शुक्रबार, कार्तिक ७ गते २०८३

खड़ा रूख, सजिलो लाभको लागि अवैध रुपमा ढालेका कयौं टन काठभन्दा मूल्यवान हुन्छ : लुईज इनासियो लुला


मंसिर ५, २०८० मंगलबार
खड़ा रूख, सजिलो लाभको लागि अवैध रुपमा ढालेका कयौं टन काठभन्दा मूल्यवान हुन्छ : लुईज इनासियो लुला
दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति लुईज इनासियो लुला (१९४५– ) त्यहाँका लोकप्रिय राजनेता, ट्रेडयुनियनवादी, धातुसम्बन्धी श्रमिक र श्रमिक पार्टीका नेता हुन् । ‘वामपन्थी’ भनेको सुनेर यहाँका कतिपय बिग्रेका कम्युनिस्टहरू उनलाई कम्युनिस्ट वा मार्क्सवादी भएको बुझ्छन् । तर उनी सबैखाले अधिनायकवादका घोर विरोधी, लोकतान्त्रिक समाजवादी (सामाजिक उदारवादी) मान्यताका राजनीतिज्ञ हुन् ।
२०२२ को अक्टुबरमा सम्पन्न दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा विजयी भएपछि, उनले पोहोर १ जनबरी २०२३ मा तत्कालीन बहालवाला आफ्ना प्रतिद्वन्द्वी तथा कट्टर विरोधी राष्ट्रपति जायर बोल्सनरोलाई विदा गर्दै ‘पिण्डस्थाने पिण्डम्’ को रुपमा तेस्रो पटक राष्ट्रपति पदमा बहाली लिए ।
निम्नआर्थिक हैसियतका श्रमजीवी बाबुआमाका आठ छोराछोरी मध्येका सातौं सन्तान, लुलाले औपचारिक शिक्षा प्रारम्भिक तहको मात्रै पाए । दशवर्षको उमेरसम्म उनलाई ‘कालो अक्षर भैंसी बराबर’ थियो । दुई कक्षामा पढ्दापढ्दै घरको काममा सहयोग गर्न विद्यालय छोड्नु पर्यो । १२ वर्षको ठिटो लुलाले स्कूल छोडेर बटुवाका जुत्तामा पालिस गर्ने इलम लिनुपर्यो ।
दुईवर्ष त्यस्तै काम गरेपछि उनले गोदामघरमा सानोतिनो रोजगारी पाए । १९ वर्षको उमेरमा मोटरका पार्टपूर्जा कारखानामा काम गर्दा देब्रे हातको कान्छी औंलो मेशिनले चुँडालिदिए पछि उपचारको लागि हातबाट भल्भली रगत बगाउँदै उनले धेरैवटा अस्पतालमा गुहार माग्नुपरेको थियो । यही भोगाई र इखले गर्दा उनलाई मजदूर संगठन बनाउन घच्घच्यायो। सन् ७०–८० को दशकमा ब्राजिल सैनिक तानाशाहीको बुटमा दबिएको अवस्थामा मजदूर नेता लुलाले पूर्ण लोकतान्त्रिक निर्वाचन पद्धतिको माग गर्दै विशाल मजदूर आन्दोलनको नेतृत्व गरे । मजदूर संगठनमा समर्पित भएर कार्यरत युवा लुला मजदूर संगठनका विभिन्न पद सम्हाल्दै, विभिन्न तहका राष्ट्रिय निर्वाचनमा सफल हुँदै सन् २००२ मा पहिलोपटक ब्राजिलको राष्ट्रपति भए ।
दुई कार्यकाल राष्ट्रपतिमा रहँदा उनले ‘एक्काईसौं शताब्दीको समाजवाद’ को वकालत गरे । ब्राजिलको अनिकाल, असमानता, अशिक्षा, बेरोजगारी, उच्च बालमृत्यु दर जस्ता गरिवीसूचक समस्याका विरुद्ध कठोर अभियान चलाए । दुई करोड ब्राजिलीहरूलाई गरिवीमुक्त गराए । समाजमा हुने छाडापन, अनैतिकता र अपराधमा रोकथाम हुनसक्ने उद्देश्यले गर्भपतन विरोधी नीति लिए । विश्व/विद्यालय तथा स्वास्थ्य सेवा केन्द्रहरूमा सबै वर्ग र समुदायको पहुँच, न्युनतम ज्यालादर घोषणा, विदेशनीतिमा महत्वपूर्ण भूमिका, नव विकसित अर्थतन्त्रका छः राष्ट्र (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका– BRICS) को रुपमा ब्राजिलको महत्वपूर्ण भूमिका आदि उनका परिचायक हुन् ।
उनीमाथि आर्थिक अनियमितता, भ्रष्टाचार र पदीय दुरुपयोगका अनेकौं काण्डको आरोप नलागेको होइन । २०१७ मा उनीमाथि मुद्रा निर्मलीकरण तथा भ्रष्टाचार काण्डमा एउटा विवादास्पद मुद्दा आईलाग्यो । सन् २०१८ मा लुला गिरफ्तार भए र चार वर्ष जेल बसे । उनलाई साडेनौ वर्षको सँजाय दिईएको थियो । जुन संघीय न्यायाधीशले यस्तो फैसला गरेका थिए, उनै न्यायाधीश पूर्वराष्ट्रपति बोल्सनरोको मन्त्रिमण्डलमा न्याय तथा सार्वजनिक सुरक्षा मन्त्री बनाईएपछि लुला विरुद्धको मुद्दा दक्षिणपन्थी षड्यन्त्र रहेछ भन्ने भेद खुल्यो । कतिपय मुद्दा अदालतको क्षेत्राधिकारभन्दा बाहिरका पनि रहेछन् । मुद्दा उल्टिएपछि यसको पछाडिको षड्यन्त्र खुल्यो र लुलाले सफाई पाए, रिहा भए र राष्ट्रपतिमा उम्मेद्वार हुने घोषणा गर्दै जेलबाट निस्के ।
लोकतन्त्र, सार्वभौमिकता र शान्तिका साथ मुलुकको पुनर्निर्माण, वित्तीय संकटबाट मुलुकलाई मुक्त गरी स्थिरता दिने, ‘पृथ्वीको फोक्सो’ मानिने विश्वको सबभन्दा विशाल र घना अमाजनको जङ्गल राष्ट्रपति बोल्सनरोले निर्ममतापूर्वक फाँडेकोलाई रोक्ने, गरिबी तथा अशिक्षाका विरुद्ध संघर्ष गर्ने, सांस्कृतिक धरोहरको संरक्षण र राष्ट्रब्यापी आवास कार्यक्रम उनका वाचा हुन् ।
पोर्तुगाली जातिका लुलाले तीनपटक विहे गरे । दुवै पत्नीको मृत्यु भएपछि हाल उनी जेलमा भेट भएकी एक महिलाका साथ लिभिङ् टुगेदरमा रहेका छन् । माथि उनको भनाई उनीबारे पढ्दै जाँदा पाईएको, ३१ अक्टुबर, २०२२ को अन्तर्वार्ताको अनलाईन अंश हो, जसको विस्तारित रुप :
"A standing tree is worth more than tons of wood illegally felled by those who think only of easy profit, to the detriment of the deterioration of life on Earth. A river of clear water is worth far more than all the gold mined at the cost of mercury which kills wildlife and endangers human life. When an indigenous child is killed by the greed of environmental predators, a part of humanity dies with him." (Lantidiplomatico.it, Eng. version, 31 October 2022)
साभार : गौतमजीको मुहारपुस्तिका