केही समय अघि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोले प्लाष्टिक प्रदुषणलाई ‘टाइम बम’ भनेका थिए । त्यसरी नै संयुतm राष्ट्र संघका महसचिव एण्टोनियो गुत्तेरेसले दीगो र टिकाउ भबिष्यका लागि प्लाष्टिकको प्रयोगलाई कमभन्दा कम तुल्याउन पर्ने आह्वानै गरेका थिए । यथार्थतः आज पूरै बिश्वमा प्लाष्टिकको प्रदुषण संकट एकदम गहिरिदै गइरहेको छ । संयुक्त राष्ट्र संघ पर्याबरण कार्यक्रमका अनुसार सन् १९५० मा सारा बिश्वभरीमा प्लाष्टिक प्रदुषणको आकार २० लाख टन जति मात्रै थियो । तर २०१७ मा आइपुग्दा अर्थात ६७ बर्ष पछि त्यो अत्याधिक बढेर ३५ करोड टन पुग्न गयो । अझै आउँदो दुइ दशक पछि यसको क्षमता बढेर दोब्बर हुने अनुमान प्लाष्टिक सम्बन्धि बिज्ञहरुले गरिरहेका छन् ।
बास्तवमा यो अत्यन्तै चिन्ताजनक कुरा हो कि आजको बिश्वमा बर्षेन ४ अर्ब टन फोहोर उत्पन्न हुने गर्दछ । त्यसमा पनि प्लाष्टिकको फोहोर एक तिहाई भन्दा बढी हुने गर्दछ । अनि अझ आश्चर्यको कुरा त के छ भने जुन प्लाष्टिकको आबिस्कार मानब जीवनलाई थप सुबिधाजनक बनाउनका लगि गरिएको थियो त्यही चीज नै आज पृथ्वीका लागि आपत्तिकारी र मानिसहरु, बन्य र जलीय जीव जन्तुहरु, पंक्षि र बनस्पतिहरुका लागि अत्यन्तै ठूलो काल बन्न गइरहेको गम्भीर स्थिति छ । अज गजब त के छ भने यो प्लाष्टिक एक पटक बनाए पछि कहिल्यै नष्ट नै हुँदैन भनेर यसका अनुसन्धानकर्ता अध्येताहरुले भनिरहेका छन् । कुनै न कुनै रुपमा यो धरामा प्लाष्टिक रहिरन्छ । कम खर्चिलो, टिकाऊ र लचिलो भएका कारणले पनि यसको सारा बिश्वभरी नै मजाले भरमार उपयोग गर्ने गरिन्छ । बिश्वमा आजत मानब जीवनसँग जोडिएका अधिकांश साधनहरुमा प्लाष्टिकले आफ्नो गहिरो पहुँच बनाइसकेको र बनाइरहेको छ ।
प्लाष्टिकसँगको सबैभन्दा ठूलो समस्या के छ भने यो बिघटन हुन पनि कम्तिमा ५–६ शताब्दीसम्मको समय लाग्ने बिज्ञहरुको निष्कर्श छ । एक पटक उत्पादित प्लाष्टिक पृथ्वीम कुनै न कुनै रुपमा बिद्यमान रहिरहन्छ । संयुक्त राष्ट्र संघ पर्यावरण कार्यक्रमको कथनलाई मान्ने हो भने १९५० देखि २०१७ का बीच उत्पादित ९ अर्र्र्र्ब टन प्लाष्टिक मध्येबाट करीब ७ अर्ब टन प्लाष्टिक फोहोरकोरुपमा परिणत भएको थियो । यूएस पर्याबरण एजेन्सीका अनुसार अमेरिकामा उत्पादित र उपयोगमा ल्याइएको प्लाष्टिकको प्रत्येक टुक्रा आजसम्म पनि पर्याबरणमा बिद्यमान रहेको छ । बैज्ञानिकहरु भन्दछन् – प्लाष्टिकले नदीहरु, माटो र महासागरमा प्रवेश गरेर हाम्रो खाद्य श्रृंखला र