रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत लागि दैनिक ५ शिफ्टमा भाषा परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।
अत्यधिक आवेदन परेपछि वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यस पटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न कठिन परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षाका लागि अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखालाई भाषा परीक्षा व्यवस्थापन गर्न कठिन भएको हो ।
इपिएस शाखा र कोरिया मानव संसाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेको जनाइएको छ । कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
शाखाका निर्देशक मैयाँ कँडेलले यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आउँदो ६ गतेदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयारी गरिएको जानकारी दिइन्।
शाखाले दैनिक चार चरणमा आठ सय जनाले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएको तर परीक्षार्थी धेरै भएकाले एक ‘सिफ्ट’ थपेर पाँच वटा पुर्याउने तयारी गरेको उनले बताइन् । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा ‘युविटी टेस्ट ट्याब’ जडान गरेर भाषा परीक्षा लिइँदै आएको थियो ।
भाषा परीक्षामा एक लाख ६४ हजारभन्दा बढी सहभागी हुने भएपछि त्यहाँ रहेको पूर्वाधारबाट समयमा परीक्षा नसकिने भएपछि थप परीक्षा सामग्री माग गरेको उनले जानकारी दिइन् । एचआरडी कोरियाले यसका लागि चाहिने उपकरण कोरियाबाट ल्याउन पत्राचार गरेको उनले जानकारी दिइन् ।
इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइने छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको छ ।