
रामबिन्दु श्रेष्ठ
२७ जनवरी, १९४४ विश्व इतिहासमा यौटा महत्वपूर्ण दिन हो, मानव सभ्यताले त्राण पाएको यौटा दिन । दोस्रो विश्वयुद्धको त्रासदीहरुको उत्तर्राद्धको यस दिन सोभियत वीरहरुले ८७२ दिनको पूर्ण नाकाबन्दीबाट लेनिनग्राडलाई मुक्त गरेका थिए ।
लेनिनग्रादवासीहरूको साहस र उपलब्धिलाई विश्व मानव समुदायले जयजयकार गरेको दिन थियो - २७ जनवरी १९४४ ।
महान देशभक्तीपूर्ण युद्धको लडांइमा यस शहरले देखाएको अद्वितीय साहस र बहादुरीको लागि सन् १९४५ मई १ को दिन सोभियत सर्वोच्च कमाण्डरको आदेश नं.२० अनुसार पहिलो पटक लेनिनग्रादलाई हीरो शहर को उपाधिबाट सम्मानित गरियो।
मानवता विरुद्ध जघन्य अपराध गर्ने फासीवादबाट आफ्नो मातृभूमि र युरोपको मुक्तिको लागि आफ्नो जीवन अर्पण गर्ने सोभियत वीरहरूको निस्वार्थ त्याग र बलिदानको गाथा इतिहासमा संधै अमर रहनेछ ।
बाँकी #मेरा_सोभियत_सम्झनाहरू को पानाहरुबाट:
".........लेनिनग्राड भ्रमणकै सिलसिलामा हामी दोश्रो विश्वयुद्ध सम्बन्धि ऐतिहांसिक म्युजियम पुग्यौं । देशभक्तिपूर्ण लडाईको समयमा लेनिनग्राडलार्ई नाजीहरूले ८७२ दिन नाकाबन्दी गरेका थिए । बमवारी र भोकले यँहाका लाखौं जनता मरे । प्रत्येक नागरिकले दिनको १२५ ग्राम पाउरोटीले गुजारा गर्नुपर्ने दिनहरू नि आए । फासिष्टहरूले उपनगरहरूमा निर्दोष बच्चा, महिला र वृद्धहरूको हत्या गरे, झुण्डाए । संग्रालय, कलात्मक वास्तुहरू ध्वष्त पारे । तर पनि लेनिनग्राडका जनताले आत्मसमर्पण गरेनन् । त्यो त्रासदीपूर्ण समयमा पनि उनीहरूले आफनो डयूटी चालु राखे ।
लेनिनग्राडवासीहरूले आफ्नो शहर रक्षा गरेर सारा विश्वलार्ई त्याग, बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाए ।
सो म्युजियममा एकजना एघार वर्षीया बालिका ताच्याना साभिछेवाले नाकाबन्दीको शुरुदेखि लेखेकी डायरी रहेछ, जुन फोटो हाम्रो रुसी भाषाको पुस्तकमा राखिएको थियो । डायरीमा उनले भोक र शोकले मृत्यु भएका आफन्तहरूका मितिहरू श्रृंखलाबद्ध कोरेकी रहिछन् ।
जस्तैः .....झेन्या (दिदी) २८ डिसेम्बर १९४१ को १२.३० बजे मरिन, हजुर आमा २५ जनवरी १९४२ को ३ बजे मरिन, लेका (दाजु) १७ मार्च १९४२ को विहान ५ बजे मरे । काका मास्या १३ अप्रिल १९४२ राती २ बजे मरे, काका लेशा १० मइ १९४२ दिउँसो ४ बजे, आमा १३ मइ विहान ७ ३० बजे १९४२ मा ।.

......
दिदी निना र दाजु मिखाइलको जीवन–मृत्यु बारे अनभिज्ञ रहेकी तान्याले तिनीहरू पनि मरेका ठानेर डायरीका पछिल्ला तीन पेजहरू यसरी भरिनः..... साभिछेबहरू (परिवारहरू) मरे । मरे सबै । बाँकी रहिन् एकजना तान्या । त्यसैगरी सो संग्राहलयमा नाकाबन्दीताकाको १२५ ग्राम पाउरोटी पनि प्रदर्शनमा राखिएको थियो । युद्ध संवन्धि यी हृदयविदारक ऐतिहासिक तथ्यहरूको अवलोकनपछि दिँंउसो तीन बजे हामी कोठा फर्कियौं ।

यात्राको सातौँ दिन पनि हामी लेनिनग्राड घुम्यौँ । यो शहर हेरेर कहिल्यै नअघाइने । मेट्रो र बस चढयौँ । बाल्टिक सागर हेर्न गएको त चिसोले जमेको रहेछ । साँझको खाना खाएर फर्कियौं । सबै साथीहरू आ–आफ्नो शहर फर्केकाले होस्टल सुनसान थियो । हाम्रो पनि राति ११.३३ बजे मस्कोको टिकट थियो । सात दिन प्यारो लेनिनग्राड बसियो, उनको कलात्मक चित्ताकर्षक रुप देखियो अनि मिलनसार सफा हृदय भएका मान्छेहरू भेटियो । जाने बेला उनको औधि माया लाग्यो । ..........."
साभार - रामबिन्दु श्रेष्ठकाे मुहारपुस्तिका