नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले आज (माघ १७ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ। केन्द्रीय बैंकले हिजो पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको थियो।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
माघमा यो पाँचौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि केन्द्रीय बैंकले माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।