शुक्रबार, कार्तिक ७ गते २०८३

गीता ब्यवस्थापनको महत्वपूर्ण संहीता ?


पौष ७, २०८० शनिबार
गीता ब्यवस्थापनको महत्वपूर्ण संहीता ?

सन्दर्भ गीता जयन्ति

आलोक भारद्वाज

      धर्माबलम्बीहरुले श्रीमद्भगवद्गीतालाई  योगेश्वर श्रीकृष्णको दीव्य वाणी मान्दछन् । यसका प्रत्येक श्लोकमा ज्ञानको अनौठो प्रकाश भएको ठान्दछन् । अनि त्यो प्रस्फूटित हुने बित्तिकै अज्ञानताको अन्धकार नष्ट भएर जाने भन्दछन् । जीबन ब्यबस्थापनको यस सर्बोत्तम आचार संहीताको बिशिष्टता यो हो किशान्तिको यो सन्देश युद्ध भूमिबाट दिइएको छ । गीता साधारण कर्मबादलाई कर्मयोगमा परिबर्तित गर्नका लागि तीन साधनहरुमाथि जोड दिन्छ ।

     पहिलो – फलको आकांक्षा त्याग्ने, दोश्रो– कर्ताको अहंकारबाट मुक्ति र तेश्रो – इश्वरार्पण । यी सुत्रहरुमा बेद र उपनिषदहरुको सार झल्किन्छ । तत्वदर्शी मनिषीहरुको के भनाइ छ भने ज्ञान, भक्ति र कर्मको यस अनौठो त्रिकोणलाई जति पटक पढे पनि हरेक पटक नित्य नया ज्ञानको ढोका खुल्दछ । बिश्वका महानतम् नीतिज्ञ श्रीकृष्ण तथा किंकर्त्तब्यबिमूढ रहेका अर्जुनका बीचको सम्बाद यस गीता ज्ञानको मूल तत्व हो ।

    १८ अध्यायका ७०० श्लोकहरुमा प्रबाहित यस अद्भूत ज्ञान गंंगाको कुनै तुलना छैन । बिश्वका सबै आध्यात्मिक मनिषीहरु यस बिषयमा एकमत छन्  । श्रीमद्भागवत गीता महाभारतको छैठौ खण्ड ‘भीष्म पर्व’को त्यो अंश हो जुन बार्तालाप मार्ग शीर्ष शुक्ल एकादशीका दिन कुरु क्षेत्रको युद्ध भूमिमा कृष्ण र अर्जुनका बीचमा भएको थियो । त्यसैले त्यस दिनलाई 'मोक्षदा एकादशी' तथा 'गीता जयन्ती'का रुपमा पनि मानिने गरेको छ ।

     यो प्राचीन ग्रन्थ गीताको असर बिश्वभरी नै ठूलो परेको यसका ज्ञाताहरु बताउछन्  । उनीहरु भन्छन् – यो महान गीताकै असर थियो कि इसाई धर्मका अनुयायी क्यानाडाका प्रधानमन्त्री मिस्टर पिअर टुडो  गीता पढेर भारत आए । उनले भने कि जीवनको साँझ आइपुगोस् र शरीरलाई चिहानमा लाने बेला होस् त्यो भन्दा पहिला नै अज्ञानतालाई चिहानमा गाढ्नु आवश्यक छ । अनि उनी प्रधानमन्त्री पदबाट राजीनामा दिएर गाई र गीता(उपनिषद) लिएर एकान्तबासी हुनपुगेका थिए । यसरी नै सुप्रसिद्ध अमेरिकी सन्त महात्मा थोरोको एउटा भनाइ थियो कि प्राचीन भारतका सबै स्मरणीय बस्तुहरुमा श्रीमद् भागबत गीताभन्दा श्रेष्ठ अरु कुनै बस्तु छैन । यसैगरी एफ.एच. होलेम(इंग्ल्याण्ड) को भनाइ के रहेको छ भने उनी इसाई हुँदा हुदै पनि गीताकाप्रति यत्तिका श्रद्धा तथा आदरभाव यस कारण राख्ने गर्दथे कि जुन गुढ रहस्य र प्रश्नको समाधान  पश्चिमा मानिसहरु–राष्ट्रहरुले अहिलेसम्म पाएका छैनन् त्यसको गीताले सदियौ पहिला नै  शुद्ध र सरल तरीकाले  समाधान दिइसकेको छ ।

यस कारण गीता एउटा यस्तो 'अमूल्य खजाना' हो जसलाई बिश्वको सम्पूर्ण धन लगाएर पनि किन्न सकिदैन । आज बिश्वका प्रायः सम्पूर्ण जसो उच्च शिक्षण संस्थाहरुमा शिक्षण ब्यवस्थापन र संस्थान प्रवन्धन तथा बिद्यालयहरुले आफ्नो पाठ्य पुस्तकहरुमा गीतालाई समावेश गरिरहेका छन् ।अमेरिका, जर्मनी र नीदरल्याण्ड जस्ता कतिपय बिकसित देशहरुमा यसलाई आफ्नो देशको शैक्षिक पाठ्यक्रममा समावेश गरिएको छ । गीताको ब्यवस्थापन सूत्रहरुलाई आफ्ना प्रतिष्ठानहरुमा लागु गरेका भारतका चर्चित कम्पनीहरु यसका नतीजाबाट धेरै उत्साहित र प्रसन्न  भएको पनि मानिन्छन् । नाम चलेका ब्यवस्थापन गुरुहरुले गीताको ब्यवस्थापन सूत्रहरुको लाभ उठाएर उल्लेखनीय उपलब्धीहरु हासिल गरिसकेकाे  र गरिरहेकोे बताइन्छ ।