शुक्रबार, कार्तिक ७ गते २०८३

पेलेस्टिनहरुले राज्यबिहीनता र बर्बरताबाट मुक्ति र न्याय कसरी  पाउलान् ?


कार्तिक १७, २०८० शुक्रबार
पेलेस्टिनहरुले राज्यबिहीनता र बर्बरताबाट मुक्ति र न्याय कसरी  पाउलान् ?
आज पेलेस्टिनी जनतामाथि थोपरिएको युद्धको  समस्या र उनीहरुमाथि परेको अन्याय अझ गम्भीर हुँदै जाँदैछ भने यसको मूल कारण अमेरिका लगायत पश्चिमा देशहरुको इजरायलको अन्ध समर्थन हो भन्ने कुरा पनि धेरैले राम्रैसँग बुझेका छन् । ती पश्चिमा देशहरु समस्याका जडमा पुग्न चाँहदैनन् । उनीहरु समस्याको मूलमा यहूदी बिस्तारबाद र पेलेस्टिनीरुमाथिको निर्मम दमन रहेको कुरा स्वीकार गर्न चाहँदैनन् । त्यसैले आज पश्चिम एशियाको यो संकटको सही समाधानार्थ शान्ति र न्यायको निम्ति ब्यापक शान्तिपूर्ण संयुक्त आन्दोलन बिश्वब्यापी आवश्यकता बन्न गएको छ । यो कुरा आज बिश्वका बहुसंख्यक  देशहरुले स्वीकार गरिसकेका छन् र कुरा उठाइरहेका पनि छन् ।
गएको ७ अक्टोबर २०२३ का दिन पेलेस्टिनको एउटा बिद्रोही समूह हमासले इजरायलका केही ठेगानामा गरेको हमला र २०० यहूदीहरुलाई बन्धक बनएको निहुँमा इजरायल पेलिस्टिनहरुमाथि यतिबेला निर्मम र क्रूर हमला गरिरहेको छ । यो हमलामा निर्दोष मानिसहरु मात्रै ८००० हजारभन्दा बढी मारिइसकेकेका छन् र यो क्रम बढ्दै गइरहेको छ । निर्दोष र निहत्था मानिसहरु त्यसमा पनि बाल बालिका, बिद्यालय र अस्पतालहरुमा समेत क्रूरतम किसिमले बम बर्षाएर आम नरहत्या मच्चाउने घोर जंगली गतिबिधिको बयान गरिसाध्ये छैन । यस हमलामा अमेरिका, बृटेन र फ्रान्स  समेत कयौं प्रमुख पश्चिमा देशहरुले इजरायलसँग ऐक्यबद्धता जनाएका छन् भने हमलाको केही घण्टा पछि नै भारतले पनि त्यसको समर्थन गरिदिएको छ । त्यसले गर्दा भारतमा पनि आज मोदी शासन सत्ताको बिरोध किन भइरहेको छ भने आफ्नै देशको मणिपुर प्रदेशको घटनाका बारेमा मुख खोल्न कयौं महिना लाग्यो र त्यो पनि घुमाई फिराईकन मात्र बोलिएको थियो तर इजरायलसँग हमदर्दी दर्शाउन भने मोदीलिे कत्ति पनि बिलम्ब गर्न चाहेनन् भन्ने आलोचना भइरहेको छ । इजरायल–प्यालेस्टिनी कतिपय घटनावलीहरुमा केवल हमाशलाई कठघरामा खडा गर्नेहरु पनि छन् र आजको स्थिति निम्त्यउनमा  भूमिका खेल्नेमा हमासलाई जिम्मेवार ठहराउने भरमग्दुर कोशिश गरिहेका छन्  र युद्धको स्थिति त्यसैले निम्त्याएको कुरा पनि उठाइरहेका छन् । तर आज अमेरिका र बेलायत समेत बिश्व भरी नै इजरायली हमलाको बिरुद्धमा दिनदिनै जसो ठूल्ठूला  बिरोध कार्यक्रमहरु भइरहेका छन् । यद्यपि ती बिरोध प्रदर्शनहरुको बहुत कम चर्चा भइरहेको छ । अनि कतिपय यहुदीहरुले समेत इजरायली हमलाकारी नीतिको कडा आलोचना गरेका छन् ।
