आज महान अक्टोबर समाजबादी क्रान्ति भएको १०६ बर्ष पुगेको छ । यस दिन बिश्व भरीका श्रमजीवि जनताले लेनिनको नेतृत्वमा भएको सफल अक्टोबर क्रान्तिको स्मरण गर्ने गर्दछन् र त्यसबाट सही शिक्षा लिएर बर्गीय शोषण र सामाजिक उत्पीडनबाट आफ्नो मुक्तिको संघर्षलाई जीवन्त राख्न र समाजलाई रुपान्तरण गर्न प्रण गर्ने गर्दछन् । मार्क्सबादका क्रान्तिकारी प्रयोक्ता, प्रबक्ता र सम्बृद्धकर्ता लेनिन र उनले सफल पारेको त्यो सफल र महान क्रान्तिको समीक्षा गर्ने, त्यसका बिश्वब्यापी प्रभावहरुलाई केलाउने र त्यो क्रान्तिको क्रान्तिकारी दिशा र गतिका कमजोरीहरुलाई ठीकसँग पहिल्याएर अघि बढ्न शिक्षा लिने दिनको रुपमा आजको दिनलाई लिन सकिन्छ । यसो गर्नु आज बिश्व बिश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरुको पहिलो र एक मात्र कर्त्तब्य नै हो । यसो नगरीकन सारभूत अर्थ-सामाजिक रुपान्तरणको क्रान्तिकारी बिषय बस्तु, त्यसको प्राप्तिको सारभूत कार्य र त्यसका प्रकृयागत बिषयहरुलाई पहिल्याउन र सही दिशामा, सही किसिमले अघि बढ्न सकिदैन । यो बस्तुगत द्वन्द्वबादी नियमकै सामान्य कार्य दिशा हो र हुुनु पर्दछ ।
सर्बप्रथमतः यो कुरा बुझ्नु र आत्मसात गर्नु आवश्यक छ कि बैज्ञानिक समाजवाद सापेक्ष रुपमा उच्च स्तरीय उत्पादनमा आधारित हुन्छ । समाजबादको निम्नतम अबस्था पूँजीवादको उच्चतम अबस्था हुन्छ र हुनु पर्दछ । यस कुराले कम्युनिष्टहरुले समाज बिकासको कुन चरणबाट गुज्रिरहेको छ त्यसको बस्तुगत र ठोस आधारमा रहेर अध्ययन अनुसन्धान गरी निष्कर्श निकाल्नु पर्ने हुन्छ । यदि आजका बिश्वका सम्पूर्ण समस्याहरु श्रोत साधनहरुको असमान बितरणका कारण हो भने यसको केवल एउटा मात्र सही समाधान यही हुन्छ कि आवश्यकताभन्दा बढी उत्पादन गरौं त्यसलाई लोकतान्त्रिक किसिमले बितरण गरौ जसले गर्दा मानिसहरुका बीच एक अर्कोलाई उत्पीडन गर्ने कुनै कारणनै रहन पाउदैन । मार्क्स, एंगेल्स, लेनिन र माओका लेख रचनाहरुमा यो कुरा कही पनि पाइदैन कि उनीहरुले एक देशमा मात्र समाजवादको उदय हुनसक्ने बिशद र ब्यापक बिचार प्रस्तुत गरेका थिए । लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी जुन बिन्दूमा हुन्छ त्यहाँ क्रान्ति सम्भव छ भनेर क्रान्तिको थप ब्याख्या गर्दै यूरोपका अरु देशभन्दा पिछडिएको रुसमा किन क्रान्ति सम्भव भएको छ भन्ने कुरा औल्याउनकासाथै औद्योगिक क्रान्ति नभएको कृषि बाहुल्य समाजमा क्रान्तिकारी प्रकृया बेग्लै किसिमले अघि बढ्छ र बढ्नु पर्दछ भन्ने संकेत गरेका थिए । त्यही कुरालाई सही रुपमा पक्रिएर माओले चीनमा नयाँ जनवादी क्रान्तिको सफल नेतृत्व गरेका हुन् र किसान बहुल समाजमा क्रान्तिको प्रकृया छुट्टै हुने मार्क्सवादी नियमको अबलम्बन गरेका हुन् । ती सबै क्रान्तिकारी सर्बहारा बर्गको मुक्ति र समुन्नतिको मार्गदर्शक नेताहरुलाइ के कुरा एकदमै प्रष्ट थियो भने मार्क्सवाद सदैब नै एउटा अन्तर्राष्ट्रिय बिचारधारा भएकोले पनि यसको कुनै राष्ट्रिय सीमा नै हुदैन र यो त्यसरी रहन सक्तैन । यो एकदमै प्रष्ट कुरा हो, थियो र रहिरहेको छ ।
