बुधबार, भाद्र ३ गते २०८३

अभियानले गलत गर्ने सहकारीलाई संरक्षण गर्ने होइन, कारवाहीका लागि राज्यलाई सघाउनुपर्छ

माघ १५, २०८० सोमबार
अभियानले गलत गर्ने सहकारीलाई संरक्षण गर्ने होइन, कारवाहीका लागि राज्यलाई सघाउनुपर्छ

 

बागमती प्रदेशमा रहेका सहकारी संघसंस्थाको विकास र प्रवर्धनमा बोर्डले के–कस्ता काम गर्दै आएको छ ? 

बागमती प्रदेश सरकारले २०७६ सालमा सहकारी ऐन ल्याएपछि ‘बागमती प्रदेश सहकारी बोर्ड’ स्थापना भएको हो । बोर्ड स्थापना भएदेखि नै सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका काम हुँदै आएको छ । सहकारीले बचत तथा ऋणको मात्रै काम गर्ने होइन, उद्योगधन्दाको स्थापना, उत्पादन र बजारीकरणमा पनि जोड्नका लागि प्रयास गरिरहेको छ । त्यसैगरी सहकारी अभियानलाई सुदृढ बनाउन समन्वय र सहकार्यको भूमिका समेत निर्वाह गर्दै आएको छ । त्यसैगरी बोर्डले संघीय सरकार र स्थानीय तहसँग समेत समन्वयकारी भूमिका पनि खेल्दै आएको छ । त्यसका साथै सहकारी क्षेत्रका समस्या के–के छन् र समाधानका उपायहरु के के हुनसक्छन् भन्ने विषयमा सहकारीका संघसंस्थालाई एकाकार गरेर कार्यक्रम गर्दै आएका छौं । बोर्डले सहकारी संस्थामा वित्तीय पारदर्शिता कायम गराउन विभिन्न तालिम गोष्ठीमार्फत संस्थाहरुलाई सघाउँदै आएको छ । स्थानीय तह र प्रदेश ऐनमा एकरुपता छैन भने, त्यसमा एकरुपता कायम गर्न सहजिकरण गर्नुका साथै गाउँपालिका प्रमुख, बोर्ड र रजिष्ट्रार कार्यालयबीच छलफल गरी ऐन कार्यान्वयमा भएका समस्या समाधानको लागि समेत काम गर्दै आएका छौं ।

सहकारीमार्फत केकस्ता उद्योग स्थापना भएका छन् ? छैनन् भने के कारणले गर्दा हुन सकेन ?

बागमती प्रदेश सरकारले नीजि, सहकारी र सरकार मिलेर काम गर्नुपर्छ भनेर धुलो दूध कारखाना स्थापनाको शुरुवात गरेको छ । दैनिक ५० हजार लिटर दुध संकलन गरेर हेटौंडामा धुलो दूध कारखाना सञ्चालन गर्नेगरी अगाडि बढेको र त्यसका लागि कारखाना समेत स्थापना गरिसकिएको छ । सहकारी र नीजि क्षेत्र सहभागि हुने र सरकारले त्यसको अपनत्व लिनेगरी काम अगाडि बढाइएको छ । उत्पादन र बजारीकरणमा सहकारी जोडिनुपर्छ भनिरहँदा यो कामले अभियानलाई थप उचाईमा लैजान सहयोग मिल्छ । 

जुन उद्देश्य लिएर संस्था खुलेपनि बचत तथा ऋणमा मात्रै केन्द्रित भए भन्ने गरिन्छ नि ?

पछिल्लो समयमा विषयगत सहकारी संघहरुले पनि प्रशोधन कारखाना स्थापना गरेका छन् । त्यसका साथै केहि प्रारम्भिक सहकारी संस्थाले पनि उत्पादनलाई टेवा पुग्ने गरी ऋण लगानी गर्दै आएका छन् । बचतऋण सहकारीले पनि सदस्यहरुमार्फत कृषिमा लगानी गरेका छन् । प्रदेश सरकारले बचत तथा ऋण सहकारीलाई पनि उत्पादन, कृषि र बजारीकरणको क्षेत्रमा ६० प्रतिशत लगानी गर्न ऐनमा नै व्यवस्था गरेको छ । मकवानपुर जिल्लाको कुरा गर्दा बाहिर जिल्लामा स्थापना भएका र सेवाकेन्द्र स्थापना गरेका सहकारी संस्थामा केहि समस्या आएको भएपनि जिल्लामा स्थापना भएका संस्थामा कुनै समस्या आएको छैन । 

बागमती प्रदेशमा धेरै सहकारी संस्था रहेका छन् र समस्यामा परेका संस्थाहरु पनि यहिँ छन् । सहकारीमा समस्या आउनुमा आर्थिक मन्दीसँगै राजनीतिक हस्तक्षेप पनि हो भनिन्छ नि ?