भारतका महात्मा गान्धिले एक पटक  लेखेका थिए पेलेस्टिन त्यसरी नै अरबीहरुको हो जसरी इंगल्याण्ड अग्रेजहरुको हो फ्रन्स फ्रान्सेलीहरुको हो । उनले के पनि लेखेका थिए भने ईसाईहरुको हातबाट यहूदीहरुले प्रताडन भोगेका छन् । तर यसको अर्थ के होइन भने त्यसको मुआबजाका लागि पेलेस्टिनीहरुबाट आज उनको मातृभूमि खोसिनु पर्दछ । यहूदीहरु यूरोपमा ब्याप्त यहूदी–बिरोधबाको शिकार भइरहेका छन् । यहूदीहरुकाप्रति ईशाईहरुको बैरभावका अनेक कारण रहेका छन् । ती मध्ये एउटा कारण के रहेको मानिन्छ भने ईसा मसीहलाई शूलीमा चढाउनका लागि यहूदी जिम्मेवार थिए । अगाडि गएर ब्यापारिक होडका कारण त्यो बैरभाव झन बढ्यो । यहूदी बिरोधबादका सबैभन्दा क्रूर र हि«ंसक पक्षधर  थिए जर्मनीकिा तानाशाह एडोल्फ हिटलर जसले लाखौं यहूदीहरुलाई मृत्युको शिकार बनाए । ग्यास च्याम्बरमा मात्रै उनले ६० लाख यहूदीहरुलाई मारेको कुरा इतिहासमा अंकित छ । उनले यहूदीहरुलाई अनेक किसिमले प्रताडित गरेका अमानबीय र क्रूर कथाहरु पनि  छन् ।
यसरी यूरोपमा यहूदीहरुले कयौं किसिमका भेदभावहरुको सामना गर्नु परेको थियो । त्यसैको परिणामस्वरुप जियोनिज्म अर्थात् यहूदीबादको जन्म भएको मानिन्छ । थियोडोर हर्टस्जलले ‘द जुइस स्टेट’ नमको एउटा पुस्तकै लेखेका छन् । यस मुद्दाम स्वीट्जरल्याण्डको बाल शहरमा केही यहूदीहरुको एउटा बैठक पनि बस्यो । ‘ओल्ड टेस्टामेण्ट’को हवाला दिएर उनीहरुले घोषणा पनि गरे कि ‘पेलेस्टिनीहरुको भूमि यहूदीहरुको हो’ । उनीहरुको नारै थियो कि ‘भूमिहीन मानब(यहूदीहरु)का लागि मानबरहीत भूमि(पेलेस्टिाइन)’ । स्पष्ट छ कि यो नारा त्यस भूमिमा १००० बर्षदेखि बसोबास गर्दै आएका पेलेस्टिनीहरुसँग  मनपरी गर्ने आह्वान थियो । अनि ती पेलेस्टिनीहरु केवल मुस्लिम मात्रै थिएनन् । ती मध्ये ८६ प्रतिशत मुस्लिम, १० प्रतिशत ईसाई र ४ प्रतिशत यहूदीहरु पनि थिए । तर यत निकै पछि आएर एक ‘जूइश नेशनल फण्ड’ स्थापना गरियो र बिश्वभरीका यहूदीहरु आएर त्यहा जमिन किन्न थाले ।
