शुक्रबार, कार्तिक ७ गते २०८३

बेलायतकाे स्कटल्याण्डमा आगलागीमा दुइ नेपाली किशाेरीकाे मृत्यु

माघ १९, २०८० शुक्रबार
बेलायतकाे स्कटल्याण्डमा आगलागीमा दुइ नेपाली किशाेरीकाे मृत्यु

लण्डन । बेलायतको स्कटल्याण्ड राज्यको एबरडीनमा भएको आगलागीमा परी दुइ नेपाली दिदीबहिनीको निधन भएको छ ।

गएकाे सोमबार सोमबार साँझ करिब ६ बजे ब्ल्याक हिल्टन रोडमा लागेको सो आगलागीमा परी शिक्षा सुवेदी र आँचल सुवेदीको निधन भएको ढिला गरी समाचार सार्वजनिक भएको हाे ।

स्थानीय एबरडीन लाइभका अनुसार शिक्षाको उमेर २४ वर्ष रहेको छ भने आँचल २८ वर्ष भएको वी नेपाली यूकेले खबर सार्वजनिक गरेको छ ।।आँचल पेशाले इन्जीनियर र शिक्षा आइटी अध्ययन गरी क्यान अफसोरमा कार्यरत थिइन् ।

सो आगलागीमा परेका अरु पाँच जना भने उपचारपछि घर फर्किसकेको बताइएको छ ।

सुवेदी दिदीबहिनी डा. यज्ञप्रसाद सुवेदीका छोरीहरु हुन् । डा. सुवेदी पोखरा विश्वविद्यालयका पूर्व प्राध्यापक हुन् ।

घटनाको बारेमा स्कटल्याण्ड प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले सोमबार साँझ करिब ६ बजे आगलागीका बारेमा जानकारी पाएको र एम्बुलेन्स, दमकल लगायत आकस्मिक सेवाका १४ वटा साधन त्यहाँ परिचालित भएको बताएको छ ।

राति करिब ९ बजे आकस्मिक सेवा त्यहाँबाट फर्किएको बताइएको छ । घटनाको बारेमा थप जानकारी दिँदै एबरडिनस्थित नेपलिज हिमालयन एसोसिएसनका अध्यक्ष डा. शिव तिवारीले  सुवेदी दिदीबहिनी बस्ने फ्लाटभन्दा मुनी विपरीत तर्फको फ्लाटबाट आगलागी शुरु भएको बताएका छन् । सुवेदी दिदीबहिनी दोस्रो तल्लामा बस्थे भने आगलागी पहिलो तल्लामा शुरु भएको थियो ।

आगलागी भएको थाहा पाएपछि दिदीबहिनी आफ्नो फ्लाटको ढोका बन्द गरी बाहिर निस्कन खोज्दा भर्याङमै धुँवाको मुस्लोमा परी निस्सासिएर उनीहरूको मृत्यु भएको आशङ्का गरिएको छ । दुवैजनाको शरीरमा कतै जलेको पनि नपाइएको पनि डा. तिवारीले जानकारी दिएका छन्।

डा. सुवेदीका तीन छोरीमध्ये जेठी विवाह भएर अलग्गै बस्थिन् भने ती दुई दिदीबहिनी बाआमाबाट करिब १० मिनेटको दुरीमा रहेको सो फ्लाटमा बस्ने गरेको खुलेको छ ।