बिश्वमा स्वयंलाई सभ्य र सर्बश्रेष्ठ मान्ने गरेको अमेरिकामा केही बर्ष यतादेखि बढिरहेको असहिष्णुता, ह्रिंसक मनोबृत्ति र सजिलैसँग हात हतियारको उपलब्धताको परिणाम पटक पटक दोहोरिने हत्याका दुःखद घटनाहरु घटिरहनु निकै नै चिन्ताजनक कुरा भएको छ । पछिल्लो पटक अमेरिकामा एकजना हत्यारधारीले जथाभावी गोली चलाएर २१ जना निर्दोष मानिसहरुको ज्यान लिनु र कयौंलाई गम्भीररुपमा घाइते तुल्यउनु कम खतरनाक कुरा होइन । उसले तीन स्थानमा त्यसरी गोली बर्षाउने काम गरेपछि पनि त्यो हत्यारा घटना स्थलबाट भाग्न सफल भएको देखियो । पछि उसले आत्महत्या गरेको र उसको शब घरबाटै प्राप्त भएको खबर पनि आयो । यसमा अर्को अझ आश्चर्यलाग्दो कुरा के छ भने बिश्वको सबैभन्दा चुस्त दुरुस्त र सक्षम भनिने गरेको अमेरिकी पुलिस एउटा हत्यारालाई पक्रिन नसकेर यस्तो लाचार जस्तो देखियो कि त्यसका लागि उसले आम जन साधारणलाई अपिल नै गर्नुपर्ने स्थितिमा पुग्यो । वास्तवमा हिंसाको बोली बोल्ने, हिंसाको जमिनलाई मलजल गर्ने र बिश्वमा हतियारको आँधीबेरी ल्याउने अमेरिका अब स्वयं हिंसाको शिकार हुन थालेको छ । अमेरिकाको आधुनिक सभ्यताको सबैभन्दा मुस्किल कुरा यही हुन थालेको छ कि त्यहाँ हिंसा यत्तिको सहज बनेको छ कि हरेक प्रश्नको जवाफ त्यहाँ हिंसाको भाषामा नै दिन थालिएको छ । अमेरिकामा हिंसाको यत्तिका सहज भएको देखिन्छ कि प्राय हरेक कुराको जबाफ त्यहाँ केवल हिंसाकै भाषामा दिन थालिएको छ । त्यहाँ हिंसाको परिबेश यत्तिका सबल भएको बताइदैछ कि बन्दूक सँस्कृतिले त्यहाँका मानिसहरु आआफ्ना घर घरमै असुरक्षित हुन थालेका छन् । बिश्लेषकहरु भनिरहेका छन् अमेरिकाले आफ्नो नराम्रोसँँग बिग्रँदो छबिप्रति गम्भीर र सजग बन्नु पर्दछ । किनभने यो अमेरिकामाथिको एउटा बद्नामपूर्ण दाग हो जसले उसको अन्तर्राष्ट्रिय छबिलाई पनि आघात पारिरहेको छ र थप पार्न सक्छ ।
अहिलेको पछिल्लो नबीनतम हत्याकाण्डको घटना गएको २५ अक्टोबरका दिन अबेर राती ‘एण्डोस्क्रोगिन काउण्टी’ अन्तरगत पर्ने लेबिस्टानमा भएको थियो । यस गम्भीर घटनाको सबैभन्दा खराब पक्ष के औंल्याइदैछ भने धेरै मानिसहरु भागाभाग गर्दा घाइते हुन पुगे भने अनेक मानिसहरु हत्याराको गोली खाएर इहलिलाा समाप्त पार्न पुगे । त्यस नरसंहारको कथित आरोपी ४० बर्षको रबर्ट कार्डलाई पुलिसले हतियारबन्द र खतरनाक ब्यक्ति मानेको छ । तर प्रश्न के खडा भएको छ भने के त्यो यूवा रातारात हत्यारो र हि«ंसक बनेको ? त्यो हत्यारो रबर्ट कार्ड अमेरिकी सेनासँग सम्बन्धित रहेको र आग्नेयास्त्र प्रशिक्षक पनि हो । मानसिक अस्वस्थता तथा मनोबिकारले ग्रस्त त्यस हत्याराका बिरुद्ध अनेक आरोपहरु पहिला पनि लाग्दै आएका थिए भनिन्छ । त्यसैले के प्रश्न पनि उठेको छ भने त्यसलाई किन गम्भीरतापूर्बक लिइएन ? अमेरिकामा यताका दिनहरुमा यस्ता बन्दूके हिंसा र हत्याका खबर निरन्तर आउन थालेका