नेपाली लेखन क्षेत्रमा आख्यान नै बनेको ‘धेरै लेखे थोरै नाम, थोरै लेखे धेरै नाम’ भन्ने उक्ति कथाकार गुरुप्रसाद मैनाली, आयामेली कवि बैरागी काईँला लगायत कवि भूपि शेरचन (बि.सं. १९९३–२०४६) मा समेत पुग्छ । गद्य कविताका बेजोड हस्ताक्षर भूपि शेरचनले आफ्नो युगप्रवर्तक काब्य प्रतिभा ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रहमा प्रस्तुत गरेका छन् ।
शनिबार, पुस ५, ०७६ को दैनिक 'नयाँ पत्रिका'मा वनस्पति तथा वातावरणीय वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठले भूपि शेरचनका बारेमा देखे–भोगेको रमाईलो संस्मरणात्मक सामग्री प्रस्तुत गरेका थिए । उनी कवितामा मात्र होइन भाषणमा पनि चोटिला र घतलाग्दा विचार प्रस्तुत गर्ने विशेषताले चिनिन्छन् । डा. श्रेष्ठले नै उक्त लेखमा माथि प्रस्तुत विचारका साथै भूपिका प्रस्तुत अन्य भनाई टिप्न लायक छन्–
“कर्मचारीको धर्मै यस्तै हो, यिनीहरूले आउनेलाई ताली र जानेलाई गाली गर्छन् ।”
“सफल हुनलाई दुई ठाउँमा जान छोड्नु हुन्न, एउटा सलामी अर्को मलामी ।”
“छन्दमा लेख्ने कवि होइनन्, कालीगढ हुन् ।”
प्रसिद्ध गीतकारका रुपमा पनि भूपिलाई सम्झिनु पर्छ । प्रेमध्वज प्रधान तारादेवीले गाएको ‘यो नेपाली शीर उचाली....’, नारायण गोपालले 'भागी विवाह' गरी पेमलालाई लिएर पोखरामा केही अवधि बस्दा भूपीकै घरमा डेरा गरेका र त्यसबेला रचना गरेको र नारायण दाईले गाएको, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटैमा....’ उनैका रचना हुन् ।
कवि भूपिको जन्म, १२ पुस १९९२ सालमा टुकुचे हिमालको फेदीमा अवस्थित टुकुचे गाउँ (धवलागिरि अञ्चलको, मुस्ताङ जिल्ला) मा भएको हो । त्यो जमानाका प्रतिष्ठित व्यक्ति सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोरा, उनको खास नाम भूपेन्द्रमान शेरचन हो । आज पुस १२ गरे उनको जन्मजयन्ती हो ।
उनका काईला दाजु योगेन्द्रमान शेरचन नेपाली काँग्रेसका निकै प्रभावशाली नेता थिए । योगेन्द्रमानजीलाई मोटरले रहस्यमय तरिकाले किचेर हत्या गरिँदा भूपिले लामो कविता लेखेका थिए । ‘विश्वास गर त्यो सपना पक्कै पुरा हुनेछ’ शीर्षकको उक्त कवितामा योगेन्द्रमानजीलाई भाई कवि भूपिले ‘गान्धीजस्तो शान्त र आँधीजस्तो जल्दोबल्दो’ भनेका थिए :
अरूलाई बाटो देखाइरह्यो जीवनभरी
आफ्नो बाटोको कष्ट सोचेन उसले
सानैदेखि पूजापाठ गर्दथ्यो उ
जब कि उसकै पूजा गर्नुपर्दथ्यो
प्रगतिको शिखरमा पुग्दा उ मर्यो
जब कि अगतिहरूलाई मर्नुपर्दथ्यो ।
एउटा सुनौला बिहानीको सपना हेरेर
आठ वर्ष बन्दी गृहमा उसले बिताइदियो
अहिले घाम झुल्किएला कि भन्ने बेलामा
उ कहिल्यै नउठने गरी निदाईदियो ।......
