शुक्रबार, कार्तिक ७ गते २०८३

लाश भनुँ, सास फेर्दै हुनुहुन्छ, जिउँदो भनुँ मरेको जुनी बराबर छ . . . : गंगालाल


माघ १५, २०८० सोमबार
लाश भनुँ, सास फेर्दै हुनुहुन्छ, जिउँदो भनुँ मरेको जुनी बराबर छ . . .  : गंगालाल
तपाईंहरूलाई के भनेर सम्वोधन गरूँ ! मानिस भनुँ, मालिकले एक लात दियो भने परपर भाग्नुहुन्छ; एक टुक्रा रोटी फालिदिए फेरि वरवर आईहाल्नु हुन्छ, लाश भनुँ, सास फेर्दै हुनुहुन्छ, जिउँदो भनुँ मरेको जुनी बराबर छ.....
: शहिद गंगालाल
 
गंगालालको माथि प्रस्तुत विचार इन्द्रचोकमा आयोजित पुराणमा उहाँले जनतालाई विद्युतीय झट्का दिने खालको जोशिलो भाषणको अंश, सोही पुस्तकको पृ. ३२ बाट हो। 
 
महान शहीद गंगालाल श्रेष्ठ (वि.सं.१९७६–१९९७) शहादत दिने दिनमा २२ वर्षका भएकोले उमेरमा सबभन्दा कान्छा शहीद हुन् । पिता भक्तलाल र (माता मोहनीकुमारी) श्रेष्ठ रामेछापमा खटिएका माल अड्डाका सरकारी कर्मचारी, साथै २००९ सालमा पहिलोपटक भएको सफल न्युनवैतनिक कर्मचारी आन्दोलनका एक नेता थिए, जसले शहीद गंगालाल र भाई कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाललाई जन्म दिएका प्रतिष्ठित पिताको रुपमा चिनिए।
 
गंगालालले पहिले कलकत्तामा र पछि काठमाडौँको दरबार हाईस्कूलमा पढे। मेट्रिक परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण भएका गंगालालको गणित र काव्य रचनामा असाधारण प्रतिभा थियो । शहादत दिँदा उनी त्रिचन्द्र कलेजमा आई.एस्सी. अध्ययनरत विद्यार्थी थिए ।
 
वाक् कलामा पनि गंगालाल श्रोतालाई मन्त्रमुग्ध पार्ने जोशिलो प्रतिभाका थिए । उनी महावीर स्कूलको पनि सदस्य थिए । इन्द्रचोकमा भएको ऐतिहासिक पुराणमा राणा विरोधी भाषण गरेको अभियोगमा उनलाई राणा शासनले पक्राउ गरेर चरम यातना दिँदै १९९७ साल माघ १५ गते अर्का शहीद दशरथ चन्दसँगै शोभाभगवतिमा गोली हानी मार्यो । उनलाई मार्न जेलबाट लैजाने बेलामा गणेशमानजीसँग विदा हुँदै गंगालालले भने, "हाम्रो रगतलाई नबिर्सनु होला ।"
 
पक्राउ गरेपछि दिएको चरम यातनाबारे गणेशमानजीले आफूले देखेको अवस्था भन्नुभएको छ : "बाँसमा बाँधिएका गंगालाललाई उचाल्नेहरू थाकेर केही बेरपछि बाँसै छाडिदिन्थे । त्यसरी छाड्दा बाँधेको डोरी छिनेर बाँस र मानिस छुट्टिन्थे । त्यस बेला गंगालालको अवस्था गुलेली लागेर भुईँमा झरेको चराको जस्तै हुन्थ्यो । जसरी त्यो चरा चुच्चो भुईँमा गाडेर र्याल काड्छ, त्यसैगरी पछाडि फर्काएर हातमा बाँधिएका गंगालालको मुख भुईँमा जोतिन्थ्यो र मुख तथा नाकबाट र्याल र सिँगान झर्न थाल्थ्यो । त्यसरी भुईँमा पछारिएको बेला लात्ती, जुत्ता, कोर्रा हान्न छाड्दैनथे । उनीहरू थाकेपछि जथानाम गाली गर्न र थुक्न थाल्थे, जसले गर्दा गंगालालको अनुहारभरि थुकैथुक हुन्थ्यो । त्यो क्रम अनेकपल्ट दोहोरियो । अन्त्यमा बेहोस भएपछि मात्र त्यसरी पिट्न बन्द गरियो र उनलाई चार जनाले उचालेर उनको कोठातिर लगे" (गणेशमान सिंहको आत्मसंस्मरण ‘मेरो कथाका पानाहरू’, प्रस्तुतकर्ता : माथबरसिंह बस्नेत, खण्ड १, पृ. ८१)।
 
सरकारले २०५२ सालमा उनको नाममा गंगालाल हृदयरोग केन्द्र स्थापना गरेको छ जसबाट दशौँलाख मुटुरोगीहरुले उपचार र नयाँजीवन पाएका छन् । यस कामका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीको सत्प्रयास सम्झिन लायक छ । गंगालालका भाई कम्युनिस्ट नेता पुष्पलालजीका साढुभाई हुनुहुन्छ मनमोहनजी । तर नाताबाट प्रभावित भएर यो सत्प्रयास गरेको भन्न मिल्दैन ।
 
माघ सहिदको महिना हो । अमर सहिदहरू शुक्रराज शास्त्रीदेखि दुर्गानन्द झा सम्मलाई माघ महिनामै झुण्ड्याइएको हो । मधेस आन्दोलन यही महिनामा चल्यो ।
 
शहीद गंगालालले जेलबाट आफ्ना पिता भक्तलाललाई लेखेको अन्तिम पत्र—
 
बा !
 
तपाईँको आज्ञा पालन गरेर शान्तिसित बसुँला भन्ने लागेको थियो, सक्दै सकिनँ, म सक्दिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेको छु, सम्झिनुपर्ने पाठचााहिँ बिर्सनै आँटेछु ।
 
आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूका पहेँला मुखसित डराएर आँखा चिम्लन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु ।
 
अन्तःस्करणबाट आगो रुमलिएर आयो । केके असह्य भयो ! अब म सहन असमर्थ छु । जताततै कोलाहलको ज्वाला देख्छु, आफैँ सल्कन लागेको छ । मलाई त्यो निभाएर मर्न दिनुहोस् ।
 
तपाईँ मेरा पिता हुनुहुन्छ, तर हामी सबै जनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तब्यमा तपाईँको आज्ञाले म पछि हट्न सक्दिनँ । म तपाईँको आज्ञाले चुपचाप राष्ट्रको पाप बोक्न सक्दिनँ । अब मेरो माया मारिदिनुहोस् । मेरा अरू भाईहरू छँदै छन् । एउटा छोरालाई नेपाल आमाको निम्ति बलिदान दिनु होला भन्ने देशभक्त पुत्र गंगालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु।
 
बालक पुत्र गंगालालको दण्डवत् सेवा ।
 
chithi gangalal.jpg
वि.सं. १९९७ कार्तिक २ गते गंगालाल पक्राउ परेपछि उनको घरमा खान तलास गरी सिंहदरबारमा थुपारिएका कागजातबाट नाटककार बालकृष्ण समले एउटा चिठी पाएका थिए, जुन ‘सिद्धिचरण श्रेष्ठको जेल संस्मरण’ मा राखिएको छ ।
_______________
(‘ती गंगालाल’ शीर्षकमा सू्र्य थापाको लेख, कान्तिपुर दैनिक, ०७५ चैत ३ गते आइतबारबाट।)