–माओ त्सेतुङ
सही विचार आखिर कहाँबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? होइन । के ती हाम्रो दिमागमा स्वाभाबिकरुपले पैदा हुने गर्दछन् ?? होइन । ती सामाजिक ब्यबहारबाट, अनि केवल सामाजिक ब्यवहारबाट नै पैदा हुन्छन्, ती तीन किसिमका समाजिक ब्यवहारबाट पैदा हुन्छन्– उत्पादन–संघर्ष, बर्ग–संघर्ष र बैज्ञानिक प्रयोगबाट पैदा हुन्छन् । मानिसको सामाजिक अस्तित्वले नै उसका बिचारहरुको निर्माण गर्दछ । जहाँ एक पटक आम जनताले अघि बढेको बर्गको सही बिचारकहरुलाई आत्मसात गर्दछन् ती बिचार एउटा यस्तो भौतिक शक्तिमा बदलिन्छन् जसले समाजलाई र संसारलाई नै बदल्ने गर्दछन् । आफ्नो सामाजिक ब्यबहारको क्रममा मानिसले बिभिन्न प्रकारका संघर्षहरुमा लागिरहेको हुन्छ र आफ्ना सफलता तथा असफलताहरुबाट सम्बृद्ध अनुभव प्राप्त गर्दछ । मानिसका पाँच ज्ञानेन्द्रियहरु – आँखा, कान, नाक, जीब्रो र छाला – को माध्यमले बस्तुगत बाह्य जगतका असंख्य घटनाहरुको प्रतिबिम्ब उसको मस्तिष्कमा पर्दछ । ज्ञान शुरुमा इन्द्रियग्राह्य हुन्छ । धारणात्मक ज्ञानले अर्थात बिचारहरुको स्थितिमा त्यतिबेला छलाङ्ग मार्न सक्तछ जब इन्द्रियग्राह्य ज्ञान धेरै मात्रामा प्राप्त गरिसकेको हुन्छ । यो ज्ञान प्राप्तिको एउटा प्रकृया हो ।यो ज्ञानप्राप्तिको समूच्चा प्रकृयाको पहिलो चरण या मञ्जिल हो, यो यस्तो एउटा मञ्जिल हो जसले हामीलाई बस्तुगत पदार्थबाट मनोगत चेतना तर्फ लैजान्छ, अस्तित्वबाट बिचार तर्फ लैजान्छ । कुनै ब्यक्तिको चेतना या बिचार (जसमा सिध्दान्त, नीतिहरु, योजनारु अथवा उपायहरु सामेल छन्) बस्तुगत बाह्य जगतका नियमहरुलाई सही ढंगले प्रतिनिधित्व गर्दछन् अथवा गर्दैनन् यो यस चरणमा साबित हुन सक्तैन तथा यो यस मञ्जिलमा साबित हुन सक्तैन । यस मञ्जिलमा यो निश्चित गर्न सम्भव हुँदैन कि ती सही हुन् कि होइनन् । यस पछि ज्ञानप्राप्तिको अर्को चरण आउँदछ, एउटा यस्तो चरण जसले हामीलाई चेतनाबाट पदार्थतर्फ फिर्ता लैजान्छ, बिचारबाट अस्तित्वतर्फ फिर्ता लैजान्छ तथा जसमा पहिलो चरणको क्रममा प्राप्त गरिएको ज्ञानलाई सामाजिक ब्यवहारमा उतार्ने गरिन्छ जसल गर्दा यो कुरा पत्तो लगाउन सकियोस् कि यी सिद्धान्त, नीतिहरु र योजनाहरु अथवा उपायहरुले प्रत्याशित सफलता प्राप्त गर्न सक्छन् अथवा सक्दैनन् । आमरुपमा, तीमध्येमा जो सफल हुन जान्छन् ती सही हुन्छन् र जो असफल हुन जान्छन् ती गलत हुन्छन्, तथा यो कुरा प्रकृतिका बिरुद्ध मानिसको संघर्षका बारेमा बिशेषरुपले सही साबित हुन्छ । सामाजिक संघर्षमा, कहिले काँही अघि बढेको बर्गको प्रतिनिधित्व गर्ने गरेका शक्तिहरुले पनि पराजयको मुख देख्नुपर्ने हुन्छ, यसकारणले होइन कि उनीहरुका बिचार गलत छन् बरु यसकारणले कि संघर्ष गर्ने शक्तिहरुको बलको दृष्टिले हाललाई ती शक्तिहरु त्यत्तिको बढी बलशाली छ्रैनन् जत्तिको प्रतिकृयाबादी शक्तिहरु छन् । यसकरण तिनलाई अस्थाईरुपमा पराजयको मुख देख्नु परेको हो । तर अन्ततः ढिलो चाँडो बिजय अबश्य पनि तिनीहरुलाई नै प्राप्त हुन्छ ।
