बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता रकम सहज अवस्थामा रहेकाले मंसिरका लागि वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।
५ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिंदा माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ । कात्तिकको लागि वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिएको अधिकतम ब्याजदरको औसत ९.९६ प्रतिशत रहेकोमा मंसिरमा ०.३५ प्रतिशत विन्दुले घटेर ९.६२ प्रतिशतमा झरेको छ । २० वाणिज्य बैंकमध्ये ६ वटा बैंकको मात्रै निक्षेपको ब्याजदर दोहोरो अंक (१० प्रतिशत वा सोभन्दा माथि)रहेको छ ।
मंसिरका लागि व्यक्तिगत मुद्दती निक्षेपमा हिमालन बैंक, माछापुच्छ«े बैंक र नेपाल एसविआई बैंकले सर्वाधिक १०.६०३ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् । कात्तिकमा ११.००३ प्रतिशत ब्याजदर रहेको हिमालयन बैंकको मंसिरमा घटाएको हो भने नेपाल एसबिआई बैंकले पनि कात्तिकमा १०.७ प्रतिशतबाट मंसिरमा ब्याजदर घटाएको हो । प्राइम कमर्सियल बैंकले १०.२५ प्रतिशतमा यथावत राख्दा कुमारी बैंकले १०.०१ प्रतिशत लक्ष्मी सनराइज बैंकले १० प्रतिशत र सिद्धार्थ बैंकले ९.९९ प्रतिशतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर यथावत राखेको छ । नेपाल बैंकले पनि ९.२२४ प्रतिशत कात्तिकमा रहेको ब्याजदरलाई नै मंसिरमा पनि निरन्तरता दिएको हो ।
राष्ट्र बैंकको सीमाभित्र रहेर व्यक्तिगत मुद्धनि निक्षेपमा घटाउन मिल्ने सीमाभित्र रहने गरी ९१ दिनको मुद्दती निक्षेपमा ८.९७ प्रतिशत ब्याजदर प्रकाशित गरेको स्ट्यान्डर्ड चाटर्ड बैंकले अन्य व्यक्तिगत मुद्दती निक्षेपमा भने ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागतमा १ वर्ष माथिका लागि ५.२५ प्रतिशत र त्यसभन्दा कम अवधिको लागि ४.७५ प्रतिशत ब्याजदर तोकेको हो । एनआईसी एशिया बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा घटाउन पाउने सीमाभित्र रहेर ८.९६८ प्रतिशतमा झारेको छ ।
नेपालपत्र संवाददाता