माछापुच्छ्रे बैंक, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स (नेप्स) र सिटीटेकले यूनाइफाइड मर्चेन्ट म्यानेजमेन्ट सिस्टम गेट पे सञ्चालनका लागि त्रिपक्षीय सम्झौता गरेका छन् । तीन वटै संस्थाले सोमबार संयुक्त रुपमा सम्झौता गरेका हुन् ।
सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गरेका हुन् ।
नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक प्रणाली सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरुलाई बैंक र व्यापारीहरुले एकीकृत रुपमा व्यवस्थापन गर्न सक्नेछन् ।
सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रुपमा थपिने दाबी गरेका छन् ।