शनिबार, आश्विन १७ गते २०८३

बालाजु पार्कमा निर्मित ग्राउण्डवाटर रिचार्ज प्रणाली महानगरलाई हस्तान्तरण

माघ १०, २०८० बुधबार
बालाजु पार्कमा निर्मित ग्राउण्डवाटर रिचार्ज प्रणाली महानगरलाई हस्तान्तरण

 

काठमाडौँ महानगरपालिका १६ स्थित बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौँ महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कोका–कोला बेभरेज नेपालले सेन्टर फर इन्टिग्रेटेड अर्बन डेभलपमेन्ट र वाटरएड नेपालसँगको साझेदारीमा बालाजु पार्कमा निर्माण गरेको ग्राउण्डवाटर रिचार्ज प्रणालीको सफल परिक्षण गरेको हो ।

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोललाई एक कार्यक्रमकाबीच उक्त प्रणाली हस्तान्तरण गरिएको हो । कोका कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटर एड नेपालले संयुक्त रुपमा सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु गरेकाे उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो ।

उक्त रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् ।  उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ ।

यस परियोजनाले बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ ।