शुक्रबार, कार्तिक ७ गते २०८३

कोही छैनन् सृजनपथमा देवकोटा समान


कार्तिक २८, २०८० मंगलबार
कोही छैनन् सृजनपथमा देवकोटा समान
 
(समस्या:प्रतिभा निकुञ्जबाट)
मन्दाक्रान्ता
---------------------------------------------------------
यो माटोमा कवि र कविता जन्मिए बारबार
बग्छन् आफ्नै लय र गतिमा भिन्न साहित्य धार
बोकी हिँड्ने अथक युगका सिर्जनाका मुहान
कोही छैनन् सृजनपथमा देवकोटा समान ।१।
 
उड्ने गर्थे कविवर बनी शारदी स्वच्छ चङ्गा
बोकी एक्लै रसिक दिलमा शुभ्र साहित्य गङ्गा
छोडेका छन् अमर कृतिमा शारदाको निसान
कोही छैनन् सृजनपथमा देवकोटा समान ।२।
 
सुम्पी आफ्नो वय कृतिकला साधनातर्फ मात्र
पूजा गर्ने अविचल रही सम्झनायोग्य पात्र
नेपालीका मन र मुटुका चेतनाका बिहान
कोही छैनन् सृजनपथमा देवकोटा समान ।३।
 
यौटा अग्लो गिरिशिखरमा काव्यको उच्च ताज
लाई हिँड्ने पथिक अगुवा गर्न स्वच्छन्द राज
वर्षा गर्ने विविध रचना सिन्धुझैँ लाग्छ सान
कोही छैनन् सृजन पथमा देवकोटा समान ।४।
 
को बिर्सेला मदन र मुना छन् अझै हेलिएका
ल्हासा बर्मा अरबतिरका घाममा पेलिएका
देख्छन् द्रष्टा कवि हृदयले घानकामाथि घान
कोही छैनन् सृजनपथमा देवकोटा समान । ५।
 
जोडी धेरै विषय घटना भित्रका बिन्दु बिन्दु
एक्लै हाँक्ने अमर रचना काव्य साहित्य सिन्धु
निष्ठाभित्रै अविचल हुने बिर्सिँदै खानपान
कोही छैनन् सृजनपथमा देवकोटा समान ।६।
------------------------------------------------------------
लक्ष्मी जयन्ती (२६ कार्तिक,२०८०)