शुक्रबार, कार्तिक ७ गते २०८३

जसरी सूर्य र चन्द्रमा निर्वाध तरिकाले आफ्ना मार्गमा चलिरहेका छन्, त्यसैप्रकार हामी पनि कल्याणमार्गमा हिडौँ, ----महर्षि अत्रि


पौष १९, २०८० बिहीबार
जसरी सूर्य र चन्द्रमा निर्वाध तरिकाले आफ्ना मार्गमा चलिरहेका छन्, त्यसैप्रकार हामी पनि कल्याणमार्गमा हिडौँ,   ----महर्षि अत्रि

चित्रकुट तपोवन निवासी महर्षि अत्रि धर्मशास्त्रका महान् प्रवर्तक, वैदिक मन्त्रद्रष्टा ऋषि हुन् । पुराणहरूमा यिनको उत्पत्ती र उदात्त चरित्रको एकदमै सुन्दर शैलीमा वर्णन गरिएको छ । यिनलाई सप्तर्षि– १. कश्यप, २. अत्रि, ३. भारद्वाज, ४. विश्वामित्र, ५. गौतम, ६. यमदग्नि र ७. वशिष्ठभित्र लिईन्छ ।

एक हजार सूक्तहरू भएको सम्पूर्ण ऋग्वेदलाई दस मण्डलमा छुट्याईएको छ । प्रत्येक मण्डलका मन्त्रहरूका ऋषि छुट्टाछुट्टै छन् । ऋग्वेदको पाँचौं मण्डलका द्रष्टा महर्षि अत्रि हुन् । त्यसैले यो मण्डललाई ‘आत्रेय मण्डल’ भन्ने गरिन्छ । यस मण्डलमा कल्याण, मंगल र श्रेयसूक्तहरू छन्; जो शुभकार्यहरूमा सस्वर वाचन गरिन्छन् ।

महर्षि अत्रिले कृषि विकासमा पृथु र ऋषभकै तरिकाले योगदान पुर्याए । अत्रिकै सन्तान सिन्धु नदी पार गरेर पारस वा फारस (आजको ईरान) पुगे । त्यहाँ उनीहरूले यज्ञको महत्वबारे प्रचार गरे । अत्रिगोत्रीयहरूकै कारण ईरानमा अग्निपूजक पारसी धर्मको सूत्रपात भएको वर्णन छ ।

अत्रि ऋषिका सन्तानका रुपमा अत्रिगोत्रीयहरू धेरै छन् २१ थरका– गौतम, ओझा, मिश्र, साह, खतिवडा, मल्ल, चापागाईँ, वस्ती, ठाडाराई–अधिकारी, रावल, कठायत, खड्का, आले–मगर, कडरिया, पाठक, जोशी, श्रीमल, डोट्याल, थापा, उपाध्याया र पहारी ।

अत्रि ब्रह्माका छोरा र सोमका पिता थिए, जो ब्रम्हाका आँखाबाट उत्पन्न भएका थिए । अत्रिले प्रजापति कर्दम तथा देवहूतिकी छोरी अनुसूयासँग विवाह गरेका थिए । अत्रि र अनुसूयाका तीन पुत्रमध्ये महायोगी दत्तात्रेय विष्णुको अंशका रुपमा, ब्रम्हाको अंशका रुपमा चन्द्रमा र शंकरको अंशका रुपमा महामुनि दुर्वासा भएर जन्मे । देवी अनुसूया पतिव्रताहरूकी आदर्श नारी र महान् दिव्यतेजले सम्पन्न पौराणिक नारी हस्ती हुन् ।

अनुसूयाले सीतालाई पतिव्रतको उपदेश दिएकी थिईन् । हाम्री आदिमाता यिनी कस्ती दिव्यतेज हुन् भने उनले आफ्नो पतिव्रतको शक्तिद्वारा शैव्या ब्राम्हाणीका मृत पतिलाई पुनर्जिवित गरेकी र बन्धनमा परेका सूर्यलाई बन्धनमुक्त गरेर संसारलाई प्रकाशवान् र तापवान बनाएकी थिईन् । अनुसूयाकै तपोबलद्वारा भागीरथी गंगा (नदी) को एउटा पवित्र धारा चित्रकूटमा प्रविष्ट भएर ‘मंदाकिनी’ नामबाट प्रसिद्ध भएको, पुराणहरूमा उल्लेख छ ।

अत्रिको आश्रम भारतको उत्तराखण्ड राज्यको चित्रकुटमा थियो, मन्दाकिनी नदी नजिकैको चित्रकुट अहिले सानो सहर भएको छ । त्यो भन्दा १५ किमी जति पर अत्रि ॠषि-पत्नी अनुसूयाको मन्दिर रहेको छ। त्यही आश्रम वरपर अत्रीका सन्तानहरू / अनुयायीहरूलाई आत्रेय भनिन्थ्यो । रामायण, महाभारत र विभिन्न पुराणमा समेत वर्णन गरिएको पवित्र धाम, वद्रीनाथ केदारनाथको सेरोफेरोमा रहेको सो स्थानमा हजारौं बर्ष पुरानो मानव सभ्यता रहेको छ । (यो अनुच्छेदको स्रोत : श्री केशव दुवाडी)

माथि उल्लखित वाणी, महर्षि अत्रिद्वारा सूत्रपात गरिएको ऋग्वेद, पञ्चम मण्डलको पन्ध्रौँ सूक्तको नेपाली रुपान्तर हो–

स्वस्ति पन्थामनु चरेम सूर्याचन्द्रमसाविव ।
पुनर्ददताघ्नता जानता सं गमेमहि...।

साभार : गाैतमजीकाे मुहारपुस्तिका