शुरु शुरुमा अधिकांश यहूदीहरु पनि यहूदीबादका बिरुद्ध थिए । जुन यहूदीहरु पेलेस्टाइनमा बसे उनीहरुलाई भनिएको थियो कि उनीहरुले ‘आफ्नो जमिन न त कुनै अरबीलाई भाडामा दिने छन् न कुनै अरबीलाई बेच्ने छन् । तिनको उदेश्य स्पष्ट थियो कि बिस्तारै बिस्तारै पेलेटाइनमाथि कब्जा जमाउदै जाउ’ । यहूदीहरुको संख्या बढ्दै गयो । अनि पुनः एउटा अन्तराष्ट्रिय सम्झौता अन्तरगत पेलेस्टिाइनको शासन इंगल्याण्डको हातमा पुग्यो र त्यहाँको आन्तरिक समस्या झन बढ्न थाल्यो । १९१७ मा इंगल्याण्डले ‘बेलफोर घोषणापत्र’ जरी गरेर ‘पेलेस्टाइनामा यहूदी नागरिकहरुका लगि ‘गृह राष्ट्रको स्थापना’को समर्थन ग¥यो । यस प्रकार पेलेस्टिन समस्याको जड बृटिश उपनिवेशबाद बन्यो । महान यहूदी लेखक मानिएका आर्थर केस्लेरले बेलफोर घोषणापत्रका बारेमा लेखे ः ‘यसभन्दा बिचित्रको दस्ताबेज बिश्वमा पहिला कहिल्यै देखिएको थिएन’ । अमेरिकी–इजरायली इतिहासबेत्ता मार्टिन क्रेमरका अनुसर ‘यो दस्तावेज संकीर्ण र अनेक किसिमका प्रतिबन्ध र रोकटोकमा आधारित राजनीतिक यहूदीबादतर्फको पहिला कदम थियो’ । अरबी मानिसहरले १९३६ पछि यस राजनैतिक घूसपेठको प्रतिरोध गर्न त शुरु गरे । तर त्यसलाई बृटेनले नराम्रोसँग कुल्चियो’ ।
हिटलरद्वारा यहूदीहरुको प्रताडनाका कारण द्वितीय  बिश्व युद्ध समाप्ति पछि यहूदी ठूलो संख्यामा त्यहाँ बस्न थाले । चाखलाग्दो के छ भने यूरोपेली देशहरु र अमेरिकाले यहूदीहरुलाई उनीहरुका देशमा बस्नका लागि कहिल्यै कुनै प्रोत्साहन गरेनन् र ठाउ दिएनन् । केही समय पछि पेलेस्टिाइनलाई दुइ भागमा बाँडियो – पेलेस्टिाइना र इजरायल । अनि के तय भयो भने जेरुशलेम र बेथलेहमलई अन्तर्राष्ट्रिय नियन्त्रणमा राखिने छ । जमिनको यो बिभाजन अरबीहरुको हित बिपरीत थियो । झण्डै ३० प्रतिशत यहूदी जो सात प्रतिशत जमिनमा रहिरहेका थिए तिनलाई ५५ प्रतिशत जमिन दिइयो । पेलेस्टिनहरुलाई केवल ४५ प्रतिशत जमिन दिइयो । त्यसैले उनीहरुले यो निर्णयलाई ‘अल–नकबा’ अर्थात ‘बर्बादी’को संज्ञा दिएका थिए । 
इजरायललाई अमेरिका र बृटेनको पूरा समर्थन प्राप्त भयो । युद्धको माध्यमबट इजरायलले बिस्तारै बिस्तारै आफ्नो कब्जाको जमिन बिस्तार गर्न थाल्यो र आजको स्थिति के छ भने उसले मूल पेलेस्टिनहरुको ८० प्रतिशतभन्दा बढी जमिन कब्जामा लिइसकेको छ । पेलेस्टिनहरु आफ्नै जमिनमा शरणार्थी बन्न गएका छन् र आज १५ लाख पेलेस्टिनीहरु  सुबिधाबिहीन शिबिरहरुमा रहन बाध्य छन् । आरम्भिक बिस्थापनमध्ये एकमा १४ लाख पेलेस्टिनहरुले