प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारका लागि प्रमुख साझेदार निजी क्षेत्र सहित, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रूपमा प्रस्तुत हुन आवश्यक रहेको औंल्याएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित रेस्पोन्सेवल बिजनेस समिट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको क्षेत्रमा विद्यमान दबाबलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको उल्लेख गरे ।
‘‘केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरू सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन बृहत् अन्तरक्रिया गरेको छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘अन्तरक्रियापछि केही महत्त्वपूर्ण घोषणाहरूसमेत गरिएको छ । मेरो विश्वास छ– उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत् बैठक र कहीँ नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको जनाउ दिए ।
तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको भएपनि व्यवहारमा आम जनमानसमा आशाको सञ्चार सिर्जना गर्न अझै मेहेनत गर्नुपर्ने अवस्था रहेको उनले जनाए । प्रधानमन्त्री प्रचण्डले सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगका लागि पनि आग्रह समेत गरे ।
जिम्मेवार व्यावसायिक अभ्यासहरू नैतिक सामाजिक दृष्टिकोणबाट मात्र नभई व्यावसायिक रणनीतिका हिसाबले पनि फाइदाजनक रहेको भन्दै प्र.म. प्रचण्डले जिम्मेवार अभ्यासहरुमार्फत् व्यवसायहरूले दिगो विकासमा योगदान दिन र समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न सक्ने बताए ।
नेपालपत्र संवाददाता