शनिबार, आश्विन १७ गते २०८३

राष्ट्रिय हस्तकला ब्यापार मेला मंसीर २८ गतेबाट


मंसिर २६, २०८० मंगलबार
राष्ट्रिय हस्तकला ब्यापार मेला मंसीर २८ गतेबाट

नेपाल हस्तकला महासंघले स्थापनाको ५१औं वर्ष तथा १२ औं हस्तकला दिवससमेतको अवसर पारेर मंसिर २८ देखि पौष २ गते सम्म २०औ हस्तकला व्यापार मेला तथा १८औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ । 

होटेल डे’ल अन्नपूर्ण, दरबारमार्गमा हुने मेलामा उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवर्धनमा सहयोग पुर्‍याउने, नयाँ नयाँ निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदान प्रदान गर्ने मेलाकाे उद्देश्य रहेको जनाएकाे छ। 

नेपाली हस्तकला वस्तुहरुको स्वदेशी तथा अन्तरराष्ट्रिय बजार प्रवर्धन, प्रचारप्रसार तथा वस्तुको उजागर गरी निर्यात ब्यापार प्रबद्र्धन गर्ने,  नेपाली उद्यमी व्यबसायी र बिदेशी हस्तकला आयातकर्ता बीचमा व्यवसायिक सम्बन्ध बिकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई हस्तकला वस्तुको बजारिकरणमा सहयोग पुर्‍याउने उद्देश्य रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

त्यसैगरी नवोदित उद्यमी ब्यबसायीलाई बजार पहुँचको अवसर प्रदान गर्ने,  हस्तकला र नेपाली संस्कृति बीचको अन्तर सम्वन्धलाई जनमानसमा उजागर गर्ने, विदेशी क्रेताहरुलाई हस्तकला वस्तुहरु एकै स्थानबाट खरिद गर्ने अवसर प्रदान गर्ने, आयात र निर्यात बीचको दुरी घटाई व्यापार घाटा न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्य मेलाको रहेको  छ । 

मेलामा ३ वटा प्याभिलियन सहित करिब १३० स्टल रहने छन् । मेलामा विदेशी प्रदर्शनीकर्तामा पाकिस्तान, बांग्लादेशका  व्यापारीहरुको समेत स्टल रहने जनाइएको छ। विभिन्न स्टलमा धातुकला, काष्ठकला, सुनचाँदी, सुती एवं ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा आदि हस्तकला सामानहरुको प्रदर्शनी हुनेछ । 

नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल एकिकृत व्यापार रणनीति कार्यक्रम भित्र समावेश हस्तकलाका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ । 

मेलाको प्रमुख आर्कषणको रुपमा रहेको जीवन्त प्रतियोगितात्मक हस्तकला प्रदर्शनी अन्तर्गत परम्परागत विधा तर्फ “पौभा” र समसामयिक विधा तर्फ “छ्वाली कला” मा प्रत्यक्ष रुपमा जीवन्त प्रदर्शनी हुनेछ। मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमान आयोजकको छ । 

  • सम्बन्धित विषय:

  • # FHAN
  • # हस्तकला मेला