बीमा प्राधिकरणले बीमकको सूचना एकीकृत गर्ने भन्दै इन्सुरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिष्टमको व्यवस्था गरेको छ ।प्राधिकरणले नियामक तथा बीमकसँग सम्बन्धित तथ्यांक व्यवस्थित र प्रभावकारी बनाउन, सूचना तथा तथ्यांकमा पारदर्शिता ल्याउनका लागि उक्त आईआरएमआईएस पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ ।
त्यसका लागि प्राधिकरणले आईआरएमआईएस सम्बन्धी मार्गदर्शन–२०८० समेत जारी गरेको छ । सबै बीमा तथा पुनर्बीमा कम्पनीलाई सो पोर्टलमा अनिवार्य जोडिनुपर्ने व्यवस्था प्राधिकरणले गरेको हो ।
मार्गदर्शनअनुसार प्राधिकरणले माग गरेका तथ्यांकहरु बीमा कम्पनीहरुले सोही पोर्टलमा प्रविष्ट गर्नुपर्ने छ । यसका लागि प्राधिकरण र बीमक कम्पनीका लागि छुट्टै आइडी हुनेछ । प्राधिकरणका अनुसार बीमकले पोर्टलमा लगइन गरेर आवश्यक सूचना तथा तथ्यांक लिन र दिन दुवै पाउने छन् ।
प्राधिकरणले आईआरएमआईएस पोर्टलबाट प्रविष्ट गरिएको तथ्यांक वास्तविक नभएमा वा गतल तथ्यांक प्रविष्ट गरेमा प्राधिकरणले पोर्टलबाटै हेरेर कारबाही गर्न सक्नेछ ।