(सर्वप्रथम ‘राष्ट्रपुकार’ साप्ताहिकमा २०२८ चैत्र १४ गते सोमबार प्रकाशित)
आफ्नो ४२ वटा प्रसिद्ध कविताको संग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ प्रकाशित भएकै समकालीन (२०२६ साल) स्थितिमा साहित्यकार उत्तम कुँवरलाई ‘स्रष्टा र साहित्य’ का लागि अन्तरवार्ता दिँदा कवि भूपि शेरचनले यो भनाई व्यक्त गरेका थिए ‘म दुइटा ‘क’ बाट पीडित छु । एउटा कविता र अर्को कम्युनिस्ट।’
भूपीजीको जीवनका करिब अन्त्यतिर एक साँझ उहाँलाई भेट्न निवास (नारायणचौर) गइयो । अक्सिजनको पाइप लगाइएका र अनेकौँ औषधी छेउमा राखिएको अवस्थामा कोठाभित्र पस्दै अभिवादनपछि मैले उहाँको स्वास्थ्यस्थितिबारे सोधेको थिएँ, ‘कविज्यू अहिले कस्तो छ ?’ छटपटीजस्तो कहिले सुत्दै कहिले बस्दै गर्नुभएका उहाँले मेरो जवाफ दिनुभयो, “को कवि ? म त मरिसकेको छु । औषधीहरूमात्र बाँचेका छन् ।” साथैमा हुनुभएकी म्याडमसँग एकछिन कुराकानी भयो र म हिँडेँ ।
०३५ सालतिर प्रज्ञा प्रतिष्ठानमा भेट भइरहने, गएपछि सँधै ‘चिया पिएर जानुहोस्’ भन्ने भूपीजीसँग मेरो अन्तिम संवाद त्यही दिनको थियो । उहाँको बारेमा विगत पत्रकारिताको क्रममा यथेष्ट कलम चलाउने मौका मिलेको थियो ।
हामी (कविता)
भूपी शेरचन
____
हामी जतिसुकै माथि उठौँ,
जतिसुकै यताउति दगुरौँ,
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी फगत् पानीको थोपा हौँ
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौ
र बादल बन्छौँ,
हावाको इसारामा यताउति दगुर्छौँ
र आफूलाई गतिशील भन्ठन्छौँ,
अनि एक चाेटी माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सर्न्छौँ
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुकेझैँ
हामी भुक्तछौँ
र आफ्नो कुकुरभुकाइलाई गर्जन भन्ठान्छौँ
अनि अन्त्यमा एक दिन बर्सेर चकनाचूर हुन्छौँ
र फेरि परिणत हुन्छौँ पानीका थोपाहरुमा
निर्बलिया थोपाहरुमा
र कुनै इनार, खाडल वा पोखरीमा
कुहेर विताउँछौँ बाँकी जीवन
टर्र टर्र टर्टराउने घिनलाग्दा भ्यागुताहरु पालेर,
विष नभएका साँपहरु अँगालेर
हामी जतिसुकै माथि उठौँ
जतिसुकै यताउति दगुरौ
जतिसुकै ठूलो स्वरमा गर्जौ
तर, हामी भित्र–भित्रै खोक्रा छौँ
हाम्रो उठाइको कुनै महत्व छैन,
हाम्रो दगुराइको कुनै लय छैन,
हाम्रो गर्जनको
पानीमा फालिएको अगुल्टोको ‘छ्वांइय’ भन्दा बढी वजन छैन।
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्र निरन्तर खिइदै र घिस्सिदै गइरहेका छौँ
हाम्रो बाहिरको उचाइ झुटा हो,
भ्रम हो
अग्लो टाकुरामा उम्रेका च्याउका उँचाइभन्दा
यसको बर्ता महत्व छैन
वा दुइटा अग्ला बाँस खुट्टामा बाँधेर हिँड्ने
भारतीय चटकेको उँचाइभन्दा यसको बढी विशेषता छैन
अग्लो चुच्चे टोपी लगाई नाच्ने
सर्कसको जोकरको उँचाइभन्दा यसको बढी विशेषता छैन
हामी बाहिरको उँचामा रमेका छौँ, लट्ठिएका छौँ, फुलेका छौँ
तर, हामीले आफ्नो आस्थाको द्वीपमा
निरन्तर खिइदै र घिस्सिदै गइरहेको कुरालाई भुलेका छौँ
हीनताको सानो द्वीपमा पछारिएर
हामीले आफ्नो पूर्वस्मृति गुमाइसक्यौँ
हामीले आफ्नो विगत उँचाइलाई बिर्सिसक्यौँ
हामीले मानिसको सामान्य उँचाइलाई बिर्सिसक्यौँ
हामीले सामान्य मानिसको उँचाइलाई बिर्सिसक्यौँ
त्यसैले जब कुनै सामान्य मानिस
कथामा वर्णित ‘गुलिभर’ झैँ
आई पल्टन्छ हाम्रो आस्थाको द्वीपमा
हामी छक्क परेर उसलाई हेर्छौ
हामी उसलाई हेरेर छक्क पर्छौ
हामीलाई उसको उँचाइ देखेर आश्चर्य लाग्छ
हामीलाई आफ्नो पुड्काई देखेर डर लाग्छ
र त हामी आफ्नो हीन भावनाका
सियो जत्रा स–साना हतियारहरुको उसमाथि
प्रहार गर्छौ
उसको अङ्ग–प्रत्यङ्गमा चढ्छौँ
उफ्रन्छौँ
टोक्छौँ
चिमोट्छौँ
र अन्त्यमा थकित भएर तल ओर्लन्छौँ
शान्त हुन्छौँ
समर्पित हुन्छौँ
र कुनै ठूलो चट्टानमाथि उर्लेर समुद्रको छालले
तत्काल ओर्लेर त्यसको पाउ पखालेझैँ
हामी पुज्न थाल्दछौँ त्यो साधारण मानवलाई
महान् भनेर
हामी बाहिरबाट जतिसुकै उच्च देखिए तापनि
भित्र–भित्रै निरन्तर खिईदै गइरहेका छौँ
हामी ‘लिलिपुट’का मानव हौँ।
हामी लघुमानव हौँ।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपनैँ,
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने,
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रङ्ग–रोगन छुटेका,
टुटेका, फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौँ
एउटा मनोरञ्जक खेलका सामग्री,
एउटा खेलाडीमाथि आश्रित
आफ्नो गति हराएका
एउटा ‘स्ट्राइकर’ द्वारा सञ्चालित
हो, हामी मानिस कम र बर्ता गोटी हौँ।
________________
- भूपि को कविता संग्रह, 'घुम्ने मेचमाथि अन्धो मान्छे' को 'हामी' शीर्षक कविताको एक अंश
साभार : गाैतमजीकाे मुहारपुस्तिका
चन्द्रमणि गाैतम
