आठवर्ष लामो इन्डिया निर्वासन त्यागेर आफ्ना निकटतम सहयोद्धा, सर्वमान्य नेता गणेशमान सिंहका साथ २०३३ साल पुस १६ गते स्वदेश फर्किदाँ जननायक विश्वेश्वरप्रसाद कोइराला (वि.स.१९७१–२०३९) ले दिनुभएको सन्देशले आज पनि नेपालका राष्ट्रप्रेमी र प्रजातन्त्रवादीहरूलाई जागरुक बनाउँछ । माथिको वाणी उक्त सन्देशको एउटा अंश हो।
भारतले सिक्किम खाएको (२०३१ साल), नयाँ राष्ट्र बांग्लादेशको उदयका लागि भन्दा पनि पाकिस्तान टुक्य्राईदिने भारतीय नियतका साथ उसले गरेको सैनिक तथा आर्थिक सहयोग, अफगानिस्तानमा तत्कालीन सोभियत संघले चर्काएको शासकीय अस्थिरता, सत्तापलट र आखिर अफगानिस्तानमा १ लाख सेनासहित सोभियत संघको उपस्थिति र कठपुतली राष्ट्रपति बर्बाराक कर्मालको संरक्षण, ईरानमा राजतन्त्रको उन्मूलन र धर्मान्ध खुमेनीको उदयजस्ता घटनाहरूले विश्वभरि नै साना राष्ट्रहरूको अस्तित्व र अमनचैनको सवाल उठिरहेको अवस्थामा बीपी तथा गणेशमानजी ‘राष्ट्र पहिलो’ भनी राष्ट्र जोगाउने लक्षले निर्वासन त्यागेर स्वदेश फर्किनुभएको थियो ।
बीपीका परम् शुभेच्छुक सुवर्ण शम्शेरजी, लगायत भारतीय मित्रहरू (सर्वोदय नेता) जयप्रकाश नारायण, चन्द्र शेखर, कर्पुरी ठाकुर आदि सबैले स्वदेश फर्किनु साह्रै ठूलो खतरा भन्दै नेपाल नजान सल्लाह दिईरहेका थिए । स्वयं गणेशमानजी पनि “यस्तो बेलामा नेपाल जानु कालको मुखमा पर्नु, हिन्दुस्थानमै बस्नु मन्दविष पिउनु हो” भन्ने धारणामा हुनुहुन्थ्यो ।
आखिर बीपीले आफूमाथि फाँसीको फन्दाका रुपमा झुण्डिरहेका ८ वटा गम्भीर मुद्दालाई सिँढी बनाएर, पुसको पहारिलो अपरान्हमा पटनाबाट विमानमा काठमाडौँ ओर्लिनु भयो । उहाँले राजनेताउचित राष्ट्रप्रतिको जिम्मेवारी, उदात्त भावना र साहस देखाउनु भयो; सारा दुनिया आश्चर्यले चकित भयो । त्यो बेला सबैको ध्यान र चर्चा यही घटनाबाहेक अन्यत्र देखिँदैनथ्यो । नेपालको राजनीतिक इतिहासमा बीपीको देशभक्तिपूर्ण कदम स्वर्णाक्षरले अंकित छ ।
उहाँहरूलाई कसले के विरोध गर्र्यो अब त्यसको केही अर्थ छैन । त्यो बेलाको पञ्चायती फ्याउरे राष्ट्रवादको पनि महत्व छैन । त्यसपछि राष्ट्रिय राजनीतिले शनैशनै कोल्टे फेर्न थाल्यो र यस्तो अवस्था आयो कि नेताहरू स्वदेश फर्किएको साडेदुई वर्ष पनि नपुग्दै पञ्चायत जनमत संग्रहका लागि जनअदालतको कठघरामा पुग्यो। २०३६ सालम जेठ १० गते राजाले राजनीतिक व्यवस्था रोज्न जनमतसंग्रहको घोषणा गरे।
राष्ट्र जोगाउनका लागि नेतृत्वले मौकामा कसरी साहस देखाउनुपर्छ भन्ने विषयमा वर्तमान नेतृत्वमा रहेकाहरूलाई यो उदाहरणले प्रेरणा र उर्जा देओस् भन्ने कामनाका साथ । इति ।
चन्द्रमणि गाैतम