वि.स. ४०–५० को दशकमा जताततै ‘थाहा’ लेख्दै हिँड्ने जनचेतना अभियानका स्वतन्त्र वामपन्थी नेता रुपचन्द्र विष्ट (वि.सं. १९९०–२०५६) को पुस २६ गते उनका शुभेच्छुकहरू जन्मदिन मनाउने गर्छन् । उनको जन्मभूमि र कर्मभूमीको नामकरण उनको जनचेतना अभियान- 'थाहा' बाटै गरिएको छ, मकवानपुरको थाहा नगरपालिका ।
न्वारानको नाम केदारबहादुर भएका यिनका पिता पदमबहादुर तथा माता चित्रकुमारी खातापिता बाबुआमा थिए, तर यिनी १० वर्षकै उमेरमा घरबाट भागेर काठमाडौँ आई घरेलु कामदारको रुपमा केही समय बिताए । ७ महिना ट्रकको खलासी काम पनि गरे । सिमभन्ज्याङ्गमा बाख्रापालन गरे । दामनमा होटल तथा रेस्टुरेन्ट समेत चलाए । २६ वर्षको उमेरमा मात्र एस.एल.सी. परीक्षा उत्तीर्ण गरे । माध्यमिक विद्यालयमा प्रधानाध्यापक भए । २०२८ सालमा आफन्तसँग कुरा गर्दागर्दै जुरुक्क उठेर देवघाटमा गई नारायणी नदीमा हामफालेको एक वर्षसम्म उनी हराए । कुनै साधुको अखडामा बसे । एक वर्षपछि लामालामा दाह्री–कपालका साथ देखापरे ।
वि.सं. २०१५ सालको आमनिर्वाचनमा स्वतन्त्र उम्मेदबार भएका थिए, ४९५ (छैठौँ बढी) मत पाएर पराजित भए । २०१९ सालमा काठमाडौँको कालिमाटी क्षेत्र गाउँ पञ्चायतका रुपमा हुँदा प्रधानपञ्च निर्वाचित भएका थिए, तर सरकार बिरूद्ध बोलेकोले ३ वर्ष भूमिगत भए । पञ्चायतकालमा २ पटक प्रधानपञ्च र २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित पनि भए । ‘जनशक्ति जनहितमा जारी’ अभियान उनको गाउँघरमा वस्ती विकास र सुधार कार्यक्रम थियो । उमा शाहसँग बिहे, २ छोरीपछि पारपाचुके गरेका रुपचन्द्रले राजा वीरेन्द्र हेटौँडामा गएको बेला भेटमा एउटा मुक्तक लेखेर राजालाई दिएछन–
चार माना माटोसँग
तेरो नाता पस्यो भनेर
माटाको भाँडाले तँसँग
दोस्ती–स्वस्ती गर्यो भनेर
बसिस कैद गमलामा
सिङ्गै पृथ्वीलाई छोडेर !
बोलचालमा यिनी जसलाई पनि ‘तँ’ भनी संवोधन गर्दथे । ‘भाते नेपालीलाई भात खान पाए केही चाहिँदैन’, ‘थाहा पाईराख भाते’ उनका बोल्ने बान्की वा शैली थिए । नयाँ सडक (काठमाडौँ) को नवीन प्रेसमा आईरहने यिनीसँग मेरो एकताका सँधैजसो भेट हुनेगर्दा मैले पनि ‘तँ’ नै भनेर धेरैपटक बहस गरेको छु । उनी मलाई ‘नालीको पानीले नुहाएर पवित्रताको गफ लगाउने भाते’ भनेर हाँस्थे भने म उनलाई ‘दायित्वबिनाको सामाजिक बौलाहा’ भन्नेगर्थेँ ।

एकपटक आफ्नै निर्वाचनक्षेत्रबाट कसैले सिफारिश माग्न आएछ । उनले सिफारिशमा लेखेछन्— “यो भाते निवेदक सिफारिश माग्दैछ, यो योग्य छ भने यसैलाई दिनु, योभन्दा योग्य कोही आए उसैलाई दिनु, जनमुखी सहकर्मी” ।
पञ्चायतका निकायमा बसेर यिनले राजनीति गरे, तर पञ्चायतप्रति आस्था देखिँदैनथ्यो । राजाको नेतृत्वलाई उनले कविताद्वारा भन्नेगर्थे–
पैसाबाट सत्य,
पदबाट इन्साफ
सौखबाट विकास
विदेशीबाट राष्ट्रियता
रन्डीबाट इमान
गुण्डाबाट राजनीति
शासकबाट प्रजातन्त्र पाइन्छ
भन्नेले लगाउँछन्,
चितुवालाई बाख्राको गोठालो ।
जागृत रायमाझी निर्माता भएर अमितकिशोर सुवेदी र विकास ढकालले उनको नाम, व्यक्तित्व र जीवनीमा आधारित ‘रूदाने : विद्रोहको नेपाली नाम’ को सिनेमा बनाए । असार १७ गते उनको निधन भयो । यिनका विचार राम्रोसँग पर्गेल्न सक्नेमा बरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी र उनैका सहयोगी तथा चेस पार्टनर समय बज्राचार्य थिए । मैले पनि राम्रैसँग चिनेको थिएँ ।
साभार : गौतमजीको मुहारपुस्तिका
चन्द्रमणि गाैतम