मुलुकको विकासका लागि पूर्वाधारमा लगानी जुटाउने उद्धेश्यले स्थापना भएको लगानी बोर्डले १० औं स्थापना दिवस मनाएको छ । लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा पूर्वाधार निर्माणका लागि लगानीको अभाव भएको बताएका छन् ।
‘हामीले आर्थिक वृद्धिका लागि विभिन्न लक्ष्यहरु लिएका छौं, देशलाई विकसित बनाउनका लागि पहल त गर्यौं तर लगानीको अभाव देखिएको छ, यसका लागि म सम्पूर्ण विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्नका लागि पनि आग्रह गर्छु,’ उनले भने ।
उनले देशले लिएको लक्ष्य भेट्न पर्याप्त लगानी आवश्यक रहेको बताए । सरकारले राष्ट्रिय प्राथमिकताप्राप्त परियोजनामा निजी क्षेत्रको लगानी आवश्यक ठानेको पनि उनको भनाई छ ।
बोर्डले ३४ वटा परियोजनालाई परियोजना बैंकमा राखेको छ भने २७ वटा परियोजनाका लागि ७ खर्ब रुपैयाँभन्दा बढी लगानी जुटिसकेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले बताए ।
संखुवासभाको मकालु र चिचिला गाउँपालिकामा भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना ९०० मेगावाट, नवलपरासीमा होङ्सी शिवम सिमेन्ट, धादिङमा ह्वासिन सिमेन्ट, धरान र सुनसरीमा फोहोर प्रशोधन केन्द्र तथा अछाम, दैलेख र सुर्खेतको सीमामा कर्णाली आयोजना निर्माणाधीन छन् ।
बोर्डमार्फत अघि बढाइएका नौ वटा परियोजना सर्भे र अध्ययनकै चरणमा रहेको बताइएको छ । माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत आयोजना, मुक्तिनाथ केबलकार, डोल्मा फण्ड व्यवस्थापन, सवारीसाधन उत्पादन र जडान प्लान्ट, सिमरा विशेष आर्थिक क्षेत्र (सेज) को ब्लक बी र सी, प्राइभेट फ्रेट टर्मीनल र ब्लक ह्याण्डलिङ फ्यासिलिटिज्, चीन–नेपाल मैत्री औद्योगिक पार्क, मल्टीमोडल लजिस्टिक पार्क र तमोर जलविद्युत आयोजना अध्ययनकै चरणका छन।