निर्वाचन आयोगले उपचुनाव गर्नुपर्ने क्षेत्रमा मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ ।
आयोगले आज विज्ञप्ति निकालेर उपचुनावको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । २०७९ सालको वैशाख १० गते पालिका चुनाव र मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनाव भएपछि रिक्त पदहरूमा उपचुनाव गर्ने तयारी आयोगले गरेको छ ।
पालिका, प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका २३ वटा पद रिक्त रहेकाले उपचुनाव गर्नुपर्ने आयोगले जनाएको छ । पद रिक्त रहेका क्षेत्रहरूको विवरणसहित आयोगले मतदाता नामावली दर्ता गर्न अनुरोध गरेको हो ।
उपचुनावको मिति तोक्ने गरी आन्तरिक तयारी शुरु गरेको आयोगले जनाएको छ । मतदाता नामावली ऐन २०७३ मा चुनावको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने काम स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । आयोगले नियमितरुपमा प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूमार्फत् मतदाता नामावली दर्ता गर्दै आएको छ।
विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषत: पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ।
निम्न तहहरूमा जनप्रतिनिधिको स्थान रिक्त रहेकोले उप निर्वाचनको तयारी गरिरहेकाे आयोगले जानकारी दिएको छ।
