कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० औद्योगिक क्षेत्रमा ३ अर्ब ९८ करोड ६१ लाख कर्जा प्रवाह गरेका छन् । गत आर्थिक बषर्को तुलनामा उक्त कर्जा प्रवाह ८.४७ प्रतिशतले बढी रहेको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको बार्षिक आर्थिक गतिविधि अनुसार आ.ब. २०७८÷७९ मा बैंक तथा वित्तीय संस्थाले उक्त क्षेत्रमा ३ अर्ब ६७ करोड ४७ लाख कर्जा प्रवाह गरेका थिए । समीक्षा वर्षमा कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा सबैभन्दा बढी २०.८८ प्रतिशतले वृद्धि भएको छ भने खानी सम्बन्धी उद्योगमा प्रवाहित कर्जामा सबैभन्दा बढी २७.३९ प्रतिशतले ह्रास आएको अध्ययन प्रतिवेदनले औल्याएको छ । बिद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जा १४.३३ प्रतिशतले, गैरखाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ११.० प्रतिशतले र निर्माण सम्बन्धी उद्योगमा प्रवाहित कर्जा ६.१० प्रतिशतले बढेको छ भने धातुका उत्पादन, मेसिनरी तथा ईलेक्ट्रोनिक उद्योगमा प्रवाहित कर्जामा १३.०५ प्रतिशतले ह्रास आएको छ । समीक्षा वर्षमा कुल औद्योगिक कर्जामध्ये निर्माण सम्बन्धी क्षेत्रको अंश सबैभन्दा बढी २८.९९ प्रतिशत र खानी सम्बन्धी क्षेत्रको अंश सबैभन्दा कम १.८८ प्रतिशत रहेको छ ।
त्यसैगरी, गैर खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योग, कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योग, धातुका उत्पादन मेसिनरी तथा ईलेक्ट्रोनिक्स सम्बन्धी उद्योग र विद्युत, ग्याँस तथा पानी सम्बन्धी उद्योगले कुल औद्योगिक कर्जाको क्रमशः २८.७० प्रतिशत, २८.०५ प्रतिशत, ८.६७ प्रतिशत र ३.७१ प्रतिशत हिस्सा ओगटेका छन्। समीक्षा वर्षमा कर्णाली प्रदेशमा औद्योगिक कर्जाको उपयोग रुकुम पश्चिम, सल्यान, सुर्खेत, मुगुर डोल्पा जिल्लामा क्रमशः २७.८६ प्रतिशत, १७.२९ प्रतिशत, १३.७९ प्रतिशत, ९.७६ प्रतिशत र ४.४२ प्रतिशतलेवृद्धि भएको छ भने बाँकी दैलेख, हुम्ला, कालिकोट, जाजरकोट र जुम्ला जिल्लामा औद्योगिक कर्जाको उपयोग क्रमशः १९.०४ प्रतिशत, १८.९६ प्रतिशत, १५.६२ प्रतिशत, ६.८५ प्रतिशत र ६.१४ प्रतिशतले घटेको देखिन्छ । आ.व. २०७९÷८० मा सुर्खेत जिल्लामा सबैभन्दा धेरै रु.२ अर्ब ६१ करोड ४७ लाख औद्योगिक कर्जा उपयोग भएको छ भने सबैभन्दा कम रु.८८ लाख डोल्पा जिल्लाले उपयोग गरेको छ ।
नेपालपत्र संवाददाता