्रताको खुब उपदेश दिने गर्दै आएका छन् र गर्दछन् ।

bidhwamsa.jpg
 अर्कोरित यस पूरै त्रासद, अमानबीय र नरसंहारकारी प्रकरणमा ब्रिक्स जस्ता संगठनहरुको भूमिका भने निकै नै निराशाजनक रहेको पनि बिश्लेषकहरु औंल्याइरहेका छन् ।पछिल्लो समय अर्थात हालै ब्रिक्समा पाँच नयाँ देशहरुलाई पनि सामेल गरिएको छ । ब्रिक्सले नयाँ बिश्व ब्यवस्था कायम गर्ने दाबी गर्दै आएको छ । तर पश्चिम एशियाको अहिलेको अत्यन्तै बिग्रँदो अमानबीय घटना क्रमका बारेमा ब्रिक्सको तर्फबाट भने त्यस्तो कुनै पहल गरेको पटक्कै देखिएको छैन । मानिसहरुले बिश्वभरी नै के अपेक्षा गरेको देखिन्छ भने ब्रिक्सका शक्तिशाली देशहरु रुस,चीन र भारतले समेत  यदि बिभिन्न अन्तराष्ट्रिय मञ्चहरुमा पश्चिम एशियाको गम्भीर समस्याका बारेमा दृढ प्रबृत्ति मात्रै दर्शाएको भए पनि त्यो इजरायलका लागि र प्रकारानतरले पश्चिमा शक्तिहरुकै लागि पनि एउटा कडा सन्देश हुने थियो । ब्रिक्समा केवल दक्षिण अफ्रिका मात्रै एउटा अपबाद रहन पुगेको छ  जसले बिश्व मानबताको पक्षमा सशक्त आवाज बुलन्द गरेको देखिएको छ । अनि अरब र मुस्लिम देशहरुले देखावटीरुपमै भए पनि दक्षिण अफ्रिकाको त्यो सत्प्रयासप्रति आफुलाई जोड्न पुगेका छन् । तर उनीहरुको दब्बूपन जग जाहेर हुन पुगेको छ । के पनि  दुर्भाग्यपूर्ण मानिदै छ भने पेलेस्टिनी घटनाक्रमलाई पनि सुन्नी र शियाको धार्मिक बिभाजनतिर धकेलेर चर्काउने किसिमको रुप प्रदान गर्ने प्रयत्न गरिएको छ । ईरानको तर्फबाट पाकिस्तानमा आतंकबादी अखडालाई निशाना बनाइएको कुरालाई पनि यससँग जोडेर हेरिदैछ । पाकिस्तनका एकजना प्रसिद्ध पत्रकार नजम सेठीले यस कुरालाई अन्यत्र मोड्न र जनतालाई गुमराह गर्न खोजेको आरोप पनि लागेको छ । यसरी पेलिस्टिनी समस्याको सही समाधान खोज्ने आन्दोलनलाई बिभिन्न किसिमले कमजोर पार्ने खेल र चलखेल चल्नुले पश्चिमा शक्तिहरु गोला बारुद बर्षाएर पेलेस्टिनीहरुमाथि अत्याचार मात्र मच्चाइरहेका छैनन् भाबी दिनमा प्यालेस्टिनी मुक्ति र स्वाधीनताको आन्दोलको पक्षमा उठ्न सक्ने बिश्वब्यापी सबल एकतालाई भाँजो हाल्न पनि प्रत्यक्ष परोक्ष भूमिका खेलिरहेका छन् भन्ने तथ्यहरु पनि यसरी उद्घाटित भइरहेका छन् ।
यस प्रकार अधिकांश निर्दोष र निहत्था बालबालिका, महिला र आम नागरिकको बर्बर नरहत्याको श्रृंखला चलिरहेको र त्यसमा परेर कालकलबित हुनेको संख्या २८ हजार नाघ्न लागि सक्दा पनि यसको कुनै निकास निस्कने सुरसार अझै देखिएको छैन । बरु यो संघर्ष क्षेत्रीय संघर्षको रुपमा अझ फैलिने खतनाक स्थिति सिर्जना गरिदै रहको देखिन्छ । यो २१औं शाताब्दीको दोश्रो दशकको मध्य बिन्दूमा बिश्व पुग्न लाग्दा पनि स्वाधिनता, स्वतन्त्रता र मानबीयताको सम्मान हुने बातावरण फेरि पनि बन्न नसकेको क्रूर यथार्थ बिश्व सामु ठिङ्ग उभ्भिएको छ । यसरी प्यालेस्टिनीहरुको संकट आज बिश्व मानबकै एउटा अभिन्न संकटकोरुपमा खडा हुन पुगेको छ ।