अन्तत हाम्रो शरीरमा प्रबेश गरेर हामीलाई मन्द किसिमले मृत्युको मुखमा धकेलिरहेको छ । जुन प्लाष्टिकको उपयोग गरेपछि हामीले आफ्ना वरिपरको माटोमा फाल्दछौं त्यसले माटोको उर्बरा शक्ति र जल धारण गर्ने क्षमतालाई कम गर्दछ । माटोको उर्बरता बढाउन सहायक सुक्ष्म जीवको बिकासलाई पनि त्यसले बाधा उत्पन्न गर्दछ र यसरी खाद्य उत्पादनलाई प्रभावित तुल्याउँदछ ।अर्कोतिर प्लाष्टिकले उत्पादित खाद्य पदार्थलाई बिषाक्त पनि बनाउने गर्दछ । संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको ‘एशिशमेण्ट अफ एग्रीकल्चरल प्लाष्टिक एण्ड देयर सस्टेनिबिलिटी ः ए कल फर एक्शन’ का अनुसार कृषि भूमिमा प्लाष्टिकका सुक्ष्म कण टाँसिएर रहेका हुन्छन्, जसले गर्दा खाद्य सुरक्षा, जन स्वास्थ्य र पर्याबरणका लागि जोखिम उत्पन्न भइरहेको हुन्छ । प्लाष्टिकमा रहेको बिषालु रसायन माटो र पानीमा घोलिने गर्दछ । प्लाष्टिक नदीहरु र समुद्रमा प्रवेश गर्दछ । त्यति बेला पानीको गुणस्तरीयतालई प्रभाबित तुल्याँउदछ र जलीय पारितन्त्रका लगि गम्भीर खतरा उत्पन्न गर्दछ ।
संयुक्त राष्ट्रको अर्को एउटा खोज अनुसार प्लाष्टिक प्रदुषणबाट ८०० भन्दा पनि बढी सामुद्रिक र तटीय क्षेत्रहरुमा रहने गरेका प्रजातिहरु प्रभाबित हुने गर्दछन् । किनभने तिनले प्लाष्टिकको सेवन र त्यसमा उल्झिने अन्य किसिमका खतराहरुको सामना गर्नुपर्ने हुन्छ । संयुक्त राष्ट्र संघको भनाइ अनुसार बिश्वभरमा प्रत्येक बर्ष झण्डै एक करोड १० लाख टन जति प्लाष्टिकको फोहोर मैला समुद्रमा फाल्ने गरिन्छ । यसलाई रोकिएन भने २०४० सम्ममा यो तीन दोब्बर बढी हुने अनुमान गरिएको छ । यूनामिया रिसर्च एण्ड कन्सल्टिङ्गको एउटा प्रतिबेदनका अनुसार समुद्रतलको प्रत्येक एक बर्ग किलोमिटरमा सरदर ७० किलो ग्राम प्लाष्टिक बिद्यमान रहन्छ । जमिन र जलका अतिरिक्त वायुको माध्यमबाट पनि यही प्लाष्टिक माइक्रोप्लाष्टिक(पाँच मिलिमिटरभन्द सानो अंश)कारुपमा ससाना कणहरु हाम्रो श्वसन तन्त्रसम्म पुग्न जान्छन् र फोक्सोको कार्य क्षमतालाई कमजोर तुल्याउदछन् । प्लाष्टिकका असंख्य टुक्राहरुाले पृथ्बीको ताप पनि बढाइरहेका छन् जसले गर्दा समेत बिश्व गर्मी(ग्लोबल वार्मिङ्ग)मा रोक लगाउन पनि सफलता मिल्न सकिरहेको छैन । यी सबै तथ्य तथ्यांकको यथार्थ र परिणामको आधारमा प्लाष्टिकमाथि प्रतिबन्ध लगाउनु र यसको बिकल्प खोज्नु सर्बोपरी अनिबार्य कदम भइसकेको प्रष्ट छ । अन्यथा प्रकृति, पर्याबरण र मानिस सबैको सर्बनाश हुने दिन टाढा छैन ।