हुन् र कुनै दिमाग खुस्केका मानिसले कहिले बिद्यालयहरुमा त कहिले बजारका बीचमा त कहिले नाच बारहरुमा अन्धाधुन्ध गोली चलाएर निर्दोष र निहत्था मानिसहरुको जीवनको होली खेल्ने गरेको हो । अब त अमेरिकी बाल बच्चाहरुको हातमा पनि बन्दूक हुने गरेको छ । यसको पछाडिको एउटा ठूलो कारण त्यहाँ सर्ब साधारण मानिसका लागि समेत बिभिन्न किसिमका बन्दूकहरु सहजै किसिमले प्राप्त छन् । अमेरिकाको यस्तो हतियारको होड र बिकसित तथा बढ्दो प्रबिधिको दौडको कारणले पूरै मानब जातिलाई यस्तो कुनामा धकेलिदिएको छ जहाँबाट फर्किएर मानिस सामान्य अबस्थामा आउन निकै मुस्किल भइसकेको बताइन्छ ।
अमेरिकाको एफबीआईको बार्षिक अपराध प्रतिबेदनले बताएको छ कि ‘बन्दूक सँस्कृति’ तथा यससँग जोडिएका हिंसाका घटनाहरु ब्यापकरुपमा बढेका छन् । गएको बर्षको मात्र कुरा गर्ने हो भने पनि अमेरिकामा लगभग पाँच लाख हि«ंसक अपराधहरुमध्ये धेरैमा बन्दूकको प्रयोग गरिएको तथ्यांक छ ।त्यसभन्दा अघि २०२० मा बन्दूक सँस्कृति अमेरिकी बालबच्चाहरुको मृत्युको मूख्य कारण बनेको थियो भने २०२२ मा यो अबस्था अझ नराम्रोसँँग बिग्रिएको देखिन्छ । यसरी ज्यान गुमाउने बाल बच्चाको संख्यामा १२ प्रतिशतले बृद्धि भएको बताइएको छ । यस्तो अमानबीय र बन्दूके अबस्थाले अमेरिका के कसरी बिश्वको आदर्श बन्न सुहाउँदछ र ? जबकि बिश्वले अमेरिकी उन्नत सँस्कृतिको अनुसरण गर्ने गर्दछ भनिन्छ । अनि त्यही अमेरिकाले बिश्वकाा प्राय सम्पूर्ण देशहरुको सामाजिक तथा मानबाधिकारको स्थितिको प्रतिबेदन जारी गर्ने गर्दछ ।
अमेरिकाले आफ्नो कथनी र करनीको भेद मेटाउने दिशाम अघि बढेमा त उसको साथसाथै बिश्वलाई पनि निकै बढी फाइदा पुग्ने थियो होला । तर राजनीतिक पर्यबेक्षकहरुका अनुसार ‘बन्दूक सँस्कृति’ बढाउनमा त्यहाँको नकारात्मक राजनीतिको ठूलो भूमिका रहेको औंल्याउने गरिन्छ । त्यहाँका आम सर्बसाधारण जनता त हात हतियारमाथि अंकूश लगउने पक्षमा छन् । तर निहीत स्वार्थका कारण अमेरिकामा हतियारलाई बढावा दिन उद्यत त्यहाँको सशक्त हतियार लब्बी र राजनीतिसँग जोडिएका मानिसहरुले हतियारमाथि अंकुश लगाउन दिदैनन् । अहिलेसम्मको अनुभव यही नै हो । त्यसैले गएको ७ जुनका दिन ठूलो संख्यामा अमेरिकी नागरिकहरु सडकमा उत्रिएर बन्दूक किन–बेच सम्बन्धि कानुन बदल्न माग गरे र निकै दबाब दिए । अमेरिकामा आवश्यक कुन कुराको छ भनिदैछ भने यस समस्याबाट पीडित मानिसहरुलाई राहत दिनका साथसाथै बन्दूक किन्नेदेखि लिएर बन्दूक बनाउने र बेच्नेहरुलाई पनि कडा कानुनी दायरामा ल्याउने कानुन बनाइन पर्ने र त्यत्तिकै कडाईकासाथ लागु गर्नुपर्ने अमेरिकी र अन्य बिशेषज्ञहरु औंल्याउँदछन् । कुनै पनि संबेदनशील समाजले यस बन्दूक बर्चश्वको स्थितिलाई गम्भीर समस्याकोरुपमा हेर्नु बुझ्नु पर्ने तथा लिइनु पर्ने सभ्य समाजको कत्र्तब्य हुन्छ भन्ने उनीहरुको प्रष्ट धारणा पाइन्छ ।