मानिसको ज्ञान ब्यवहारको कसीको माध्यमबाट छलाङ्ग लगाएर एउटा नयाँ चरणमा प्रबेश गर्दछ । यो छलाङ्ग पहिलाको छलाङ्गभन्दा अझ बढी महत्वपूर्ण हुन्छ । किनभने यही छलाङ्गले ज्ञान प्राप्तिको पहिलो छलाङ्ग अर्थात् बस्तुगत बाह्य जगतलाई प्रतिबिम्बित गर्ने क्रममा बन्ने गरेका बिचारहरु,सिद्धान्तहरु, नीतिहरु र योजनाहरु अथवा उपायहरु सही भए नभएको साबित गर्दछ । सत्यलाई जाँच्ने अर्को कुनै तरीका छैन । यति मात्रै पनि होइन, संसारको ज्ञान प्राप्त गर्ने सर्बहारा बर्गको एक मात्र उदेश्य हो त्यसलाई बदल्ने । प्रायः सही ज्ञानको प्रप्ति केवल पदार्थबाट चेतनातर्फ जाने र फेरि चेतनाबाट पदार्थतर्फ फर्किने प्रकृयालाई अर्थात् ब्यबहारबाट ज्ञानतर्फ जाने र फेरि ज्ञानबाट ब्यबहारतर्फ फर्किने प्रकृयालाई बारम्बार दोहोर्याउनाले नै हुने गर्दछ । यही माक्र्सबादको ज्ञान सिद्धान्त हो, द्वन्द्वात्मक भौतिकबादको ज्ञान सिद्धान्त हो ।
हामी साथीहरुमा धेरै मानिसहरु यस्ता छौं जसले यस ज्ञान–सिद्धान्तलाई बुझ्न सक्दैनन् । जब उनीहरुलाई सोधिन्छ कि उनीहरुको बिचार, राय, नीति, तरीका, योजना र निष्कर्शहरु, धारा–प्रबाह भाषणहरु तथा लामा–लामा लेखहरुको मूल आधार के हो त्यतिबेला यो प्रश्न उनीहरुका लागि एकदमै अनौठो लाग्दछ र उनीहरुले त्यसको जवाफ दिन सक्तैनन् । अनि न उनीहरुले यो कुरा नै बुझ्न सक्दछन् कि पदार्थलाई चेतनामा बदल्न सकिन्छ अनि चेतनालाई पदार्थमा, हुन त यस प्रकारको छलाङ्ग मार्नु एउटा यस्तो कुरा हो जुन दैनन्दिन जीवनमा उपस्थित भइरहेको हुन्छ । यसकारण के आवश्यक छ भने हामीले आफ्ना साथीहरुलाई द्वन्द्वात्मक भौतिकबादको ज्ञान सिद्धान्तको शिक्षा दिनु पर्दछ ता कि उनीहरुले आफ्नो बिचारलाई सही दिशा प्रदान गर्न सकुन्, छानबिन तथा अध्ययन गर्ने र अनुभवहरुको निचोड निकाल्नमा कुशल बनुन्, कठिनाइहरुमाथि बिजय प्राप्त गर्न सकुन्,कमभन्दा कम गल्तिहरु मात्र गरुन् र आफ्नो काम अझ राम्रो किसिमले गरुन् तथा जोडदार संघर्ष गरुन् जसबाट हामीले चीनलाई एउटा महान र शक्तिशाली समाजबादी देश बनाउन सकौं तथा समुच्चै बिश्वमा शोषित–उत्पीडित जनताहरुका ब्यापक समुदायको सहायता गर्दै गर्दै आफ्नो महान अन्तर्राष्ट्रबादी कत्र्तब्य जसलाई हामीले निर्बहन गर्नुछ त्यो पूरा गर्न सकौं ।
(कमरेड माओको १३१औं जन्म जयन्तिको सन्दर्भमा उहाँको यो महत्वपूर्ण आलेख प्रकाशित गरिएको हो–सं)
नेपालपत्र संवाददाता