बिश्वभरी नै आजको सूचना तथा संचार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्वाध छाइसकेको छ । यसको अपेक्षित अनपेक्षित प्रत्यक्ष घुसपेठका साथै हाम्रो जीबनमा कामका नयाा नयाँ श्रृंखलाहरु पनि पैदा भइरहेका छन् भने पुराना कामहरुको स्वरुप पनि परिबर्तन हुँदै गइरहेका छन् । आजको संसारमा यी सबै कुराहरुको सूत्रधार भने कम्प्युटर नै हो । जुन कम्प्युटरको अबतरण हाम्रो परिवेशमा अनेक रुपमा भइसकेको र भइरहेको छ। तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इण्टेलिजेन्स’ को ब्यवस्था हो, जस अन्तरगत भिन्न भिन्न किसिमका समस्याहरुको समाधान खोजिने या समाधान गरिने गरिन्छ । वास्तवमा स्थिति के छ भने केवल अध्ययन अनुसन्धान मात्र होइन, बिश्वका देशहरुको अर्थव्यवस्था र सामरिक शक्ति लगायतका सब कुरा त्यस देशको कम्प्युटरको क्षेत्रमा निपूर्णता र दक्षतामाथि निर्भर हुन पुगेको या भइसकेको अबस्था बनिसकेको छ । त्यसैले सञ्चार र प्रबिधिन आजको बिश्व बिकासको सबैभन्दा महत्वपूर्ण सांकेतक बनेकोछ ।
हुन पनि कम्प्यूटरका शब्दाबलीको हिसाब–किताब पनि अद्भूत र आश्चर्यकारी रहेको छ । सामान्य उदाहरणका लागि ‘डाउन लोड’, ‘अप लोड’ गर्नु (जसको नेपाली अनुबाद ‘उतार्नु र चढ्नु हुनेछ,) यो यस्तो कृयाकलाप हो, जसले गर्दा एक छिन मै मानिस सारा संसारसँग जोडिन पुग्दछ या जोडिने क्षमता प्राप्त गर्दछ । हामीले सूचनाका साथ ‘लक, सेलेक्ट, टेक,डिलिट, कपी, पेस्ट, शेयर, फ्लिप, जुम, आदि जस्ता जेसुकै काम पनि कम्प्युटरमा सजिलै गर्न सकिन्छ । यस प्रकार आजको यथार्थ तस्वीर के छ भने कम्प्युटरको प्रयोग र प्रभावको क्षेत्र दिन दुना रात चौगुनाको हिसाले सर्बत्र बढ्दै गइरहेको छ । ज्ञानको क्षेत्र, खेलकूद, देशाटन, स्वास्थ्य, बजारको क्रय–बिक्रय र नागरिक सुबिधाहरु आदिसँग जोडिएका सारा प्रश्नहरुको उत्तर तथा समस्याहरुको समाधान पनि यसैको सहायताबाट आज प्राप्त हुन थालेका छन् । यतिसम्म कि अन्तरिक्षको यात्रा र अनुसन्धान पनि अब यस कम्प्यूटर यन्त्रको दायरामा आइसकेको छ ।

यो उन्नत प्रबिधिको बिकासले गर्दा कयांै प्रकारका नयाँ नयाँ ब्यबसाय पनि उत्पन्न हुन थालेका छन् । जीबन यात्रामा सूचनाको यो अभूतपूर्व उपस्थितले हामी संसारक सबै मानिसको जीवनमा पनि यसले आश्चर्यचकित तुल्याउने स्थिति उत्पन्न गरिरहेको र नयाँ नयाँ जिज्ञासा पैदा गरिरहेको छ । सूचनाको यो अतिरिक्त तथा त्यसको सरल तथा सहज हुँदै गएको उपलब्धताले शायद मानिसलाई आफ्नो बिराटताको पनि बोध गराउँछ । अनि यसका साथसाथै यसले जीवन्त संसारबाट काटेर मानिसलाई धुम्धुम्ती एकसुरे र एक्लो पनि बनाइरहेको छ । आज प्रायः सबै परिवारमा प्रत्येक सदस्यसँग सूचनातन्त्रसँग जोडिने आ–आफ्नो स्वतन्त्र ब्यबस्था रहन्छ । एण्ड्रोयड तथा एप्पल मोबाइलहरु सबैजसो सुबिधाहरुले सुसज्जित रहेका पनि हुन्छन् । कम्प्युटर पनि सजिलैसँग उपलब्ध हुन थालेका या भइरहेका छन् । त्यसले मनिसको काम र जीवनको यात्रा श्रृंखला नै भिन्नै बनाइदिएको र बनाइरहेको छ ।
आज सूचनाहरुका संसारमा हरेक किसिमका सूचनाहरु छन् र यसमा के कुराको पुरै छुट हुन्छ भने राम्रा नराम्रा, नैतिक अनैतिक कुन सूचना छनौट गर्ने हो र कोसँग के कति जोडिने या टाढा रहने हो, यी सबै कुरा कागजबाट उठाएर यो सूचना बहु सञ्जाललाई सुम्पिदिनु पनि आज कम खतरनाक छैन । सूचनाको तस्करी पनि छ, डकैति (ह्याकिङ्ग) पनि चलिरहेकै छ । ब्यक्तिगत जीवनमा सूचना–ब्यवस्थापन कत्तिको घातक हुन सक्छ भन्ने कुरा पनि खडा भएके छ । यो बितेका केही बर्षहरुमा ‘ब्ल्यूह्वेल गेम’का शिलशिलामा भएका दुर्घटनाहरुबाट यसले कस्तो स्थिति उत्पन्न हुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । कस्तो किसिमले ‘भर्चुअल रियालिटी (आभासी भ्रामक सत्यको संसार)ले मानिसलाई बाँधेर के के गर्न प्रेरित र प्रोत्साहित गरिरहेको छ या गर्न सक्दछ त्यसले प्रष्ट पारेको छ । त्यसको यो त्रासद उदाहरण या नमूना हो । जुन जुन रिपोर्टहरु पत्रपत्रिकामा यस सम्बन्धमा छापियो । तिनका पनि जुन आधा र अपूरा ब्यहोरा बाहिर प्रकाशमा आएका छन्, तिनकै आधारमा कुनै स्पष्ट र सामान्य निष्कर्षसम्म पुग्न अझैपनि मुस्किल छ । तथापि यस प्रकारका घटनाहरुबाट के लाग्दछ भने सूचनाको यो खेल आश्चर्यकारीे र त्रासद पनि छ । त्यसले जेसुकै पनि गराउन सक्तछ । टाढा टाढाका देशदेखि सूचना मार्गबाट नियन्त्रित ‘ब्लू ह्वेल’का खेलले बाल बच्चाहरुलाई कसरी बशिभूत गरेर बाध्ने गर्दछ र तिनलाई जे सुकै गर्न पनि बाध्य तुल्याउँदछ त्यो देखिएको छ । बाल बच्चाहरु खेलसँग जोडिने, सूचना पाउने र आकर्षित हुने र निर्देशन दिइएको हिसाबले दिएको काम गर्ने गर्दछन् र त्यसको चरम उत्कर्ष मृत्युलाई बरण गर्नुसम्मका घटनाहरु पनि हुन सक्तछन् । निश्चय नै ‘थ्रिल’ पनि यो खेलको एउटा पक्ष हो । त्यसलाई आफ्m्नो अनुभव अन्तरगत ल्याएर महसुश गर्नु क्षणिक नै भए पनि त्यो निकै उत्तेजक हुने गर्दछ । यति हदसम्म कि त्यसको परिणतिको अर्थ बुझ्ने र त्यसमाथि बिचार गर्ने समय र फुर्सद पनि हुदैन । यसले नयाँ नयाँ तरीकालाई जन्माउने र त्यसको प्रतिफलले ‘सेन्सेशन सिकिङ्ग’ को प्रबृत्तिलाई झल्काउने गर्दछ । जुन कुरा आज एकदमै बढ्दै गएको छ । आ–आफ्ना सूचनाका संसारमा हराएर परिबारका सदस्यहरु बच्चाका लागि सजिलै र सक्रियरुपले कम उपलब्ध हुने गरिरहन्छन् ।
अझ यी कुरा त्यसै पनि बिकसित समाजमा एक्लै निजीपनको अँध्यारो–उज्यालोमा अझ बढि नै रहेका छन् । आत्मलीन सभ्यताको स्वप्न ब्यक्तिको उत्कर्ष हो – उसको आफ्नो मर्जी ! उ जस्तो चाहन्छ त्यस्तै रहने, जस्तो चाह्यो त्यस्तै बाच्ने या मर्ने पनि उसकै खुशी । यस्तो समाज, परिवार सबैसँग काटिएर आफैमा हराउने किसिमको स्वप्निल सोच अन्ततः एकदम खतरनाक कुरा हो र हुनपुग्दछ नै । त्यसैले सूचनाको सञ्जाल तथा त्यसको उपयोग सकारात्मक र उपयोगी हुनु पर्दछ । पारिवारको स्तरमा त्यसको सन्तुलित उपयोग कसरी गर्ने गम्भीर रुपमा बिचार गरिनु पर्दछ । यसलाई राम्रोसँग बुझ्नु बुझाइनु पर्दछ कि परिवार र समाजतर्फ उन्मुख जीवन ब्यक्तिका बिरुद्ध हुँदैन । त्यसैले दुबैका यस्तो पारस्परिकतालाई ग्राह्य र सहज तुल्याइनु आज अत्याधिक अत्यावश्यक छ । अत्याधुनिक सूचना प्रणालीको बिकासलाई अत्याधुनिक किसिमले नै सहज र समुन्नत सामाजिक तथा बैयक्तिक जीवनका निम्ति सकारात्मक सदुपयोग गरिनु पर्दछ ,नकारात्मकताका निमित्त होइन । यो बिश्वका राष्ट्रहरु, समाज र परिबार समेतले राम्रोसँग बोध गर्नै पर्ने गम्भीर महत्वको कुरा हो ।
बिकासको चरम उत्कर्षमा पुगको आजको बिज्ञान र प्रबिधिको उन्नतिलाई बिश्व समाजको हितमा लगाइदा जति बढी फाइदा हुन्छ त्यसको दुरुपयोग गरिदा त्यत्तिकै भयावह स्थिति पनि उत्पनन हुन सक्दछ । त्यसैले आज बिज्ञान,ज्ञान र बिबेकको सन्तुलन अत्यन्तै संबेदनशील कुरा बन्न गएको । यसले मात्र सही दिशामा मानब समाजलाई सही किसिमले गतिशील तुल्याउन सक्दछ । आज बिश्व मानब समाजको ध्यान अन्य कुराका अतिरिक्त यस कुरामा केन्द्रित हुनुपर्ने देखिन्छ । अन्यथा सूचनाको यो बाढीले कहाँ लगेर हुत्याइदिन्छ कसैले पनि भन्न नसकिने स्थिति खडा हुन्छ । यो कम त्रासद कुरा होइन । बिकासले बिनाश ननिम्त्याओस् भन्ने कुरामा समयमै साबधान बन्नु समस्याको सही र बैज्ञानिक किसिमले समाधान खोज्नु आजको सर्बोपरी र प्राथमिक महत्वको कुरा हो ।