समुदायमा आधारित संस्थामा समस्या छैन । परिवार र व्यवसायसँग जोडिएका र नीतिगतरुपमा नचल्ने संस्थामा मात्र समस्या आएको हो । सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई नमान्ने र सहकारी ऐननियम पालनामा कमजोर संस्थाहरु समस्यामा परेको देखिएको छ । परिवारवादमा चलेका र सहकारीलाई व्यवसाय गर्ने थलोको रुपमा लिएर घरजग्गा लगायतका अनुत्पादक क्षेत्रमा लगानी गरेका सहकारी संस्था नै प्रमुख रुपमा समस्यामा छन् । शहरकेन्द्रित सहकारीमा बढी समस्या आएको छ । तर समस्यामा परेका संस्थाको संख्या कम नै छन् । करिब १० हजार सहकारी बागमती प्रदेशमा छन् । ३३ सय सहकारी बागमती प्रदेश सरकार मातहत रहेका छन् । त्यसमध्ये ३ सय जति संस्थामा समस्या आएको छ । सहकारीमा अनुगमन कमजोर छ । ४ जना कर्मचारीले प्रदेशभरीको सहकारी संस्थाको अनुगमन गर्न पक्कै सम्भव छैन । सहकारी अभियानलाई सुदृढ बनाउन विषयगत संघहरुलाई सुदृढ बनाएर अनुगमनलाई अmझ प्रभावकारी बनाउनु पर्छ । सहकारी रजिष्ट्रार कार्यालयको मात्रै यो दायित्व होइन । अभियानले गलत गर्नेलाई गलत भन्न सकेन भने सहकारी अभियान नै धराशायी हुन्छ । राज्य र अभियान दुवै मिलेर जान सके सहकारीमा समस्या नै आउँदैन । विषयगत र जिल्ला संघहरु सक्रिय भएको ठाउँ तुलनात्मक रुपमा समस्या कम छ ।

गलत गर्नेलाई गलत गरेको छ भन्न सके सहकारीमा समस्या कम हुँदै जाने बताउनु भयो । तर गलत गर्ने संस्थाहरुलाई संरक्षण गरेकै कारण समस्याले ठूलो रुप लियो भन्ने आरोप अभियानलाई लागेको छ नि ? 

गलत गर्नेलाई गलत गरेको हो भन्न सक्नुपर्छ । कहिलेकाँही छिटो भन्ने कि ढिलो भन्ने मात्रै हो । नीति र विधिमा नचलेका संस्था समस्या परेका छन् भन्दै आइएको छ । अब नरमपन्थी भावले भन्दा पनि अभियान कडा रुपमा प्रस्तुत हुने बेला आएको छ । यी–यी सहकारी सिद्धान्तभन्दा बाहिर चलेका छन् र यी संस्थालाई कारवाही गर्नुपर्छ भनेर संघहरुले सिफारिस गर्नुपर्छ । अब नेतृत्वले गलत गर्नेलाई काखी च्याप्ने भन्दापनि कारवाहीका लागि सिफारिस गर्नै पर्छ र नीति, विधिमा चलेका संस्थाहरुलाई संरक्षण गर्नुपर्छ । यो गर्न सकिएन भने अभियानभित्र ठूलो चुनौति रहेको छ । संघहरु एकाकार भएर अगाडि बढ्नुपर्छ र राज्यले पनि जिल्ला संघ र विषयगत संघहरुसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ । सहकारीको समस्या समाधान गर्न सरकारसँगसँगै संघहरुको पनि उत्तिकै दायित्व रहेको छ । 

सहकारीले समाजमा राम्रा काम पनि गरेका होलान् । त्यसलाई अभियानले किन उजागर गर्न सकेन ? 

