बुधबार, भाद्र ३ गते २०८३

घाती मासिनु पर्छ फुल्छ तब नै , नेपालको यौवन

मंसिर ५, २०८० मंगलबार
घाती मासिनु पर्छ फुल्छ तब नै , नेपालको यौवन
फुल्छ तब नै , नेपाल को यौवन
………………………………………
छन्द : शार्दूलविक्रीडित
……………………………………
रोप्छन् `कष्ट´ किसान शुष्क मन का , बारी र टारी भरि
थाप्छन् निर्धनता सदा हृदय का , थाली कचौरी भरि
खान्छन् वा पिउँछन् सदैव पसिना , मेटूँ म तिर्खा भनी
बाँच्छन् ती मुटु मा लिएर खटिरा , गाठा र गिर्खा पनि १
 
गोठाला जति गाउँछन् विरह का , गाना दिवा साँझ मा
खेताला जति रोप्दछन् कहर का , दाना गरा माझ मा
बित्छन् वर्षहरू यसै किसिम ले , धोकेर पीडा - मद
नेपाली हर काँध मा र शिर मा , छन् आपदै आपद २
 
जन्माएर खुशीहरू नयन मा , पालेर बोका खसी
हुर्काएर प्रसन्नता वदन मा , चुल्हा र चौका पसी
भोका पेट किसान का भरिदिए , इच्छा सबै पुग्दथे
सुर्केनी सुख का र ग्रन्थि मन का , बाधा विना फुक्दथे ३
 
बत्ती स्वप्निल तार का शहर का , बालेर ढोका भरि
बोकी भोक अभाव गाउँ घर का , थुन्से र डोका भरि
ओर्लेको सरि लाग्छ देश अहिले , चढ्दा उकालाहरू
खस्केको सरि लाग्छ राष्ट्र जहिले , बढ्दा भिरालाहरू ४
 
छन् नेतृत्व जहाँ अनेक थरि का , धोका दिने मात्र नै
छन् आश्वासन का सुवर्ण धन का , पोका दिने मात्र नै
हिँड्ला देश विकास को शिखर मा , खै के गरी लौ भन
घाती मासिनु पर्छ फुल्छ तब नै , नेपाल को यौवन ५
साभार : कृष्णशरण उपाध्याय पौडेलको मुहारपुस्तिका