आइतबार, कार्तिक ९ गते २०८३

हिमालयन बैंकको ३१ औं साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड श्रेष्ठ


माघ १, २०८० सोमबार
हिमालयन बैंकको ३१ औं साधारण सभा सम्पन्न, अध्यक्षमा प्रचण्ड श्रेष्ठ

हिमालयन बैंकको एकतीसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष   प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरु सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष  प्रचण्ड बहादुर श्रेष्ठले आर्थिक वर्ष २०७९÷०८० को      प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष  श्रेष्ठले समीक्षा वर्षमा सिभिल बैंकलाई प्राप्ति गरी एकिकृत कारोबार सुरु गरेको तथा तत्कालिन सिभिल क्यापिटल मार्केट लिमिटेडलाई पनि बैंकको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले प्राप्ति गरी एकिकृत कारोबार सुरु गरिसकेकको जानकारी दिए । यसका साथै उनले सिभिल लघुवीत्त वित्तीय संस्थाको नाम परिवर्तत गरी यस बैंकको सहायक कम्पनी हिमालयन लघुवीत्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार संचालन गरिरहेको उनको भनाई छ ।  बैंकले निकट भविष्यमा आफ्नो सेवा विस्तारलाई ध्यानमा राखी धितोपत्र सम्बन्धी कारोबार गर्न हिमालयन सेक्युरिटिज लिमिटेडको नाममा अर्को सहायक कम्पनी दर्ता गरी कारोबार सुरु गर्न नियामक निकायबाट स्वीकृति प्राप्त   गर्ने प्रक्रियामा रहेको जानकारी गराए । 

 बैंकले आ.व. २०७९/८० को अन्त्य सम्म प्राप्ति सहित रु. २ खर्ब ७८ अर्ब ५२ करोड निक्षेप  संकलन र रु. २ खर्ब ४२ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।  जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६२.४२ र ५५.१७ प्रतिशतले बढी हो । उक्त साधारण सभाले बैंकले आफ्नो कुल शेयर पुँजीमा आवश्यक सर्वसाधारण शेयरधनी शेयर अनुपात कायम गर्नका लागि अङ्कित मुल्यमा प्रिमियम थप गरी साधारण शेयर थप सार्वजनिक निष्काशन गर्ने तथा उक्त थप सार्वजनिक निष्काशनको संख्या निर्धारण गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ । 

उक्त सभामा हिमालयन बैंकको संचालक समितिमा संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गर्ने ५ जना  संचालक पदमा   प्रचण्ड बहादुर श्रेष्ठ,   फरहान तलिव,   जितेन्द्र धिताल,   सुनिल बहादुर थापा र  प्रताप जंग पाण्डे निर्बिरोध निर्वाचित भएका छन् ।  सर्बसाधारण शेयरधनीको तर्फबाट   आशिष शर्मा निर्विरोध निर्वाचित भएक छन् । त्यसैगरी बैंकको   संचालक समितिको बैठकले नव नियुक्त संचालकहरु मध्ये   प्रचण्डबहादुर श्रेष्ठलाई सर्वसम्मत रुपमा आगामी ४ वर्षका लागि बैंकको अध्यक्षमा नियुक्त गरेको छ ।