निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाताको मतभार कायम गरिएको जनाएको छ ।
नेपालको संविधानको धारा ८६ को उपधारा ‘३’ बमोजिम राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ मा राष्ट्रिय सभाको निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डल (प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख) को मतभारको व्यवस्था रहेको छ।
मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणना अनुसारको कूल जनसङ्ख्यालाई आधार मानि कायम गर्नुपर्ने हुन्छ । तसर्थ हाल राष्ट्रिय जनगणना २०७८ सम्पन्न भै जनगणनाको प्रतिवेदन समेत सार्वजनिक भैसकेकोले सो प्रयोजनका लागि उक्त ऐन बमोजिम राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिस समेतका आधारमा प्रदेश सभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम हुने निर्णय आयोगले गरेको हो ।
यस अगाडिका राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो।