बुधबार, भाद्र ३ गते २०८३

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन, महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने

भाद्र २२, २०७८ मंगलबार
परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन, महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने


नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ । परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो । परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षको रूपमा रहेका छन ।

आज फोरमको औपचारिक गठन गरिएको छ । परिसंघको कार्यालयमा भएको कायक्र्रममा उपाध्यक्ष चौधरीले अर्थतन्त्रको मूलप्रवाहमा महिलाहरूलाई ल्याउने उद्देश्यले यस फोरमको गठन गरिएको बताए । ‘आर्थिक र व्यावसायिक क्षेत्रको नेतृत्व गरिरहनु भएका महिला नेतृहरूको साझा मञ्च बनाउने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘यो अभियान हामी प्रदेश तहहरूमा विस्तार गर्नेछौँ ।’

कार्यक्रममा परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले साना व्यवसाय गर्ने महिलाहरूमा वित्तीय पहुँच समस्याका विषय रहेको भन्दै त्यसलाई न्यूनीकरण गर्न फोरम सक्रिय हुनुपर्ने उल्लेख गरे । ग्रामीण क्षेत्रमा व्यवसायमा जोडिन चाहने महिलालाई स्रोतका अभाव रहेको भन्दै उनले वित्तीय स्रोत प्राप्त गर्ने तरिका बारे शिक्षित गर्नुपर्ने बताए । ‘सीपमूलक तालिम लिएर पनि महिलाहरू उद्यममा जोडिन सक्नु भएको छैन,’ उनले भने, ‘त्यो अवस्था अन्त्य हुनुपर्छ ।’

यसैगरी फोरमकी संयोजक शर्माले महिलाहरूमा वित्तीय पहुँच अभिवृद्धिका लागि काम गर्ने उल्लेख गरे । निजी क्षेत्रको प्रभावशाली छाता संगनठनको रूपमा परिसंघले महिला उद्यमीको क्षमता विकासमा परिसंघले काम गर्ने उनले बताईन् ।

सरकारले महिला उद्यमीलाई दिएका सुविधाबारे लक्षित समूहलाई जानकारी गराउने र उनीहरूलाई साक्षर बनाइ लाभ प्राप्त गर्न सक्ने गरी क्षमता अभविृद्धि गर्ने उद्देश्य फोरमको छ । यसैगरी आर्थिकरूपमा महिला सशक्तिकरणका लागि सीप विकास, नीतिगत सहजीकरण एवं छलफल र उत्पादनको बजारीकरण गर्ने उद्देश्य पनि फोरमको छ ।

कार्यक्रममा बैंक तथा वित्तीय संस्थालाई महिला उद्यमीका लागि सहजरूपमा कर्जा उपलब्ध गराउन पहल गरिनुपर्ने, वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमबाट महिलाहरूको वित्तीय पहुँच अभिवृद्धिका लागि काम गरिनुपर्ने र उद्यमीहरूबीच सम्बन्ध एवं सञ्जाल विस्तार गरिनुपर्ने विषयमा पनि छलफल भएको थियो ।