श्रमिक बर्गका लागि गएको शताब्दीमा समाजवादी रुपान्तरण गर्ने कतिपय अवसरहरु आए र उनीहरु कतिपय देशहरुमा यसका लागि प्रयास पनि गरे । तथापि केवल एक पटक र त्यो पनि छोटो अबधि अर्थात अरु ब्यवस्थाको तुलनामा क्षणिकरुपमा मात्र त्यो सफल भयो । त्यो हो - १९१७ को रुसी क्रान्ति । एउटा पिछडिएको देशमा जन्मिएको क्रान्ति एक हजार बर्षदेखि चल्दै आएको जारको तानाशाहीलाई उखेलेर फाल्न सफल रहृयो र श्रमिक बर्गले सम्पूर्ण समाजलाई चलाउने अभ्यास शुरु गरिदियो । तथापि लेनिनको मनशाय कहिले पनि एक देशमा समाजवादको रहेन । यो असंभव छ, किनभने समाजवादले सामाजिक आवश्यकताहरुलाई पूरा गर्नका लागि उत्पादनको ठूला परिमाण(मास प्रोडक्सन)को आवश्यकता हुन्छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा श्रोत साधनहरुलाई एकत्र गरिनु आवश्यक हुन्छ । अनि निश्चय नै, पूँजीवादलाई सजिलैसित एउटा एक्लो देशबाट हराउन पनि सकिदैन । क्रान्तिलाई अन्य देशहरुमा र तदन्तर सम्पूर्ण बिश्वमा फैलाउन सकिन्छ ।
हुन पनि एक्लोपना, पछौटेपना तथा गृह युद्धको परिणामस्वरुप तथा बिदेशी हस्तक्षेपका २१ देशका सेनाहरुको हमलाका कारण रुसी क्रान्ति फाँसीको फन्दामा परेर झुण्डियो । यूरोपका आर्थिकरुपले बढी बिकसित देशहरुका क्रान्तिहरुको सहयोग बिना रुसमा समाजवाद सम्भव हुन सक्तैनथ्यो । यदि बाँकी यूरोपमा क्रान्ति सफल हुन्थ्यो भने त सबैले मिलेर प्राबिधिक, प्राकृतिक संसाधनहरु तथा जनसंख्यालाई सबैका लागि पर्याप्त उत्पादनका लागि एउटै ठाउँमा एकत्र गर्न सकिने थियो र क्रान्तिलाई बाँकी बिश्वमा फैलाउनका लागि पनि धेरै अनुकूल वाताबरण बनाउन सकिने हुन्थ्यो । यसको साटो एक्लो क्रान्ति पछिल्लो कालमा क्षरण भएर सर्बहारा बर्गको सही अधिनाकयत्वको सट्टा एक किसिमको नोकरशाही तानाशाहीमा परिणत हुन पुग्यो । यसले समाजवादका लागिको संघर्ष वास्तवमा अन्तर्राष्ट्रिय संघर्षको एउटा माध्यमकोरुपमा आफुलाई बिकसित र खडा गर्न सकेन जुन गरिनै पर्ने अनिवार्य कार्य थियो । आज अनेक किसिमका जुन समस्याहरु अर्थात क्षेत्रीय संघर्षहरु, आतंकबादका नयाँ नयाँ अवतारहरु, जातिय धार्मिक युद्ध र मारकाटहरु सतहमा देखिएका छन् र बिश्व अल्मलिएको अबस्थामा छ त्यसको निराकरण सही बैज्ञानिक सर्बहारा बिश्व क्रान्ति मात्रै हो । अक्टोबर क्रान्ति पछिको युग सर्बहारा क्रान्तिकै युग हो । यसबाट दायाँ बायाँ भड्किएर बास्तबमा यो क्रान्तिको कार्यभार कीमार्थ पूरा हुन सक्दैन । महान समाजबादी अक्टोर क्रान्ति र लेनिनले दिएको क्रान्तिकारी शिक्षाको सारतत्व नै यही हो । अमर छन् महान लेनिन र अमर छ महान अक्टाेबर क्रान्तिकाे धेय ।