शुक्रबार, कार्तिक ७ गते २०८३

‘प्रधानन्यायाधीश नियुक्तिलाई स्वामीभक्तिको पुरस्कार बनाइयो भने न्यायको हत्या प्रारम्भ हुन्छ’: न्यायाधीश हंशराज


मंसिर १५, २०८० शुक्रबार
‘प्रधानन्यायाधीश नियुक्तिलाई स्वामीभक्तिको पुरस्कार बनाइयो भने न्यायको हत्या प्रारम्भ हुन्छ’: न्यायाधीश हंशराज
भारतको दोस्रो सर्बोच्च पदक ‘पद्म विभूषण’ (१९९९) द्वारा विभूषित न्यायमूर्ती हंशराज खन्ना (१९१२–२००८) लाई भारतको सर्बोच्च न्यायालय बार एशोसिएसनले अभिनन्दन गर्दै ‘कानुनका जिवन्त प्रतिक’ भनेको थियो । १९७३ मा भारतीय इतिहासमै सर्बोच्च न्यायालयले सबभन्दा बढी, १३ जना न्यायाधीशको विशेष इजलाश राखेर भारतीय संविधान संशोधनबारे ब्याख्या दियो ।
 
त्यसमा खन्नाको भनाई थियो, भारतीय संविधानलाई संसदले संशोधन गर्न सक्छ, तर यसको सीमा छ । संविधानका आधारभूत र मौलिक पक्षलाई संंशोधनका नाममा हेरफेर गर्न पाइन्न । यदि त्यसो गर्ने हो भने यो संविधानको कुनै महत्व रहँदैन । संविधान मान्न लायक नभएपछि आम जनताले अर्को संविधान लेखनको कारवाही शुरू गर्न सक्छन् । त्यो भनेको विद्रोह हो भन्ने यिनको तर्क थियो ।
 
सन् १९७३ अप्रिल २६ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले प्रधान न्यायाधीशको वैधानिक रोलक्रममा रहेका हंशराज खन्ना लगायतका ३ न्यायाधीशलाई पन्छाएर आफूले लागु गरेको संकटकाल लगायत बन्दीप्रत्यक्षीकरण गराउने सर्बोच्च अदालतको विशेषाधिकार समेत खोस्ने गरी संविधानका आधारभूत प्रावधानमै असाधारण संशोधनलाई समर्थन गरेका न्यायाधीश अजितनाथ रेलाई प्रधानन्यायाधीश बनाएपछि न्यायाधीश खन्नाको संक्षिप्त टिप्पणी थियो, “प्रधान न्यायाधीश नियुक्तिलाई स्वामीभक्तिको पुरस्कार बनाउँदा न्यायको हत्या प्रारम्भ हुन्छ.....।”
 
न्यायाधीश रे लगायत एम्.एच्. बेग, वाई. भी. चन्द्रचुड, पी.एन्. भगवती आदिले इन्दिरा गान्धीका सबै गतिविधिलाई सहयोग पुर्याउने बाटो लिए ।
 
त्यहाँ संकटकाल समाप्तिपछि सर्बोच्च न्यायालयले आफ्नो स्वतन्त्रता कायम राख्न केही निर्भिक र न्यायोचित निर्णय लियो र फैसला गर्यो– प्रधान न्यायाधीशको नियुक्तीमा भारत सरकार बरिष्ठतम न्यायाधीशलाई मात्र चयन गर्नसक्छ । यो फैसलाको आजसम्म त्यहाँ पूर्णपालना हुँदैआएको देखिन्छ । १९७७ मा सेवानिवृत्त भएपछि पनि यिनले विभिन्न संघ–संस्थामा आफूलाई सक्रिय राखे ।
 
नेपालमा पनि यस्तै बाटो अपनाएर जन-आदरणीय न्यायमूर्ति हुने व्यक्तित्व कोही छ ? देख्न सकिएन । मन्त्री पदमा भागबन्डाको सर्त अनुरुपको संवैधानिक व्याख्या वा फैसला गर्नेलाई प्रधानन्यायाधीश वा राजनीतिक पार्टीको झोला र झन्डा बोकेर राजनीतिक नारा र पाखुरा सुर्कासुुर्कीमा हिंडेको मनुवालाई स्वामीभक्तीको रुपमा न्यायाधीशको भेषमा भर्ती गरिएको लोभी मनुवाबाट न्यायाधीश खन्नाको आचरण खोज्नुजस्तो हास्यास्पद मूर्खता भन्दा केही हुँदैन ।
 
-justice-h-r-khanna.jpg