शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवमा रक्तदान र प्रभातफेरि


माघ ७, २०८० आइतबार
राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवमा रक्तदान र प्रभातफेरि

 

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवका पूर्वसन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरु तथा विभिन्न शाखा कार्यालयहरुबाट ‘वित्तीय साक्षरताका लागि प्रभातफेरी’ कार्य गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलीप कुमार ढुङ्गाना तथा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सर्वसाधारण प्रति बैंकिङ्ग संचेतना प्रदान गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको जनाए ।

बैंकको केन्दीय कार्यालयबाट शुरु भएको उक्त कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि बैंकको लोगो अंकित विभिन्न प्लेकार्ड बोकेर बाजागाजा व्यानर सहित भद्रकाली, शहिदगेट, न्युरोड गेट, रत्नपार्क, बागबजार, पद्यकन्या कलेज, पुतलीसडक, पद्योदय मोड, राष्ट्रिय सभा गृह र पुन: भद्रकाली हुदैं केन्द्रीय कार्यालयमा पुगेर समापन भएकोे थियो ।

वार्षिकोत्सवकै अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा भएका रक्तदान कार्यक्रममा ४७७ जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवको अवसरमा बैंकले प्रभातफेरी कार्यक्रम, स्वास्थ्य परीक्षण, फुटसल, क्रिकेट, टेबलटेनिस, ब्याडमिन्टन, म्युजिकल चेयर्स, चेस, हाजिरी जवाफ जस्ता कार्यक्रम आयोजना गरिरहेको छ । 

माघ १० गते बैंक ५८ वर्ष पूरा गरी ५९ औं वर्षमा प्रवेश गर्दैछ । बैंकका ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८६ वटा शाखा कार्यालय, ७० वटा एक्सटेन्सन काउन्टर, ३०० वटा एटिएम र १०२ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।