शनिबार, आश्विन १७ गते २०८३

भारत र बेलायत बाहेकका राष्ट्रमा सैन्य सेवामा प्रवेश गैर कानुनी एवं राष्ट्रहित विपरीतः गृह मन्त्रालय


माघ ९, २०८० मंगलबार
भारत र बेलायत बाहेकका राष्ट्रमा सैन्य सेवामा प्रवेश गैर कानुनी एवं राष्ट्रहित विपरीतः गृह मन्त्रालय

सरकारले भारत र बेलायत बाहेकका राष्ट्रको सैन्य सेवामा प्रवेश गर्नु गैर कानुनी एवं राष्ट्रहित विपरीत रहेको जनाएको छ । गृह मन्त्रालयले मंगलबार एक ट्राभल एड्भाइजरी जारी गर्दै भिजिट भिषा बनाएर वा कुनै तरिकाले अनधिकृत रूपमा कुनै देशकाे सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा व्यक्ति स्वयंले लिनुपर्ने प्रष्ट पारेको हाे। 


सरकारले जारी गरेको एडभाइजरीमा भिजिट भिसामा यात्रा गर्ने यात्रीहरूले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरूसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्नेजस्ता गतिविधिमा संलग्न भएको पाइएपछि सरकारले ट्राभल एडभाइजरी जारी गरेको जनाएको छ। 

पछिल्लो समय भिजिट भिसामा गएर अनधिकृतरूपमा रुसी सेनामा भर्ना हुने क्रम बढेकाे र मध्ये केहि नेपाली रूस–युक्रेनबीचको युद्धमा मारिपछि सरकारले यस्तो सूचना जारी गरेको हो। 

एड्भाइजरीमा विभिन्न देशमा घुम्न, उच्च शिक्षा लिन र रोजगारी गर्न जानेहरूले सम्पूर्ण कागजात पूरा गरेर र गन्तब्य राष्ट्रको अवस्थाका बारेमा पूर्ण जानकारी लिएर जान सुझाव दिइएको छ ।