सहकारीमार्फत धेरै राम्रा काम पनि भएका छन् । गरिब तथा विपन्न वर्गमा ससानो रकम बचत गर्ने बानीको विकास सहकारीले गरेको छ । सहकारीमार्फत बचत गरेर भविष्यको लागि केहि रकम जम्मा गर्नुपर्छ भनेर अभियान नै चलाइएको छ । सदस्यले सहकारीमा गरेको बचत आवश्यकता पर्दा झिक्न पाउनुपर्ने हो । तर केहि सहकारी संस्थाले समयमा सदस्यको बचतफिर्ता गर्न नसक्दा अविश्वास बढेर गएको छ । सहकारीमार्फत राम्रा काम पनि भएका छन् । नकारात्मक कुराको भन्दापनि ती कुराहरुको बढी प्रचारप्रसार गर्नुपर्‍यो । सहकारीले उद्योग स्थापना गरेका छन् । उत्पादनमा वृद्धि भएको छ । बचत तथा ऋण सहकारीले कृषि क्षेत्रमा लगानी गरेर ठूला–ठूला फार्महरु बनेका छन् । सहकारीले राम्रो काम गरेका छन् तर त्यसको प्रचारप्रसार भने हुन सकेको छैन । सहकारीले गरेका राम्रो काम बाहिर ल्याउनुपर्छ भनेर बागमती प्रदेश सरकार र बोर्ड लागेको छ । त्यसका साथै बागमती प्रदेशमा कति सहकारी सक्रिय छन् र तिनको अवस्था के छ भन्ने तथ्यांकीय विवरण नहुँदा हचुवाको भर पर्नुपरेको छ । यसर्थ यथार्थ तथ्यांक आउनुपर्छ भनेर सरकारले तथ्यांक संकलन गर्न बजेट नै छुट्याएर अगाडि बढेको छ । यस वर्षमा नै तथ्यांक निकाल्ने र अर्को वर्षमा बागमती प्रदेशमा कति संस्था राम्रा छन्, कति संस्था समस्यामा छन्, संस्थाहरुको बचतऋण, शेयरपुँजी, जगेडा कोष, सदस्य संख्या के छ भन्ने कुराको यकिन तथ्यांक आउँछ । 

सहकारीलाई हेर्ने राज्यको दृष्टिकोण अहिले पनि सकारात्मक छैन नि, किन ?

सहकारी क्षेत्रले जुन उद्देश्यका साथ काम गर्नुपर्ने हो, केहि संस्थाले त्यो उद्देश्य अनुसार काम गर्न नसक्दा राज्यको हेर्ने दृष्टिकोण सकारात्मक नभएको हो । सयवटा सहकारीले गर्ने कारोबारभन्दा ५ वटा सहकारीले गर्ने कारोबार बढी भएको र तिनै संस्थाले सदस्यको बचत फिर्ता गर्न नसक्दा यो अवस्था आएको हो । संख्या थोरै भएपनि कारोबारको आकार ठूलो भएकाले धेरै सदस्यको बचत थोरै संस्थाले जोखिममा पारेका छन् । कारोबार ठूलो गर्ने तर समयमा पैसा फिर्ता गर्न नसक्ने केहि संस्थाका कारण यो अवस्था आयो । सहकारीले घरजग्गाको कारोबारमा समेत सदस्यको बचत लगानी गरे, वास्तवमा सहकारीको काम यो होइन । सदस्यको बचत सदस्यकै हितमा लगानी गर्ने र उत्पादन, प्रवर्धन तथा आय आर्जनमा लगानी गरी, सो पैसा सहकारीमा नै ल्याउनुपर्ने हो । तर सहकारी ऐन नियमभन्दा बाहिर गएर बैंकिङको तरिकाले सञ्चालन हुँदा ती संस्था धरासायी बने । समुदायमा आधारित संस्था बिग्रेका छैनन् । ठूला र व्यवसायमुखी सहकारी संस्थाका कारण यो समस्या आयो र राज्यले फरक दृष्टिकोण बनायो ।

सदस्यले विश्वास गर्न छाडेको अवस्था रहेकाले अब सहकारीको साख जोगाउन कसरी अगाडि बढ्नुपर्ला ?

सहकारी शिक्षा शिविरका साथै संस्थाहरुले समुदाय र सदस्यकेन्द्रित रहेर गरेका राम्रा कामहरुको प्रचारलाई मुख्य रुपमा अगाडि बढाइनुपर्छ । साधारणसभामा सहभागि गराएर सदस्यहरुलाई हस्ताक्षर गराउने मात्र नभई सदस्यकेन्द्रित छलफललाई व्यापक बनाउनुपर्छ । सदस्यहरुले नै यो मेरो सहकारी हो भन्ने अनुभूति गराउने गरी काम गर्नुपर्छ । सदस्यहरुले नै आफ्नो संस्थाको बारेमा वकालत गर्न सकेनन् भने सहकारीप्रति वितृष्णा आउँछ। 

सहकारीमा छुट्टै बचत तथा ऋण ऐनको कुरा उठेको छ, यो आवश्यक छ कि छैन ?

