बुधबार, भाद्र ३ गते २०८३

बीमा प्राधिकरणलाई निर्मम भएर काम गर्न अर्थमन्त्रीको निर्देशन


मंसिर २९, २०८० शुक्रबार
बीमा प्राधिकरणलाई निर्मम भएर काम गर्न अर्थमन्त्रीको निर्देशन

 

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणले नियामकीय भूमिका सशक्त रुपमा निर्वाह गर्नुपर्ने बताएका छन् । बीमा क्षेत्रको सुधारको लागि नियामक निकाय बीमा प्राधिकरणले निर्मम भएर काम गर्न उनले निर्देशन दिए ।

शुक्रबार ललितपुरमा बीमा सर्भेयर संघ नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले प्राधिकरणले काम गर्ने प्रक्रियामा सुधार गर्न आवश्यक रहेको औंल्याएका हुन् । 

उनले बीमा क्षेत्रमा भएका विकृति र विसंगतिहरु नियन्त्रण गर्न प्राधिकरणले भुमिका प्रभावकारी बनाउन आवश्यक रहेको बताए । प्राधिकरणले बीमा कम्पनी वा कसैको प्रभावमा नपरी निष्पक्ष ढङ्गले काम गरे मात्रै बीमा क्षेत्रमा सुधार हुने अपेक्षा रहेको उल्लेख गरे ।

प्राधिकरणले वास्तविकतामा नियमनको काम गरे मात्रै बीमा क्षेत्रको गुणस्तरमा वृद्धि हुने दाबी गरे । बीमा कम्पनीहरुले बीमा लिने बेलामा आकर्षण विज्ञापन गर्ने तर दिने बेलामा झन्झटीलो प्रक्रिया गराउने काममा प्राधिकरणले सहज बनाउने गरी काम गर्न आग्रह गरे । 

नियमनकारी निकायले स्वतन्त्र भुमिकामा रहेर कुनै प्रभावमा नपरी काम गर्नुपर्ने,  बीमा कम्पनीहरुले बीमा गर्ने बेलामा धेरै कुरा गर्ने तर दिने बेलामा अनोकौं बहाना बनाए बजार खुम्चिँदै जाने उनले बताए ।