शुक्रबार, कार्तिक ७ गते २०८३

मजदुरवर्गको राजनीतिक कार्यबारे-एंगेल्स

मंसिर १२, २०८० मंगलबार
मजदुरवर्गको राजनीतिक कार्यबारे-एंगेल्स

२१ सेप्टेम्बर सन १८७१ को दिन अन्तर्राष्ट्रिय मजदुर संघको लण्डन सम्मेलनमा दिइएको भाषण (१५९)

राजनीतिबाट पूर्णतः अलग्गिएर बस्नु असम्भव हुन्छ । राजनीतिबाट टाढा बस्नुपर्छ भन्ने सबै समाचारपत्रहरु पनि राजनीतिमा भाग लिएकै हुन्छन् । प्रश्न केवल कसरी र कस्तो राजनीतिमा भाग लिने भन्ने मात्रै हो । अझ त्यसमाथि हाम्रो लागि राजनीतिबाट टाढा बस्नु असम्भवै हुनजान्छ । बहुसंख्यक राष्ट्रहरुमा एक राजनीतिक पार्टीको रुपमा मजदुर पार्टीको स्थापना भइसकेको छ ।

राजनीतिबाट टाढा बस भन्ने उपदेश दिएर हामीले पार्टीहरुलाई नष्ट पार्नु हुँदैन । आधुनिक जीवनको वास्तविकताले र अनि विद्यमान सरकारहरुले जसरी मजदुरहरुमाथि राजनीतिक अत्याचार गर्दैछन्, त्यस कुराले पनि मजदुरहरुलाई, आफ्नो इच्छाले होस् अथवा आफ्नो इच्छाको विपरित होस्, आफ्ना राजनीतिक तथा सामाजिक लक्ष्यहरुको लागि राजनीति गर्न बाध्ये तुल्याएको छ । उनीहरुलाई राजनीतिबाट अलग्गिने उपदेश दिनु भनेको उनीहरुलाई बुर्जुवा राजनीतिको अंगालोभित्र घचेट्नु हो ।

विशेषतः पेरिस कम्युन पश्चात्, जसले सर्बहारावर्गको राजनीतिक क्रियालाई कार्यसूचीमा नै राखेको छ, राजनीतिबाट टाढा बस्ने कुरा पूर्णतः असम्भव छ ।

हामी वर्गहरुको उन्मूलन गर्न चाहन्छौं । यो पूरा गर्ने साधन के हो ? सर्वहारावर्गको राजनीतिक प्रभुत्व नै यस्तो साधन हो । अब सबैले यो कुरा स्वीकार गरिसकेपछि हामीसँग राजनीतिबाट टाढा बस्ने माग गरिन्छ । राजनीतिबाट टाढा बस्ने उपदेश दिने यी मानिसहरु आफूलाई क्रान्तिकारी भन्दछन्, अझ सर्वश्रेष्ठ क्रान्तिकारी भन्छन् ।

परन्तु क्रान्ति राजनीतिक क्रियाको पराकाष्ठा हो र जस्ले क्रान्ति चहान्छ, उस्ले ती साधनहरु अर्थात राजनीतिक क्रियालाई पनि मान्यता दिनुपर्दछ, जस्ले क्रान्तिको तयारी गर्दछ, यसले मजदुरहरुलाई क्रान्तिको लागि तयार गर्दछ र जसबिना लडाइँको भोलि पल्ट नै फाभ्र तथा पिआजस्ता मानिसहरुले उनीहरुलाई धोका दिन छोड्ने छैनन् ।

तर हाम्रो राजनीति मजदुर राजनीति हुनुपर्दछ; मजदुर पार्टीले यस अथवा त्यस बुर्जुवा पार्टीको पुच्छरमा झुण्डिने होइन, त्यसले त आफुलाई एक त्यस्तो स्वतन्त्र पार्टीको रुपमा निर्माण गर्नुपर्दछ, जस्को आफ्नै लक्ष्य र आफ्नै राजनीति हुन्छ ।

राजनीतिक स्वतन्त्रता, सभा तथा संघसंस्था स्वतन्त्रता, प्रेस स्वतन्त्रता– यिनै हुन् हाम्रो हतियार । यदि हाम्रो यो हतियार खोस्न चहान्छन् भने के हामी हात बाँधेर बस्न सक्छौं,राजनीतिबाट टाढा रहन सक्छौं ?

सबै किसिमको राजनीतिक क्रियाको तात्पर्य विद्यमान बस्तुस्थितिको मान्यता हुनजान्छ भन्दछन् । परन्तु यदि यस बस्तुस्थितिले त्यसैको बिरुद्ध संघर्ष गर्नको लागि हाम्रो हातमा साधन राखिदिन्छ भने यी साधनहरुको प्रयोग गर्नुको तात्पर्य त्यस बस्तुस्थितिको मान्यता हुन सक्दैन ।

 

मार्क्स एंगेल्स रचन संग्रह,चार खण्डमा खण्ड दुई

प्रगति प्रकाशन मास्को,प्रकाशन सन १९८९