सहकारी अभियान बचतऋणको मात्र होइन । बहुउद्देश्यीय, कृषि, उपभोक्ता सबैले बचतऋणको काम गरेका छन् । यसर्थ यो अभियानलाई एकाकार गरेर लैजानु राम्रो हुन्छ । बचतऋणको छुट्टै ऐन र अर्को प्रकृतिको संस्थालाई छुट्टै ऐन भन्नुभन्दा पनि सहकारी अभियानलाई बलियो बनाएर लैजानुपर्छ । सहकारी ऐन नियमलाई विधिमा ढालेर कडाइकासाथ लागु गर्न सके सहकारी क्षेत्र व्यवस्थित हुन्छ । प्रकृति अनुसार फरकफरक ऐन भन्दापनि ऐनलाई संशोधन गरेर व्यवस्थित संस्था निर्माणमा लाग्नुपर्छ । फरक ऐन ल्याउनुपर्छ भन्ने होइन । भोलि दुग्ध, कृषि सबैले आआफ्नो ऐन खोज्लान् । त्यतातर्फ जानु त्यति उपयुक्त देखिँदैन । 

बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यले विश्वास गर्न छाडे, सदस्यले बचत फिर्ता पाउने बातावरण कसरी सृजना हुन्छ ? 

एकातर्फ समाजमा राम्रोसँग कारोबार गरिरहेका र अर्कोतर्फ सदस्यको बचत फिर्ता गर्न नसकेका सहकारी संस्था छन् । समस्यामा रहेका सहकारीको कारणले गर्दा राम्रा संस्थाहरुमा पनि बचत फिर्ता माग्न आउने क्रम बढेको छ । बैंकमा पनि सबै ग्राहकले एकैपटक निक्षेप फिर्ता माग्न गए भने बैंकले दिन सक्दैन । सहकारीका सञ्चालकले सदस्यको विश्वास आर्जन गर्ने काम गनुपर्छ । अर्कोतर्फ यति समयभित्र सदस्यको बचत फिर्ता गर्छु भनेर तयारी गर्नुपर्छ । बचत फिर्ताको कार्ययोजना बनाएर अगाडि बढ्ने र निश्चित समयमा बचत फिर्ता पाउँछु भन्ने विश्वास सदस्यलाई दिलाउन सके त्यो प्रभावकारी हुनसक्छ । त्यो हुन सकेन भने भोलि झन् ठूलो समस्या आउन सक्छ । सदस्यको बचत फिर्ता गर्छु भन्ने तर फिर्ता नदिने संस्थाका सञ्चालकलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ । बदमासी गर्नेलाई कारवाही गर्नु हुँदैन भन्ने धारणा अभियानको पनि छैन ।

अर्कोतर्फ सदस्यहरुले संस्था नबुझी बचत जम्मा गर्दा धेरै समस्या आएको छ । बागमती प्रदेशले समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरेको छ । समस्यामा परेका संस्थाहरुको सम्पत्ति रोक्का गरेर भएपनि पीडितको बचत फिर्ता गराउनुपर्छ । नीति, विधि र पद्धतिलाई पालना गर्ने हो भने सहकारीमा समस्या नै आउँदैन । ऐन अनुसार नभई आफु अनुकूल सहकारी संस्था सञ्चालन गर्‍यो भने सहकारीका समस्या दोहोरिइरहन्छन् । आफ्नो स्वार्थका लागि सञ्चालित संस्थालाई कानुनी कारवाही गर्न राज्य र अभियान दुवै लाग्नुपर्छ । यसले सहकारीप्रति सदस्यको विश्वास पनि बढाउँछ ।

अब विकास बोर्ड कसरी अगाडि बढ्छ ?

बागमती प्रदेश सहकारी बोर्ड समन्वयकारी भूमिका खेल्दै अगाडि बढ्छ । विभिन्न तालिम सञ्चालनमा सहयोग गर्छ । राम्रा काम गरेका संस्थाहरुको भिज्युअल बनाएर प्रचारप्रसार गर्छौं । सहकारीको नीति नियम परिमार्जनका साथै सरकारलाई सुझाव दिएर अगाडि बढ्छौं । अर्कोतर्फ स्थानीय, प्रदेश र संघीय सरकारबीच पुलको काम गर्दै ऐननियमलाई समय अनुसार संशोधन गर्न सघाउँछौं । सरोकारवाला निकायसँग समन्वय गरी सहकारी क्षेत्रका समस्या र चुनौतिको विषय छलफल गरेर समाधानका लागि अगाडि बढ्छौं । सदस्यकेन्द्रिय संस्था निर्माण गरी सहकारीप्रति विश्वास निर्माण र अपनत्व कायम गर्न सहयोग गर्छौं ।