आफ्नो घरबार छोड्नु परेको थियो । तिनै बिस्थापितहरुमध्येबाट प्रतिरोधकी एक जना नायिका लैला खालिद उदाएकी थिइन् । उनी ‘पोपुलर फ्रण्ट फर द लिबरेशन अफ पेलेस्टिाइन’ की सदस्य थिइन् । त्यस प्रतिरोधका अर्का एक ठूला नायक थिए याशेर अराफत जसले बीचको बाटो चुने र पेलेस्टिाइनलाई बिश्व मुद्दा बनाए । यो समस्या समाधानका कयौं प्रयासहरु असफल हुन पुगे जसमा ‘ओस्लो सम्झौता’ पनि सामेल छ । जमिनलाई बिभाजन गरेर त्यहाँ दुइ देश – पेलेस्टिाइन र इजरायल स्थापना गर्ने प्रस्ताब इजरायललाई मान्य छैन ।अझ भन्ने हो भने इजरायले त पेलेस्टिनलाई मान्यता नै दिन चाँहदैन । इजरायलकी एक पूर्ब प्रधानमन्त्री गोल्डा मेयरले प्रष्ट  भनेकै थिइन् कि ‘पेलेस्टाइन जस्तो कुनै चीज नै छैन’ । बास्तवमा अहिलेसम्म इजरायलको मूल नीति त्यही नै देखिन्छ । 
इजरायल निरन्तर पेलेस्टिनहरुको भूमि कब्जा बढाउदै गइरहेको छ र यस बारेमा संयुक्त राष्ट्र संघमा कयौं प्रस्तवहरु पनि पारित भएका छन् तर इजरायलले ती प्रस्तावहरु बेवास्ता गरेर धोती लाइदिएको छ । अमेरिकाले इजरायलको यहूदीबादी नीतिको खुलेर समर्थन गर्दै आइरहेको छ । इजरायललाई पेलेस्टिनहरुसँग लड्नका लागि हातहतियार बम बारुद दिइरहेको छ । अनि त्यसको साटोमा इजरायलले पश्चिम एशियामा कच्चा तेलका संसाधनहरुमाथि कब्जा जमाउन अमेरिकालाई सहयोग गरिरहेको छ । 
वास्तवमा बिश्वमा शायदै कुनै मानब समुदाय यत्तिका प्रताडित भएको होला जत्ति पेलेस्टिनहरु प्रताडनाको सामना गरिरहेका छन् । उनीहरु आफ्नै भूमिमा कुल्चिएका र दबाइएका छन् । पेलेस्टिनीहरु लामो समयदेखि बृटिश उपनिवेशबद र अमेरिकी साम्राज्यबादका शिकार भइरहेका छन् । बितेका कयौं दशक यता संयुक्त राष्ट्र संघलाई धेरै कमजोर तुल्याइएको देखिन्छ । यस्तो स्थितिमा ती प्रताडित मानिसहरुलाई कसले न्याय दिने ? एउटा दुःखद कुरा भन्नै पर्ने हुन्छ कि जसरी हिटलरले यहूदीहिरुलाई दुःख दिएको र प्रताडित गरेको थियो आज तिनै यहूदीहरुले पेलेस्टिनहरुलाई अझ चर्को किसिमले प्रताडित गरिहेका छन् । त्यसैले बिश्वका सबै जनगण नजागीकन र बिश्वब्यापीरुपमा संघर्षशील नबनीकन यो समस्या हलहुने कुनै छाँटकाट छैन । पेलेस्टिनहरुले निरन्तरको बर्बताको श्रृंखलाबाट मुक्ति र न्याय पाएनन् भने न्याय मर्छ र त्यसले बिश्वका राष्ट्र समुदायको स्वाधीनता र स्वतन्त्रता पनि खतरामा पर्दछ भन्ने बुझ्न बिलम्ब गर्नु हुँदैन ।